Kathmandu Press

कास्कीमा गठबन्धनविरुद्ध चुनाव लड्न एमालेलाई कति सहज ? 

अघिल्लोपटक कास्कीमा बलियो पकड राखेको एमाले यतिबेला विभाजित छ। त्यसैले एमालेबाट विभाजित एकीकृत समाजवादीले यसपालि यहाँ आफ्नो भूमिका खोजिरहेको छ, गत निर्वाचनमा एमालेले जितेको कारण देखाउँदै यहाँको महानगर नै उसले ताकेको छ। 
कास्कीमा गठबन्धनविरुद्ध चुनाव लड्न एमालेलाई कति सहज ? 

काठमाडौं, चैत २३ : स्थानीय तहको निर्वाचन आउन ३७ दिन मात्रै बाँकी रहँदा राजनीतिक दलहरू चुनावकेन्द्रित गतिविधि र गठबन्धनको तयारीमा व्यस्त छन्। यसै सन्दर्भमा, एक महानगरपालिका र चार गाउँपालिका रहेको कास्कीलाई गठबन्धनका दृष्टिले विशेष महत्वका साथ हेरिएको छ।

अघिल्लो स्थानीय निर्वाचनमा एमालेले यहाँको एक गाउँपालिकाबाहेक सबै स्थानमा जित हासिल गरेको थियो। उपप्रमुखमा भने सबै स्थानीय तहमा एमालेले बाजी मारेको थियो। एउटा गाउँपालिकाको अध्यक्ष मात्र कांग्रेसले जितेको थियो।

निर्वाचन आयोगका अनुसार, २ लाख ६४ हजार ४५६ मतदाता रहेको कास्कीमा यसपालि २५ दलले भाग लिँदै छन्। सत्तारुढ पाँच दलीय गठबन्धनले स्थानीय तहसम्म तालमेल गरी अगाडि बढ्ने निर्णय गरिसकेको छ। कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धनअगाडि प्रमुख प्रतिपक्षी दल एमाले पनि साना दलहरूसँग तालमेल गर्ने छलफलमा छ। 

Hardik ivf

अघिल्लोपटक कास्कीमा बलियो पकड राखेको एमाले यतिबेला विभाजित छ। त्यसैले एमालेबाट विभाजित एकीकृत समाजवादीले यसपालि यहाँ आफ्नो भूमिका खोजिरहेको छ, गत निर्वाचनमा एमालेले जितेको कारण देखाउँदै यहाँको महानगर नै उसले ताकेको छ। 

यद्यपि एमाले नेताले विभाजनको असर कास्कीमा नपरेको दाबी गर्दै आएका छन्। विभाजनको असर नदेखिएको उदाहरणमा उनीहरुले गण्डकी प्रदेशसभालाई देखाउँछन्। पार्टी विभाजनपछि अन्य प्रदेशमा जस्तो दल त्याग्ने प्रवृत्ति गण्डकीमा देखिएन। 

यसपटकको निर्वाचनमा माधव नेपालको एकीकृत समाजवादी, जसपा र जनमोर्चा समेतको गठबन्धन भएका कारण एमालेलाई चुनौती भने अवश्य रहन्छ। 

गठबन्धनले कुन पालिका कुन पार्टीलाई दिने भन्नेबारे निर्णय गरिसकेको त छैन, त्यसका लागि केन्द्रबाट रामचन्द्र पौडलको संयोजकत्वमा संयन्त्र बनिसकेको छ। देशभरका ६ महानगरको निर्णय भने गठबन्धनको नेतृत्वले गर्नेछ। निर्णय गर्नुअघि दलहरुले यसअघिको मत परिणाम र पार्टीगत पकडलाई अवश्य हेर्नेछन्। कास्कीमा यस्तो छ, २०७४ को मत परिणाम : 

पोखरा लेखनाथ महानगरपालिका 

गत निर्वाचनमा पोखरा लेखनाथ महानगरपालिकाको प्रमुख र उपप्रमुख दुबै एमालेले जितेको थियो। एमालेका मानबहादुर जिसी ६० हजार ११८ मत प्राप्त गर्दै महानगरको मेयर निर्वाचित भएका थिए। माओवादी केन्द्रले समेत समर्थन गरेको कांग्रेसका उम्मेदवार रामजी कुवँरले ४६ हजार ४१६ मत पाएका थिए।

उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमले पोखरा महानगरमा ३ हजार १७० मत प्राप्त गरेको थियो भने राष्ट्रिय जनमोर्चाले २०६ मत पाएको थियो। राप्रपाले २ हजार २७२ मत ल्याएको थियो। 

पोखरा महानगरको उपमेयर जितेको एमालेले ५६ हजार ४४८ मत पायो। कांग्रेसले ४४ हजार ३३८ मत प्राप्त गर्दा माओवादी केन्द्रले ८ हजार ७९६ मत प्राप्त गर्यो। त्यस्तै राप्रपाले २ हजार ८४० र संघीय समाजवादी फोरमले १ हजार ३०३ मत ल्याएको थियो।

अन्नपूर्ण गाउँपालिका

अन्नपूर्ण गाउँपालिकामा एमालेसँग कडा प्रतिस्पर्धाका बीच कांग्रेसका यज्ञराज कुँवर विजयी भएका थिए। अध्यक्ष पदमा कांग्रेस ४ हजार ६७२ मतसहित विजयी हुँदा एमालेका विष्णु बहादुर केसीले ४ हजार ४०८ मत प्राप्त गरेका थिए। त्यस्तै माअ‍ोवादी केन्द्रका धर्मबहादुर गुरुङले ९८३ मत प्राप्त गरेका थिए। 

पालिकाको उपाध्यक्ष भने एमालेले जितेको थियो। एमालेकी सगुन गुरूङ ४ हजार ५८६ मतसहित विजयी हुँदा कांग्रेसकी खिम कुमारी गुरुङले ४ हजार ४६९ मत पाएकी थिइन्। माओवादी केन्द्रकी हरिमाया तिमिल्सिनाले १०५० मत पाएकी थिइन्। 

माछापुच्छ्रे गाउँपालिका

यस गाउँपालिकामा एमालेका कर्णबहादुर गुरुङ ५ हजार ६०७ मतसहित अध्यक्षमा विजयी भएका थिए। कांग्रेसका खुशीमान गुरुङले ४ हजार ६०१ मत प्राप्त गर्दा माओवादी केन्द्रकी प्रविणा अधिकारीले १०२८ मत प्राप्त गरे। 

एमालेबाटै कृष्णकुमारी पौडेल दवाडी ५ हजार ४७९ मत प्राप्त गर्दै उपाध्यक्ष निर्वाचित भइन्। यहाँ कांग्रेसका टेकन शोभा गुरुङले ४ हजार ४७३ मत प्राप्त गर्दा माओवादीका टेकनाथ गौतमले १ हजार २५० मत प्राप्त गरे। अन्य दलका उम्मेदवारले सामान्य मत प्राप्त गरे। 

मादी गाउँपालिका

यस गाउँपालिकामा एमालेका बेदबहादुर गुरुङ ४ हजार ६३७ मतसहित अध्यक्ष निर्वाचित भएका थिए। कांग्रेसका देवीजंग गुरुङले ३ हजार ६५३ मत ल्याउँदा माओवादी केन्द्रकी राधा सापकोटाले ६७६ मत प्राप्त गरेकी थिइन्। 

उपाध्यक्षमा पनि एमालेकै विष्णुमाया आचार्य (पौडेल) ४ हजार ५२३ मत प्राप्त गर्दै निर्वाचित भएकी थिइन्। कांग्रेसकी पर्वाश्री गुरुङले ३ हजार १३१ मत ल्याउँदा माओवादीकी नन्दसिरी गुरुङले १ हजार २०४ मत ल्याएकी थिइन्। 

रूपा गाउँपालिका 

यो गाउँपालिकामा एमालेका उम्मेदवार नवराज ओझा ४ हजार २१२ मत ल्याएर विजयी भएका थिए। कांग्रेसका उम्मेदवार प्रकाशमोहन खनालले ३ हजार ३०५ मत प्राप्त गरेका थिए भने माओवादीकी निर्मला सुवेदीले ३७० मत प्राप्त गरेकी थिइन्। 

उपाध्यक्षमा एमालेबाटै लाल सुबा गुरुङ ३ हजार ९९५ मत प्राप्त गर्दै विजयी भएकी थिइन्। कांग्रेसकी उम्मेदवार गी माया गुरुङले ३ हजार ४५६ मत प्राप्त गरेकी थिइन् भने माअ‍ोवादी केन्द्रका पुष्पराज खनालले ४३० मत पाएका थिए। 

प्रकाशित मिति: १६:१२ बजे, बुधबार, चैत २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्