निदाएका बेला ऐँठन (स्लिप पारालाइसिस) किन हुन्छ ?
यही अवस्थालाई हाम्रो समाजमा बोक्सी लागेको, अँठ्याएको, छाल हालेको वा आफूमा नकारात्मक शक्ति हाबी भएको आदि भन्ने वा विश्वास गर्ने गर्छन्। वैज्ञानिक रूपमा भन्नुपर्दा तनाव (स्ट्रेस) ले गर्दा स्लिप पारालाइसिस हुन्छ।काठमाडौं, चैत १७ : स्लिप पारालाइसिस भनेको एउटा यस्तो अवस्था हो, जसमा मानिस निदाइरहेका बेला पनि सचेत हुन्छ। यसमा मानिसलाई केहीले थिचेको वा कुनै पनि अंग नचलेको, आफूलाई थिचेको वस्तु हटाउन प्रयत्न गरेको तर नसकिरहेको जस्तो महसुस हुन्छ।
यही अवस्थालाई हाम्रो समाजमा बोक्सी लागेको, अँठ्याएको, छाल हालेको वा आफूमा नकारात्मक शक्ति हाबी भएको आदि भन्ने वा विश्वास गर्ने गर्छन्। वैज्ञानिक रूपमा भन्नुपर्दा तनाव (स्ट्रेस) ले गर्दा स्लिप पारालाइसिस हुन्छ।
दिनभरि झेलेको तनावको व्यवस्थापन नहुँदा वा त्योसँग सम्झौता गर्न नसक्दा स्लिप पारालाइसिसको समस्या देखिने अध्ययनले देखाएको छ। सामान्यतः कसैलाई तनाव छ, तर कसैसँग खुलेर कुरा गर्न सकेको छैन भने स्लिप पारालाइसिसको समस्या आउन सक्छ।
यो समस्या हरेक उमेर समूहका व्यक्तिमा देखिने गर्छ। विशेषगरी किशोरावस्था र युवावस्थामा यस्तो समस्या बढी देखिन्छ। बालबालिका र वृद्धवृद्धाको तुलनामा यी उमेर समूहका मानिसमा धेरै कुराको तनाव हुन्छ, ती कुरासँग सम्झौता गर्न नसक्दा स्लिप पारालाइसिसको समस्या बढी देखिने हो।
विद्यार्थी जीवनमा कतिपय बालबालिका एवं किशोरकिशोरीले स्लिप पारालाइसिस महसुस गरेका हुन्छन्। उदाहरणका लागि कुनै विद्यार्थीलाई पढाइको तनाव, शिक्षकको व्यवहार, घरमा चित्त बुझाउन नसकेको लगायत कुरासँग सामना गर्न नसक्दा पनि स्लिप पारालाइसिस भएको हुन्छ।
तनावको सामना एवं व्यवस्थापन गर्ने क्षमता नहुँदा स्लिप पारालाइसिसको समस्या अझ बढी हुने गर्छ। कसैलाई स्लिप पारालाइसिस भएको अवस्थामा आफैँलाई केही कुराले वा कसैले थिचेको, आफू उठ्नका लागि धेरै समय संघर्ष गरेको महसुस हुन्छ। तर, अरु कसैले हेर्दा सो व्यक्तिले शरीर चलाउन नसकेको (जस्तो : शरीर कक्रकिएको, केही बोल्न खोजेको) देखिन्छ।
स्लिप पारालाइसिस विशेषतः एकदेखि दुई मिनेटसम्म रहन्छ। तर, यो भोगिरहेको मानिसलाई धेरै समय बितेको वा आफूले धेरै समय संघर्ष गरेको जस्तो महसुस हुन्छ। कतिपय अवस्थामा स्लिप पारालाइसिस भइरहेको बेला उक्त व्यक्तिले आफूलाई देखिरहेको हुन्छ भने कसैले आफन्त वा चिनेको मानिसलाई देख्ने गर्छ। यस्तो किन हुन्छ भन्ने विषयमा ठ्याक्कै प्रमाण भेटिएको छैन।
कहिलेकाहीँ मानिसलाई कसैले थिच्न आउन लागेको पनि चेतना हुन्छ। र, सुरुमै थिच्न नदिने उपाय अपनाउने गरेको पनि पाइन्छ। जस्तो : कुनै मानिसलाई कसैले थिच्न आएको (स्लिप पारालाइसिस हुन लागेको) अनुभव हुनेबित्तिकै खुट्टा चलाउने, घोप्टो पर्ने, उठ्ने लगायत पनि गर्छन्। कतिलाई आफूले खुट्टाले हानेजस्तो हुने तर खुट्टा नउठ्ने पनि हुन्छ। यो सबै शरीरको सचेतना (कन्सिअसनेस) हो।
उपचार
पारालाइसिस भनेको एउटा टेक्निकल टर्म (प्राविधिक शब्द) हो। अहिले शरीरको कुनै अंग नचलेको अवस्थालाई पारालाइसिस भनिन्छ भन्ने धेरै थाहा हुन सक्छ। तर, मस्तिष्कसम्बन्धी हुने पारालाइसिसका बारेमा धेरै मानिसले बुझेका छैनन्। स्लिप पारालाइसिस यसैको एउटा उदाहरण हो।
केही मानिसलाई स्लिप पारालाइसिस कहिलेकाहीँ मात्र हुन्छ भने कतिपयलाई दुई–तीन दिनको अन्तरालमै यो समस्या आइरहेको हुन्छ। छोटो समयको अन्तरालमा धेरैपटक स्लिप पारालाइसिसको समस्या देखिनु राम्रो होइन।
स्लिप पारालाइसिस भएकै कारण उपचारका लागि चिकित्सककहाँ जाने मानिसको संख्या निकै कम छ। यसले स्वास्थ्यमा खासै असर नपार्ने भएका कारण मानिसले अन्य रोगलाई जतिको महत्त्व दिएका हुँदैनन्। जस्तो : कुनै मानिसलाई दुई–तीन दिनको अन्तरालमा स्लिप पारालाइसिसको समस्या देखिन सक्छ। तर यो एउटा मानसिक समस्या हो भन्ने नबुझ्दा उनीहरू धामीझाँक्री लगाउने, पूजा गर्नेतिर लागिरहेका हुन्छन्।
कतिपय मानिसलाई आफूलाई कुन कुराले तनाव भइरहेको छ भन्नेसम्म थाहा नहुँदा लामो समयसम्म तनावकै कारण स्लिप पारालाइसिसको समस्या देखिएको धेरै उदाहरण छन्। यसको मुख्य उपचार भनेकै तनावको कारण पहिचान गरी त्यसको समाधान गर्नु हो।
प्रायः मानिसले कुनै न कुनै समयमा स्लिप पारालाइसिस अनुभव गरेको हुन्छ। तर, निरन्तर स्लिप पारालाइसिस भएमा यसले अन्य मानसिक रोग निम्त्याउन सक्छ। मलाई सधैँ यस्तो किन हुन्छ भनेर बढी सोच्ने, एक्लै सुत्न डराउने, त्यत्तिकै आत्तिने, समुदायका कुनै व्यक्तिले नकारात्मक शक्तिको प्रयोग गरेको भन्ने भ्रमपूर्ण विश्वास गर्ने हुँदा यसबाट अन्य मानसिक रोग लाग्न सक्छ। मानिससँग सम्बन्ध र आफ्नो नियमित काम बिग्रिने हुन सक्छ।
धेरै मानिसलाई निरन्तर स्लिप पारालाइसिसको समस्या आउँदा धामीझाँक्रीकहाँ जाने पनि गरेका छन्। यसरी स्लिप पारालाइसिस भएको व्यक्तिको समस्यालाई लिएर परिवार र आफन्तले ध्यान दिन थाल्छन् भने त्यसले उसको मानसिक अवस्थालाई राहत मिल्न जान्छ र उपचारको काम गरेको हुन सक्छ, तर मानिसले धामीझाँक्रीले निको पारेको भनी विश्वास गरेका पनि छन्।
मनोवैज्ञानिक समस्या
स्लिप पारालाइसिस निदाएको समयमा हुने भएकाले कतिपयले यसलाई नसासम्बन्धी रोग भनेर बुझेका हुन्छन्। तर, यो नसासम्बन्धी नभई मनोविज्ञानसँग जोडिएको हुन्छ।
कसैलाई कहिलेकाहीँ सुतिरहेका बेला शरीरका कुनै अंग चलाउन असहज महसुस हुनुलाई नसासम्बन्धी वा अन्य कुनै रोगका कारण हुन सक्छ। तर, दिनहुँजसो स्लिप पारालाइसिस हुने मानिसको हकमा नसासम्बन्धी भन्न मिल्दैन। कुनै पनि मानिसलाई सुत्ने बेला सधैँ एकै ठाउँको नसा च्याँपिने भन्ने हुँदैन। त्यसैले कसैलाई लगातार धेरै समयसम्म स्लिप पारालाइसिसको समस्या देखिए मनोवैज्ञानिकसँग कम्तीमा एकपटक परामर्श लिनुपर्छ।
(डा. करुणा कुँवरसँग काठमाडौं प्रेसकर्मी सोनी शाहीले गरेको कुराकानीमा आधारित)