Kathmandu Press

काठमाडौंमा मर्निङवाक गर्दै हुनुहुन्छ ? सावधानी अपनाउनुस् 

वातावरणविद् चिरञ्जीवी भट्टराई यतिखेर वायु प्रदूषण बढेका कारण बिहान ९ बजेअगाडि मर्निङवाक नगर्न सुझाउँछन्।
काठमाडौंमा मर्निङवाक गर्दै हुनुहुन्छ ? सावधानी अपनाउनुस् 

काठमाडाैं, चेत १४ : १० चैतको बिहानको ६ बजे। न्युरोड र वसन्तपुर दरबार क्षेत्रमा मर्निङवाक गर्नेको ताँती देखिन्थ्यो- कोही एक्लाएक्लै, कोही साथीसँग त कोही पारिवारिक सदस्यसँग। 

यो ऐतिहासिक क्षेत्रमा र यसवरिपरि विशेष सम्पदा र देवीदेवता छन्। केही आस्थावान् वृद्धवृद्धा र युवा मन्दिर परिक्रमा गर्दै थिए- व्यायाम पनि हुने, देवताको दर्शन पनि।

स्थानीय ५६ वर्षीय भाइराजा महर्जन र ५४ वर्षीय महेश श्रेष्ठ विशालबजारको गेटनेर गफिँदै थिए, यिनीहरुको यहाँ जम्काभेट भएको रहेछ। दिनभरि आ-आफ्नो काममा व्यस्त हुनेहरुलाई मर्निङवाकले साथीभाइ र छरछिमेकीसँग भेट गर्ने अवसर पनि जुराउँछ। श्रीमतीसँग मर्निङवाक आएका महेश भन्छन्, ‘हामीले मर्निङवाक गर्न थालेको २०औँ वर्ष भइसक्यो। हामी कहिले स्वयम्भू पुग्छौँ, कहिले यहीँ वसन्तपुर वरिपरि घुम्छौँ। मर्निङवाक नगरी दिनको सुरुवात नै भएजस्तो लाग्दैन।’ 

Hardik ivf

तस्बिरः सुजल बज्राचार्य ।

यतिखेर काठमाडौं विश्वका प्रदूषित सहरमध्ये छैटौँ नम्बरमा परेको खबर छ। यस सम्बन्धमा महेश भन्छन्, ‘हो, प्रदूषण बढेको छ, हामी काठमाडौंको मान्छे, मर्निङवाक गर्न कहाँ जाने त ?’ 

उनको कुरामा सहमति जनाउँदै भाइराजा भन्छन्, ‘काठमाडौंमा वातावरण प्रदूषण वर्षैपिच्छे बढिरहेको छ। अन्य जिल्लाका मानिस पनि काम वा पढाइका लागि यहीँ छन्। तर स्रोत–साधन पहिलाकै जस्तो छ। हामीकहाँ विकासका नाममा विनाश भइरहेको छ।’

गुलाबी रङको कुर्तासुरुवाल र हातमा कपडाको झोला बोकेकी ५५ वर्षीया रीता कंसाकार लामा–लामा पाइला चाल्नमा अभ्यस्त थिइन्। वसन्तपुरको मरु गणेशनजिकै उनको घर छ। उनी सधैँझैँ मर्निङवाकसँगै किनमेलका लागि न्युरोड क्षेत्रमा निस्कन्छिन्। ‘बिहान एक टाइम वसन्तपुर क्षेत्र वरिपरि घुम्छु। यही समयमा आवश्यक सामान पनि किनेर लैजाने गरेकी छु,’ उनले भनिन्,  ‘सामान पनि किनिन्छ, मर्निङवाक पनि हुन्छ।’ मर्निङवाकले शरीरमा स्फूर्ति बढ्ने उनी बताउँछिन्। 

रीता प्रायः पाँच बजेतिरै मर्निङवाक गर्न रुचाउँछिन्, किनभने गाडी चल्न थालेसँगै धुलोधुँवा बढ्ने उनको बुझाइ छ। ‘साढे ६ बजेपछि गाडीको धुलोधँुवा सुरु हुन्छ। यहीबेला सडक सफा गर्नेहरु आइपुग्छन्। सडक बढार्दा पनि धुलो उड्छ,’ उनी भन्छिन्, ‘तर घरमा व्यायाम गर्नै मन लाग्दैन। मास्क लगाएर भए पनि हिँड्नै ठीक लाग्छ।’ 

बिहानमा प्रदूषण बढी हुन्छ : वातावरणविद्

वातावरणविद् चिरञ्जीवी भट्टराई यतिखेर वायु प्रदूषण बढेका कारण बिहान ९ बजेअगाडि मर्निङवाक नगर्न सुझाउँछन्। उनका अनुसार, काठमाडौं गोलो आकारको छ। यहाँको धुलो उडेर उपत्यका बाहिर जान पाउँदैन। रातभरि चिसोमा भू–सतहमा बसेको धुलो बिहानीको घामसँगै माथि आउने हुँदा त्यो धुलोले अझ बढी असर गर्छ।

‘मानिसहरू मर्निङवाक गरेर मात्र स्वस्थ हुन्छौँ भन्ने सोच्छन्। स्वस्थ रहन मर्निङवाक नै गर्नुपर्छ भन्ने जरुरी छैन। खानपिनमा ध्यान दिने, समय मिलाएर नियमित व्यायाम गर्ने हो भने स्वस्थ रहन सकिन्छ,’ उनी भन्छन्, ‘मर्निङवाक जानैपरे मास्क लगाएर जाँदा हुन्छ। गाडीहरू कम गुड्ने ठाउँ वा रुख भएको ठाउँ, पार्क लगायतमा जानुपर्छ।’

वसन्तपुरमा मर्निङवाककै लागि आएका ३४ वर्षीय प्रेमबहादुर भण्डारी पेसाले नेपाल प्रहरीमा कार्यरत छन्। उनी फुर्सदका समय माक्स लगाएर मर्निङवाक आउने गर्छन्। ‘मर्निङवाक भनेको स्वच्छ अक्सिजन लिनका लागि गर्ने हो। तर, मास्क खोलेर हिँड्ने खालको वातावरण नै छैन,’ उनले भने, ‘वातारण प्रदूषण र गाडीको धुलोधुँवाका कारण मर्निङवाक गर्न समस्या छ। त्यसैले कहिले वसन्तपुर, कहिले टुँडिखेलमा मर्निङवाकका लागि जान्छु।’ 

वायु विषाक्त छ : डा. नीरज बम 

वरिष्ठ छाती रोग विशेषज्ञ प्रा.डा. नीरज बम काठमाडौंमा मर्निङवाक गर्ने प्रकारको वातावरण नभएको बताउँछन्। उनका अनुसार, यहाँ बिहानको समयमा चिसो धुलो माथि आउँछ। ‘मर्निङवाक गर्दा शरीरलाई फाइदाजनक नै हुन्छ। यसले शरीरका अंग, हाडजोर्नी, मांसपेसी लगायतलाई चलायमान बनाउँछ,’ उनी भन्छन्, ‘तर काठमाडौंको एयर क्वालिटी इन्डेक्स (वायु गुणस्तर सूचकांक) बिहानको समयमा पनि नघट्ने देखिएको छ। यसले शरीरमा नकारात्मक असर पुर्‍याउँछ।’ 

सहरी क्षेत्रमा बसोबास गर्ने मानिसको शारीरिक कामभन्दा पनि टेबल वर्क नै बढी हुन्छ। उनीहरुले मर्निङवाकसँगै शारीरिक व्यायाम गर्नु धेरै राम्रो हो। ‘काठमाडौंमा यसै पनि धेरै वायु प्रदूषण छ। यहाँको वायुमा करिब ८० प्रकारका क्यान्सरजन्य कणका साथै नाइट्रोजन, कार्बन, सल्फरडाइअक्साइड लगायत विषाक्त ग्यास समेत मिसिएका हुन्छन्,’ उनले भने, ‘यिनीहरूले मुख्यत दम, उच्चरक्तचाप, मधुमेह, ग्यास्टिक, श्वासनलीमा एलर्जी, रुघाखोकी लाग्ने लगायत समस्या निम्त्याउँछ।’ अहिले धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन नगर्नेमा पनि फोक्सोको क्यान्सरको समस्या देखिएको उनी बताउँछन्। ‘यसको मुख्य कारण वायु प्रदूषण नै हो,’ उनी भन्छन्, ‘तसर्थ बिहान ४ देखि ७ बजेभित्र आवश्यक सावधानी अपनाएर मर्निङवाकमा जानु उपयुक्त हुन्छ।’

काठमाडौं उपत्यकामा मर्निङवाक गर्दा नाक–मुख छोपिने गरी मास्क र चिसोबाट बच्ने प्रकारको लुगा लगाउन डा. बम सुझाउँछन्।


 

प्रकाशित मिति: १३:१४ बजे, सोमबार, चैत १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्