Kathmandu Press

यी हुन् चिनियाँ राष्ट्रपतिको भ्रमणमा सम्झौता हुने सम्भावित परियोजना

काठमाडौं, असोज २४ : चिनियाँ राष्ट्रपति सी चिङ फिङ शनिबार साँझ काठमाडौं आउँदैछन्। २३ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको भ्रमणमा नेपालले सडक, रेल, ....

यी हुन् चिनियाँ राष्ट्रपतिको भ्रमणमा सम्झौता हुने सम्भावित परियोजना
Hardik ivfHardik ivf

काठमाडौं, असोज २४ : चिनियाँ राष्ट्रपति सी चिङ फिङ शनिबार साँझ काठमाडौं आउँदैछन्। २३ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको भ्रमणमा नेपालले सडक, रेल, प्रशारण लाइन विस्तार र सुरुङ मार्ग निर्माणमा लगानी गर्न आग्रहसहितको प्रस्ताव तयार पारेको छ।

शनिबार राष्ट्रपति सी काठमाडौं आउने कार्यक्रम रहेपनि नेपाल र चीनको दुई पक्षीय वार्ता भने आइतबार बिहान हुनेछ। जसका लागि नेपालले दर्जनभन्दा बढी पूर्वाधार निर्माणका परियोजनासहितको प्रस्ताव तयार पारेको छ।

नेपालले एक दर्जन आयोजना निर्माणको प्रस्ताव तयार पारेको परराष्ट्र मन्त्रालय स्रोतको दाबी छ। नेपालले दुई पक्षीय छलफलमा चीनले अघि सारेको ‘वान वेल्ट वान रोड’ देखि रेलमार्गसम्मका परियोजना अघि सार्ने भएको छ।

चिनियाँ राष्ट्रपति सीको भ्रमणमा चीनले नै अघि सारेको बीआरआई अन्तर्गतका परियोजनामा छलफल गरेर सम्झौता गरिने भएको छ। जसमा नेपालले विगतदेखि नै ९ वटा परियोजनामा लगानी गर्न चीनलाई आग्रह गर्दै आएको छ।

गत बर्ष राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका क्रममा बिआरआई परियोजनामा हस्ताक्षर भएको थियो। सोही परियोजनाहरुलाई निर्माण चरणमा लैजाने गरी राष्ट्रपति सीको भ्रमणमा अघि बढाउने तयारी गरिएको मन्त्रिपरिषद् कार्यालयका एक सचिवले जानकारी दिए।

चिनियाँ राष्ट्रपति सीले अगाडि सारेको बीआरआई परियोजनामा नेपालले हस्ताक्षर गरे पनि कुनै पनि आयोजना ठोस रुपमा अघि बढाउन नसकेको भन्दै चीनले नेपालसँग असन्तुष्टि जनाउँदै आएको छ।  चीनले बीआरआई परियोजना अघि  बढाउन नेपालले नै गम्भिर चासो नदिएको गुनासो गर्दै आएको छ।

बीआरआई परियोजनामा गल्छी–रसुवागढी केरुङ ४०० केभी अन्तरदेशीय प्रसारण लाइन, ७६२ मेगावाट क्षमताको जलाशययुक्त तमोर जलविद्युत आयोजना, ४६२ मेगावाटको अर्धजलाशाययुक्त फुकोट–कर्णाली जलविद्युत आयोजना, केरुङ–काठमाडौं रेलमार्ग र मदनभण्डारी टेक्निकल इन्स्टिच्युट लगायतका आयोजनाका विषयमा नेपालले अघि सारेको छ।

त्यसैगरी, रसुवागढी–काठमाडौं सडक स्तरोन्नती, किमाथाङका हिले सडक निर्माण, दीपायलदेखि चिनियाँ सीमावर्ती क्षेत्रसम्म सडक निर्माण, टोखा–विदुर सडक आदी रहेका छन्।

नेपालले ३६ वटा आयोजनालाई बीआरआईमा समावेश गर्न यसअघि अनुरोध गरेपछि चीनले ती आयोजनाबाट छनोट गरेर एकल अंकका आयोजना मात्रै पहिलो चरणमा उपलब्ध गराउन आग्रह गरेको थियो।  सोही आधारमा नेपालले ९ वटा परियोजना छनोट समेत गरिसकेको छ। सोही ९ वटा परियोजना अघि बढाउने गरी राष्ट्रपति सीको भ्रमणमा सम्झौता गर्ने तयारी भएको उच्च स्रोतले जनाएको छ।

बिहीबार पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री एवं आर्थिक र परराष्ट्र मामिलाका जानकारहरुसँग प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित छलफलमा समेत प्रधानमन्त्री केपी शर्मा ओलीले रेल, सडक र सुरुङ मार्ग नै नेपालको प्राथमिकता रहेको बताएका थिए।

बिआरआई परियोजनाबाहेक किमाथाङ्का र कोरला नाकाको स्तरोन्नतीसहित  सञ्चालन, टोखा–छहरे सुरुङ निर्माण, अरनिको मार्ग स्तरोन्नतीका विषयमा विस्तृत सम्झौता गर्ने तयारी गरिएको छ।

राष्ट्रपति सीको भ्रमणमा प्रधानमन्त्री ओलीको मुख्य चासो रहेको काठमाडौं–केरुङ रेलमार्गबारे नयाँ घोषणा हुने भएको छ।  सम्भवतः चिनियाँ लगानीमा रेलमार्गको सम्भाव्यता अध्ययन (डिपिआर) को घोषणा गर्ने तयारी छ। यो रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन पनि चीनले नै गरेको थियो।

त्यस्तै, सडक सञ्जाल अन्र्तगत अरनिको राजमार्गको स्तरोन्नती र रसुवागढी–छहरे–काठमाडौं टनेल एजेण्डामा छन्। नेपाललाई चीनसँग जोड्ने अरनिको राजमार्ग २०७२ साल बैशाख १२ मा गएको भूकम्पका कारण क्षतिग्रस्त भएको थियो। यसलाई दुई लेनमा स्तरोन्नती गर्ने सहमतिमा हस्ताक्षर गरिने भएको छ।

रसुवागढी–छहरे–काठमाडौं टनेलको भने प्रारम्भिक अध्ययन भइसकेको छ। जसको निर्माणका लागि चिनियाँ कम्पनीहरुले इच्छा देखाएका छन्। यो सडक बनेमा काठमाडौंबाट चिनियाँ सीमा क्षेत्र केरुङ एक घण्टा आसपासको दूरीमा समेटिने छ।

चार लेनको हुने भनिएको रसुवागढी–छहरे–काठमाडौं सडकमार्गको प्रारम्भिक अध्ययन भइसकेको छ।  सुरुङमार्ग र त्यसलाई गल्छी–स्याफ्रुबेंसी सडकमा जोड्ने पहुँच मार्ग बनाउन २६ अर्बभन्दा बढी लाग्ने अनुमान छ।

कोरला नाकामा सुख्खा बन्दगाह बनाउने तयारी भइरहेकाले यो सडकलाई चीनको सहयोगमा कालोपत्रे गर्ने योजना बनेको छ। चिनियाँ नाका किमाथांकासम्म सडकको ट्रयाक खोल्ने काम भइरहेको छ। १४ किलोमिटरको चट्टानयुक्त क्षेत्रमा ट्रयाक खोल्न नेपाली सेनालाई जिम्मा दिइएको छ।  
 

प्रकाशित मिति: १४:४५ बजे, शुक्रबार, असोज २४, २०७६
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्