Kathmandu Press

बिस्का जात्रा : मातृसत्ताको लासमाथि टेकेर पितृसत्ता उदाएको उत्सव

नेपालको प्रख्यात बिस्का जात्रासँग सम्बन्धित आख्यान पनि आदिमकालको मातृसत्तात्मक समाज व्यवस्थाको अस्तित्वबारे थाहा लिने ठोस आधार हो।
बिस्का जात्रा : मातृसत्ताको लासमाथि टेकेर पितृसत्ता उदाएको उत्सव

भक्तपुरमा मनाइने बिस्का जात्रा सम्बन्धमा एउटा किवंदन्ती छ-

आदिम नेपाल मण्डलमा हरेक रात रानीसँग सुत्नका लागि नयाँ राजाको चयन हुन्थ्यो। प्रत्येकपटक चुनिएका राजा बिहान मृतावस्थामा भेटिन्थे। यसैबीच एउटा यस्ता राजा आइपुगे, जो रानीसँग सुत्दा मर्नुपर्ने कारण पत्ता लगाउन रातभर जागै बसे। आत्मरक्षाका लागि उनले तरबार पनि साथैमा राखेका थिए। 

मध्यरातमा जब रानी गहिरो निद्रामा परिन्, तब उनको नाकका दुवै प्वालबाट दुई अजंगका सर्प निस्किए, जसलाई राजाले देख्नेबित्तिकै काटिदिए। हरेक रात राजा मर्नुको रहस्य खुल्यो। राजाहरूलाई मार्ने सर्प पनि मारिए। 

Hardik ivf

सधैँझैँ बिहान लास उठाउन दरबारमा मानिस आए, यसपालि राजालाई जिउँदै देखेपछि सबै खुसी भए। 

सुन्दै आएको यस किंवदन्तीलाई सायद हामीले सुनाइमै सीमित राख्यौँ। किवंदन्तीमा यस्ता कैयौँ संकेत छन्, जसलाई हामीले बोध गर्नुपर्नेछ। हरेक रात राजा मर्थे, त्यसो भए राज्य कसले चलाइरहेको थियो ? अवश्य पनि रानीले। जसको अर्थ हो, नेपाल मण्डलमा पनि अन्य हिमाली क्षेत्रमा जस्तै मातृसत्ता थियो। अर्को शब्दमा भन्नुपर्दा रानीको अदृश्य वा रहस्यमयी शक्तिकै कारण त्यस समय मातृसत्ताको वर्चस्व थियो, जसलाई राजाले सखाप पारिदिए। 

यससँगै राज्यको बागडोर राजाको हातमा गयो। अर्थात् मातृसत्ता (रानी) बाट पितृसत्ता (राजा)को शासन सुरु भयो। यसरी हेर्दा, बिस्का जात्रा मातृसत्ताको लासमाथि टेकेर पितृसत्ता ल्याइएको जात्रा हो। 

प्रचलित किंवदन्ती तथा जनविश्वासलाई हामी सहजै स्विकार्छौं। यस्ता किंवदन्तीका निर्मम  विश्लेषण भने उत्तिकै आवश्यक छ। मेरो ‘नेपालमा चाडपर्व’ नामक  पुस्तकमा यस विषयमा अझ विस्तृतमा उल्लेख गरेको छु।  

नेपालको प्रख्यात बिस्का जात्रासँग सम्बन्धित आख्यान पनि आदिमकालको मातृसत्तात्मक समाज व्यवस्थाको अस्तित्वबारे थाहा लिने ठोस आधार हो। यस लोकाख्यानको गूढतम अध्ययनबाट नेपाल आदिमकालमा स्त्रीराज्य भएको जानकारी मिल्छ।

शासनको बागडोर स्त्रीको हातमा थियो। त्यस समय, पुरुष वर्गले शासनको बागडोर स्त्रीको हातबाट खोसेर लिन अनेकौँ प्रयास गरे, प्रत्येकपटक तिनीहरू असफल रहे, स्त्री सदा विजयी रहिन्। 

बिस्केत जात्रा सम्बन्धित लोकाख्यानमा महारानीको शरीरबाट निस्केको सर्प (नाग)ले दिनहुँ महारानीसित सुहागरात बिताउन आउने पुरुषलाई मार्ने गरेको तथा महारानीले सदा सुस्थिर रही शासन गर्ने गरेको घटना वर्णित छ।

यसले त्यति बेलाको मातृसत्तातिर संकेत गर्छ। यसरी नेपालमा मातृसत्ताको अन्त्य भई पितृसत्ताको उदय भयो। एक सत्ताको अन्त र अर्को सत्ताको उदय भएको उत्सव हो, बिस्का जात्रा। 

आमाको नामबाट सन्तानको नाम

आदिमकालमा नेपालमण्डलमा नागको शासन भइरहेको समयमा पश्चिममा तक्षशिलादेखि पूर्वमा कम्बोडियासम्म नागजातिको विस्तार थियो। नाग समाज मातृसत्तात्मक थियो भन्ने जानकारी उनीहरूको सन्तानको नामबाट पनि पत्तो हुन्छ। प्रायः सन्तानका पिताको नामको बदला आमाको नामबाट राखिने गरेको थियो।

महर्षि वेदव्यासका पुत्र हुन्, शुकदेव। शुकदेवको नाम पिता व्यासको नामबाट नभई उनकी आमा शुकीबाट राखिएको छ। आमाको नाम शुकी हुँदा पिता व्यास नभई आमाको नामबाट ‘शुकदेव’ राखेको थियो। 

दक्षप्रजापतिकी छोरी तथा महर्षि कश्यपकी पत्नी कद्रुका सन्तान काद्रवेय कहलिए। पौराणिक कथनका अनुसार, एक पटक महर्षि कश्यप कद्रुबाट प्रशन्न भई कद्रुलाई वरदान माग्न भने। तब कद्रुले एक साहसी तेजस्वी नाग पुत्रको माग गरिन्। कश्यपले उनलाई नाग पुत्रको वरदान स्वरूप दिए, जसलाई ‘काद्रवेय’ भनियो।

त्यस्तै, भगवान् विष्णुका वाहन गरुङको अर्को नाम वैनतेय हो। वैनतेयकी आमा हुन्, विनिता। उनकै नामबाट गरुङको नाम वैनतेय राखिएको हो। यसबाहेक विनिताका सन्तान वैनतेय नामले पुकारिए। यी आधारमा आदिमकालमा नाग एवं अन्य जनजाति मातृसत्तात्मक थिए भन्ने कुराको झझल्को मिल्छ। 

(संस्कृतिविद् हरिराम जोशीसँग काठमाडौं प्रेसकर्मी प्रबिता श्रेष्ठले गरेको कुराकानीमा आधारित) 

प्रकाशित मिति: १३:५० बजे, आइतबार, चैत २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्