Kathmandu Press

नेपालको आँखा अस्पताल, जहाँ उपचारका लागि ७० प्रतिशत भारतीय आउँछन् 

सूदूरपश्चिम प्रदेशभित्र गेटा आँखा अस्पतालका १८ वटा शाखा छन्। महेन्द्रनगरमा सेकेन्डरी लेभलको अस्पताल रहेको छ।यस अस्पतालले मोतियाबिन्दुको अपरेसन हातैले र प्रविधिमार्फत गर्ने गर्छ।
नेपालको आँखा अस्पताल, जहाँ उपचारका लागि ७० प्रतिशत भारतीय आउँछन् 

काठमाडौं, चैत १८ : कञ्चनपुर, कृष्णपुर नगरपालिका– ४ की ५५ वर्षीया पवित्रा कुवँरलाई तीन महिनाअघि आँखामा समस्या देखियो। आँखा बेसरी बिझाउने, नजिकैको वस्तु पनि प्रस्ट नदेख्ने र टाढाबाट आउँदै गरेको मानिसलाई दुइटा देख्ने समस्या भएपछि उनी गाउँकै फार्मेसीमा गइन्। उनलाई आँखामा राख्ने झोल औषधि दिइयो। ‘१०–१२ दिनसम्म झोल औषधि आँखामा राखेँ तर समस्या घट्नुको साटो झनै बढ्दै गयो,’ पवित्रा भन्छिन्, ‘त्यसपछि मलाई मेरो छोराले कैलालीमा रहेको गेटा आँखा अस्पताल लिएर गयो।’

त्यहाँ जाँच गरेपछि थाहा भयो, उनलाई मोतियाबिन्दु भएको रहेछ। डाक्टरको सल्लाह अनुसार, मेसिनद्वारा उनको उनको आँखाको शल्यक्रिया गरियो। शल्यक्रिया गरेको एक महिनासम्म धुलो–धँुवामा नहिँड्न र गह्रौँ वस्तु नउचाल्न भनिएको उनी बताउँछिन्। डाक्टरकै सल्लाह अनुसार, केही समय उनले कालो चस्मा पनि लगाइन्। ‘अहिले त मैले पहिलेजस्तै देख्न सक्ने भइसकेँ,’ उनले भनिन्। 

नेपालीभन्दा भारतीय बिरामी बढी

Hardik ivf

यस अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्ट कोभिड संक्रमण अगाडि वार्षिक रूपमा एक लाखसम्म आँखासम्बन्धी बिरामी आउने गरेको बताउँछन्। उनका अनुसार, गत वर्ष अस्पतालमा ८० हजार बिरामी आएका थिए। ‘वार्षिक रूपमा यस अस्पतालमा करिब एक लाख र शाखा अस्पतालमा एक लाख ५० हजार गरी दुई लाख ५० हजार बिरामी आउँछन्,’ व्यवस्थापक भट्ट भन्छन्, ‘बढीजसो मोतियाबिन्दुको अपरेसन गर्नुपर्ने बिरामी हुन्छन्।’

यसबाहेक चस्माको जाँच गर्ने, चस्मा लगाउनुपर्ने, जलबिन्दुका बिरामी, आँखाको नानीसम्बन्धी समस्या भएका बिरामी, दृष्टि पर्दाको समस्या भएका आउने गरेको उनी बताउँछन्। यहाँ दृष्टि पर्दाका विशषेज्ञ चिकित्सक छन्। त्यसैले यो सेवा लिन भारतबाट समेत बिरामी आउँछन्। ‘कोरोनाअघि नेपालीभन्दा भारतीय बिरामी बढी थिए। कोरोनाकालमा भने भारतीय बिरामीको तथ्यांकमा २० प्रतिशत घट्न गएको छ,’ व्यवस्थापक भट्ट भन्छन्, ‘अहिले पनि अपरेसन सेवा लिनेमा ७० प्रतिशत भारतीय हुन्छन्।’ 

उनका अनुसार, भारतको पनि मुख्यतः पिलिभित, उद्यमशीलनगर, नैनिताल, रामपुर, मुरादाबादसम्मका बिरामी आउने गरेका छन्।

अस्पतालको सेवा

व्यवस्थापक भट्टका अनुसार, सन् १९८१ मा नेपालमा अन्धोपनको सर्वेक्षण भएको थियो। सर्वेक्षणले सेती अञ्चलमा सम्पूर्ण जनसंख्याको १.२ प्रतिशतमा अन्धोपन देखिन पुगेको थियो। नेपालमा अन्धोपन हुने मुख्य कारणमा पहिलो कारणमा मोतियाबिन्दु र दोस्रो कारणमा ट्रकोमा थियो। नेपालगन्ज, बाँके, बर्दिया, कञ्चनपुर र कैलालीमा ट्रकोमाको प्रकोप अत्यधिक भएकाले ती बिरामीलाई सेवा दिनका लागि ‘अन्धोपन निवारण आयोजना संस्था’ थियो। यसैअन्तर्गत २०३८ सालमा गेटा आँखा अस्पताल स्थापना हुन पुग्यो।

स्थापनापछि गेटा आँखा अस्पतालले सूदूरपश्चिमका सबै जिल्लामा आँखा सेवा पु¥याउनका लागि शाखा विस्तार ग¥यो। सुरुका दिनमा स्थापनाका लागि नर्वेको एक गैरसरकारी संस्थाले सहयोग गरेको थियो। 

सूदूरपश्चिम प्रदेशभित्र गेटा आँखा अस्पतालका १८ वटा शाखा छन्। महेन्द्रनगरमा सेकेन्डरी लेभलको अस्पताल रहेको छ।यस अस्पतालले मोतियाबिन्दुको अपरेसन हातैले र प्रविधिमार्फत गर्ने गर्छ। त्यस्तै, अस्पतालले सन् २०१२ देखि विशषेज्ञ चिकित्सकमार्फत आँखाको नानी प्रत्यारोपण सेवा पनि दिँदै आएको छ। अस्पतालले आँखाको दृष्टि पर्दाको औषधि र शल्यक्रिया सेवा पनि प्रदान गर्छ। 

यस अस्पतालमा बिरामीको नाम दर्ता गर्नका लागि एक सय ५० रूपैयाँ शुल्क लाग्छ। उपचार खर्च बिरामी हेरेर नै लिने गरेको व्यवस्थापक भट्ट बताउँछन्। ‘मोतियाबिन्दुको शल्यक्रिया हातैले गर्दा तीन हजार दुई सय रूपैयाँ लाग्छ,’ उनी भन्छन्, ‘मेसिनद्वारा गर्दा आठ हजार आठ सय रूपैयाँ लाग्छ। नेपाली र भारतीयलाई उपचार शुल्क समान लिने गरेका छौँ।’

शल्यक्रियाबाट उठेको रकमबाट अस्पतालले अपरेसन शिविर सञ्चालन गर्दै आइरहेको छ। ‘यसका साथै शाखा अस्पताल पनि विस्तार गर्दै आएका छौँ,’ व्यवस्थापक भट्ट भन्छन्, ‘केही दिनमै कैलालीको घोडाघोडी, डोटीको शिखर, बाजुराको बुढीगंगा र बैतडीको मेनौली नगरपालिकामा एक–एक गरी चार शाखा अस्पताल थप गर्ने योजनामा छौँ।’

हाल यस अस्पतालले वार्षिक २५ करोडजति आम्दानी गर्ने र सोही बराबरकै खर्च भइरहेको व्यवस्थापक भट्ट बताउँछन्। सुदूरपश्चिम प्रदेशको ‘अस्पताल सेवा सुदृढीकरण निर्देशिका ०७६’ मा गेटा आँखा अस्पताललाई पनि अनुदान दिने उल्लेख छ। व्यवस्थापक भट्टका अनुसार, सोहीबमोजिम अघिल्लो वर्ष उपकरणका लागि एक करोड रूपैयाँ प्राप्त भएको थियो भने यो वर्ष ५० लाख छुट्ट्याइएको छ। त्यस्तै केन्द्र सरकारबाट पनि आँखा शिविर सञ्चालन गर्न र मोतियाबिन्दुको अपरेसनका लागि आर्थिक सहयोग मिल्दै आएको उनी बताउँछन्।

दुई किसिमको शिविर

व्यवस्थापक भट्टका अनुसार, आँखा अस्पताल गेटाले दुई किसिमको आँखा शिविर सञ्चालन गर्दै आएको छ। एउटा शल्यक्रिया शिविर, जसमा आँखाको परीक्षण र अपरेसन सेवा शिविरबाटै प्रदान गरिन्छ। यस्तो सेवा पहाडी जिल्लाका लागि दिइन्छ। त्यस्तै अस्पतालले स्क्रिन क्याम्प चलाउँछ, जसमा आँखाको परीक्षण शिविरमा हुन्छ भने उपचार अस्पतालमा। कैलाली र कञ्चनपुरमा स्क्रिन क्याम्प चलाउँदै आएको भट्ट बताउँछन्। 

उनका अनुसार, वार्षिक रूपमा ३० वटा शल्यक्रिया सहितको र ३० वटा चेकजाँच मात्रै गर्ने गरी ६० वटा शिविर चलाउने अस्पतालको योजना हो। ‘तर यो वर्ष कोभिड संक्रमण बढेकाले केही समयका लागि शिविर स्थगित गर्नुपरेको थियो,’ भट्ट भन्छन्, ‘त्यसैले यो वर्ष आठवटा शल्यक्रिया शिविर पहाडी जिल्लामा सञ्चालन ग¥यौँ। कञ्चनपुर र कैलालीमा १० वटा चेकजाँच शिविर गरी जम्मा १८ वटा शिविर सञ्चालन गरियो।’ 

उनका अनुसार, अधिकांश आँखाका बिरामी उपचारका लागि अस्पताल नआई शिविर कुर्ने गर्छन्। वर्ष दिनसम्म शिविर कुर्दा आँखाको समस्या बढ्न सक्छ। त्यसैले आँखा रोगका सम्बन्धमा जनचेतना जगाउन आवश्यक रहेको भट्ट बताउँछन्। 

समस्या

अहिले यस अस्पताललाई विशेषज्ञ चिकित्सक लामो समयसम्म टिकाइराख्न समस्या छ। ‘बढीजसो विशेषज्ञ केन्द्रतिर नै जान खोज्छन्,’ व्यवस्थापक भट्ट भन्छन्, ‘हामीसँग विशेषज्ञ १५ जना त हुनुहुन्छ, तर हामीलाई योभन्दा बढी आवश्यक छ।’ 

प्रकाशित मिति: १७:१२ बजे, शुक्रबार, चैत १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्