‘लुम्बिनीमा ट्र्याकिङ सिस्टमयुक्त १२० एम्बुलेन्स सञ्चालित छन्’
हाम्रो प्रदेशमा अहिले एमबिबिएस तहका डाक्टर एक सय ८१, पारामेडिक एक सय ३८ र नर्स दुई सय ९६ रहेका छन् । यस प्रदेशमा अधिकतम स्वास्थ्य सेवा दिने भवन ३५ वर्ष पुराना छन् । पछिल्लो समय सेवा लिन आउनेको संख्या तीन गुणा बढेको छ ।कोरोना महामारीसँगै देशमा स्वास्थ्य सेवा र स्वास्थ्य पूर्वाधारका बारेमा बहस भइरहेको छ। विशेषतः देश संघीयतामा गएसँगै स्थानीय तहबाटै के कस्तो स्वास्थ्य सेवा दिने भन्ने सम्बन्धमा बहस भए। अझै पनि स्वास्थ्य सेवाको मापदण्डभित्र जनताले प्रत्यक्ष पाएको उपचार वा रोग लाग्नै नदिने सरकारको कदम पर्दैनन्, केवल अस्पतालका शय्या गणना हुन्छन्। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा केही स्थानीय तहको सक्रियता सुन्दर देखिन्थ्यो। उपलब्ध काठ दाउराबाटै ‘क्वारेन्टिन’का लागि पूर्वाधार बनाउने पनि थिए। हामीसँग ‘नेपाल स्वास्थ्य पूर्वाधार विकास मापदण्ड २०७४’ पनि छ। यो अवस्थामा काठमाडौं प्रेसले स्वास्थ्य संस्थाका आधिकारिक व्यक्तिसँग स्वास्थ्य क्षेत्रको अवस्था र विकास सम्बन्धमा अन्तर्वार्ता (कुराकानी) गर्दैछ।
प्रस्ततु छ, लुम्बिनी प्रदेश, स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदकुमार गिरीसँग काठमाडौं प्रेसकर्मी सोनी शाहीले गरेको वार्ता :
लुम्बिनी प्रदेशमा स्वास्थ्य क्षेत्रको अवस्था कस्तो छ ?
समग्रमा भन्नुपर्दा लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्रको अवस्था राम्रो छ। लुम्बिनी प्रदेशअन्तर्गत १३ वटा अस्पताल छन्। तीनवटा अस्पताल (भेरी अस्पताल, नेपाल क्यान्सर अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान) स्वास्थ्य मन्त्रालय एवं संघीय सरकार अन्तर्गत रहेका छन्।
यसबाहेक मेडिकल कलेज, अन्य अस्पताल, स्वास्थ्य केन्द्र लगायतको अनुगमन एवं व्यवस्थित परिचालनका लागि स्वास्थ्य निर्देशनालयले काम गरिरहेको छ। जनस्वास्थ्यको आधारभूत सेवा लगायत स्वास्थ्य केन्द्रको सबै जिम्मा स्थानीय तहलाई दिइएको छ, उनीहरूलाई मोनिटरिङ गर्नुका साथै प्राविधिक सहयोग गर्दै आएका छौँ।
हाम्रो प्रदेशमा अहिले एमबिबिएस तहका डाक्टर एक सय ८१, पारामेडिक एक सय ३८ र नर्स दुई सय ९६ रहेका छन्। यस प्रदेशमा अधिकतम स्वास्थ्य सेवा दिने भवन ३५ वर्ष पुराना छन्। पछिल्लो समय सेवा लिन आउनेको संख्या तीन गुणा बढेको छ।
यो समस्या समाधानका लागि थप भवन बनाउने क्रममा छौँ, केहीको टेन्डर प्रक्रिया अगाडि बढिसकेको छ। अर्घाखाँची लगायत थुप्रै अस्पतालको अहिले निरीक्षणको काम भइरहेको छ। यी भवन बन्न करिब चार वर्ष लाग्न सक्ने हाम्रो अनुमान छ। अस्पतालको भवन निर्माणमा सरकारले लगानी नगर्दा हामीलाई अप्ठेरो परेको छ।
हामीकहाँ अहिले दुईवटा प्रादेशिक अस्पताल छन् भने ५० बेडका ११ वटा अस्पताल छन्। लुम्बिनी प्रदेशमा सरकारी अस्पताल २०, प्राथमिक स्वास्थ्य केन्द्र ३० र हेल्थपोस्ट पाँच सय ७० वटा रहेका छन्। अर्बान हेल्थ सेन्टर एक सय एक, हेल्थ सर्भिस सेन्टर एक सय १८, समिति हेल्थ युनिट ९८, गाउँघर क्लिनिक एक हजार आठ सय ९८, खोप केन्द्र दुई हजार चार सय ४१ वटा छन्। यस्तै, महिला स्वयंसेविका नौ हजार एक सय २० र बर्थिङ सेन्टर चार सय ६ वटा छन्।
महिला प्रजनन स्वास्थ्यसम्बन्धी के–के कार्यक्रम छन् ?
महिलाको प्रजनन स्वास्थ्यका सन्दर्भमा नेपाल सरकारले ल्याएका कार्यक्रमलाई नै निरन्तरता दिने प्रयास गरिरहेका छौँ। जसमा आधारभूत स्वास्थ्यका प्याकेज छन्। गर्भवती महिलालाई आवश्यक सेवा दिएका छौँ। गर्भवती अवस्था वा डेलिभरीको समयमा समस्या आएमा सिजरिङ सेक्सनको निःशुल्क सेवा लगायत सुविधा दिइरहेका छौँ। यी सुविधा लुम्बिनी प्रदेशका हरेक अस्पतालबाट प्रदान भइरहेका छन्। यसबाहेक लैंगिक विविधतासम्बन्धी कार्यक्रम सञ्चालन गरेका छौँ। परिवार नियोजनका साधन सबै अस्पतालबाट वितरण गरिएको छ। लुम्बिनी प्रदेशका हरेक अस्पतालमा शल्यक्रिया (अपरेसन थिएटर) सेवा उपलब्ध छन्।
अहिले यस प्रदेशमा कस्ता रोग बढी देखिएका छन् ?
विगतको तुलनामा अहिले सरुवा रोग कम भएको देखिन्छ। कुनै पनि मानिसको स्वस्थ जीवनका लागि स्वस्थ खाना र स्वस्थ जीवनशैली आवश्यक हुन्छ। अहिले विकास र प्रविधिले मानिस अल्छी भएका छन्। घरमा बनेको भन्दा पनि होटलको खाना र जंक फुडको सेवन बढी गर्न थालेका छन्।
करिब १०÷१२ वर्षयता हाम्रो खानपान र व्यवहारले गर्दा नसर्ने रोग हाम्रो समाजमा बढेको छ। जुन लुम्बिनी प्रदेशमा पनि लागू हुन्छ। लुम्बिनी प्रदेशकै सन्दर्भमा भन्नुपर्दा, उच्च रक्तचाप, मधुमेह, पेटसम्बन्धी विभिन्न रोग, मुटुको रोग, मिर्गौलाको रोग, मोटोपन, क्यान्सर लगायत रोग बढी देखिएका छन्।
स्वास्थ्य निर्देशनालयको तर्फबाट यी रोगको व्यवस्थापन वा नियन्त्रणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालनमा ल्याएका छौँ। यस्तै, विभिन्न तालिम पनि सञ्चालित छन्। उक्त तालिम स्वास्थ्यकर्मीलाई दिइन्छ। स्वास्थ्य केन्द्र एवं स्वास्थ्य संस्थामा आएका सबैलाई स्वास्थ्यकर्मीले स्वस्थ जीवनशैलीका आधारभूत ज्ञान दिने गरेका छन्।
यसका साथै एफएम, टिभी लगायत सञ्चार माध्यमबाट नसर्ने रोगका विषयमा निरन्तर सूचनामूलक सन्देश दिइरहेका छौँ। एउटा सचेत नागरिकलाई स्वस्थ जीवनबारे सामान्य ज्ञान हुनुपर्छ, सरकारले गरेर मात्र हुँदैन। तर, अहिले मानिसलाई बाहिरको खानामा लत लागेजस्तो देखिन्छ। सबैले स्वस्थ रहनका लागि नियमित व्यायाम गर्ने, स्वस्थ खाना खाने, सुर्तीजन्य पदार्थ नखाने लगायत सामान्य उपाय अपनाएमा स्वस्थ रहन सकिन्छ।
यस्तै, यहाँ ग्यास्ट्रिक, उच्च रक्तचाप, दम, मधुमेह लगायत नसर्ने रोगबाट पनि ग्रसित छन्। यस्ता रोगबारे जनचेतना फैलाई रोकथामका कार्यक्रमलाई विशेष जोड दिइरहेका छौँ।
समग्रमा लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्रको अवस्था अन्य प्रदेशको जस्तै छ। तर, विभिन्न रोगबाट ग्रसित मानिसको संख्या बढिरहेको छ।
जडिबुटीको प्रयोग र प्रवर्द्धन के–कस्ता काम भइरहेका छन् ?
स्वास्थ्य निर्देशनालयले गरिरहेका विभिन्न कार्यमध्ये जडिबुटीको प्रयोग र प्रवद्र्धन पनि समावेश छ। आयुर्वेदलाई उपचारका रूपमा मात्रै लिनु हुँदैन। आयुर्वेदको मुख्य उद्देश्य भनेको जनतालाई स्वस्थ राख्नु हो। कुनै पनि खानेकुरा सेवन गर्दा कति मात्रा खाने, कसरी खाने, कुन समयमा खाने, के–के नखाने लगायत कुरा आयुर्वेदले सिकाउँछ।
लुम्बिनी प्रदेशमा आयुर्वेदसम्बन्धी विशेषज्ञकै अस्पताल स्थापना गरेका छौँ। यहाँ हामीले पञ्चकर्मका साथै बिरामीका लागि ‘बहु विशेषज्ञ’ आयुर्वेदिक सेवा दिइरहेका छौँ। अन्य अस्पतालमा पनि आयुर्वेदका स्वास्थ्य केन्द्र छन्। जहाँ आयुर्वेदसम्बन्धी ज्ञान दिने, स्वस्थ जीवनका आधार सिकाउने, योगा कक्षाका साथै बिरामीको उपचार समेत गरिरहेका छौँ।
निर्देशनालयले मूलभूत रूपमा अहिले के गरिरहेको छ ?
समग्रमा भन्नुपर्दा हामीले अन्य प्रदेशमा जसरी नै स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालनमा ल्याएका छौँ। अन्य प्रदेशको तुलनामा एम्बुलेन्स ट्र्याकिङ सिस्टम हाम्रो प्रदेशमा राम्रो छ। नेपालमा एम्बुलेन्स ट्र्याकिङ सिस्टम सञ्चालनमा ल्याउने पहिलो प्रदेश नै लुम्बिनी हो। करिब दुई वर्षअगाडि हामीले ६० वटा एम्बुलेन्समा ट्र्याकिङ सिस्टम जडान गरी सुरु गरेका थियौँ। अहिले हामीसँग एक सय २० ट्र्याकिङ सिस्टमयुक्त एम्बुलेन्स सञ्चालित छन्। कुनै पनि बिरामीलाई एम्बुलेन्स आवश्यक पर्नेबित्तिकै हाम्रो सर्भरबाट नजिकको एम्बुलेन्सलाई ‘लोकेट’ गरेर तत्कालै एम्बुलेन्स पुग्ने व्यवस्था छ। साथै थप एम्बुलेन्सका लागि पनि प्रक्रिया सुरु गरिसकेका छौँ।
लुम्बिनी प्रदेशमा जति पनि अस्पताल छन्, ती सबैमा अपरेसन थिएटर छन्। अहिले अपरेसन थिएटर नभएका अस्पताललाई जनताले अस्पताल नै नमान्ने रहेछन्। त्यसैले हामीले हरेक अस्पतालमा अपरेसन थिएटर स्थापना गरेर त्यसमा अपरेसन (शल्यक्रिया) को सेवा दिइरहेका छौँ। हाम्रो प्रदेशको हरेक अस्पतालमा सिनियर डाक्टरबाट निरीक्षण हुन्छ। निर्देशनालयले उपचार, प्रयोगशालाको मनिटरिङ, सबै अस्पतालमा अक्सिजन प्लान्टको स्थापना, आइसियु बेड स्थापना लगायत कार्यलाई प्राथमितामा राखेको छ।
यहाँ नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न के–कस्ता समस्या छन् ?
नेपाल सरकारबाट ‘संघीय निजामती सेवा ऐन’ जारी नभएपछि प्रदेशमा विशेषज्ञ चिकित्सक लगायत सिनियर स्टाफको कमी देखिन थालेको छ। जुन यस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएको मुख्य समस्या हो। अहिले विज्ञापन दिएर लोकसेवाबाट परीक्षा लिन नसके पनि करारबाट जनशक्ति राखेर काम चलाइरहेका छौँ।
निर्देशनालयका आगामी योजना के–के छन् ?
कोभिडको समयमा थुप्रै आइसियु, एनसियु सञ्चालनमा ल्याएका थियौँ, अब त्यसलाई कम गरी अन्य सेवा दिने योजनामा छौँ। स्थानीय तहको स्वास्थ्य संस्थालाई अझै सबल बनाउने प्रयासमा छौँ।
रोगको उपचार गरेर मात्रै हुँदैन, मानिसलाई बिरामी नै हुन नदिनका लागि आवश्यक कार्यसँगै जनचेतनामूलक कार्यक्रमलाई अझ व्यापक बनाउने हाम्रो मूल योजना हो। यस सम्बन्धमा स्वास्थ्य मन्त्रालयले खासै ध्यान दिएको छैन। सम्बन्धित निकायको सबै ध्यान बिरामीमा मात्रै केन्द्रित भयो। स्वस्थ राख्ने अरु आयामतिर खासै ध्यान गएको छैन। त्यसैले यो कुरामा ध्यान दिनुका साथै अस्पताललाई निरीक्षण गरेर बिरामीलाई सहज र गुणस्तरीय उपचार दिने प्रयासमा छौँ। लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयले यही कुरामा केन्द्रित रहेर काम गर्नेछ।