Kathmandu Press

रविन्द्र मानन्धरको कार्टुन यात्रा : विद्यालयको बेथितिदेखि देशकाे विकृतिसम्म

रविन्द्र भन्छन्, ‘सानैदेखि कमिक पढ्दै, हेर्दै आइयो। कमिकमा विशेष रुचि थियो। पछि गएर कमिक नै बनाउने काम गर्छु भन्ने लाग्थ्यो। पत्रिकामा कार्टुन छापिएसँगै मलाई निकै हौसला मिल्यो।’

काठमाडौं, चैत ११ : सधैँझैँ बिहान विद्यालय पुग्दा रविन्द्र मानन्धरले साथीहरुबाट वाहवाही र बधाई पाए। कारण, उनले अघिल्लो दिन कोरेको कार्टुन कामना प्रकाशन गृहको ‘महानगर’ पत्रिकामा छापिएको थियो।  

रविन्द्रले कक्षा ९ मा पढ्दा (२०५१ सालमा) कोरेको त्यो कार्टुन विद्यालयकै समस्यामाथि थियो। त्यस कार्टुनको रेखाचित्र र पन्च लाइन यस्तो थियो— विद्यालयको शौचालयअघि फोहोरको डंगुर, त्यो देखेर चकित परेका विद्यार्थी र छेउमै पालेदाइ। एक विद्यार्थी सोध्छन्, ‘शौचालय सफा राख्नुपर्ने होइन ?’ पालेदाइ भन्छन्, ‘शौचालयभित्र सफा भए भइहाल्यो नि, बाहिर किन चाहियो।’ उनले कक्षामा बसेर विभिन्न चित्र कोरिरहन्थे, त्यस दिन उनले आफूले पढिरहेको विद्यालयको समस्यालाई लिएर कार्टुन कोरेका थिए, उनले कार्टुन कोरिरहेको विद्यालयका एक शिक्षकले नियालेका रहेछन्। रविन्द्रले कार्टुन कोरेर सकेपछि शिक्षकले कार्टुन लिएर गए, केही नभनी। 

Hardik ivf

विद्यालयको बेथितिबारे चित्र कोरेका कारण शिक्षकले चित्र लगेका होलान् भन्ठानी रविन्द्र केही डराएका पनि थिए। ‘भोलिपल्ट पत्रिकामा पो छापियो !’ रविन्द्र भन्छन्, ‘सानैदेखि कमिक पढ्दै, हेर्दै आइयो। कमिकमा विशेष रुचि थियो। पछि गएर कमिक नै बनाउने काम गर्छु भन्ने लाग्थ्यो। पत्रिकामा कार्टुन छापिएसँगै मलाई निकै हौसला मिल्यो।’

पत्रिकामा छापिएको त्यो नै उनको पहिलो कार्टुन थियो, त्यसपछि उनका लागि कार्टुनको ढोका खुल्यो। उनले कामना मासिकसँगै अन्य केही पत्रिकामा कार्टुन पठाउन थाले। सुरुवाती चरणमा नेपाल भाषाका स्थानीय पत्रिका, सन्ध्या टाइम्स, कामना मासिक आदिमा उनका कार्टुन छापिन्थे। कामनामा भने उनले विशेषतः गाईजात्राका अवसरमा कार्टुन पठाउँथे। ‘त्यसताका कामना मासिकमा गाईजात्राको विशेष अंक प्रकाशित हुन्थ्यो। कार्टुनिस्टका लागि गाईजात्रा दशैँ आएजस्तै हुन्थ्यो,’ रविन्द्र भन्छन्, ‘गाईजात्राको प्रतीक्षामा म पनि हुन्थेँ। गाईजात्राका बेला पठाएको कार्टुन छापिन्थ्यो।’

रविन्द्र ०५९ सालदेखि कार्टुनिस्टका रूपमा जागिरे भए, नेपाल म्यागजिनसँग जोडिएर। जहाँ उनी ०७६ सम्म आबद्ध रहे। त्यहाँ रहँदा नेपाल म्यागजिनसँगै कान्तिपुर पब्लिकेसनका कोसेली, कोपिला, काठमाडौं पोस्टमा उनका कार्टुन छापिन्थे। अहिले उनी पहिलो पोस्ट अनलाइनमा आबद्ध छन्। हिमाल म्यागजिन र लोकान्तर अनलाइनका लागि पनि उनले चित्र कोरिदिन्छन्। विद्यालयको बेथिति देखाएर कार्टुन कोर्न सुरु गरेका रविन्द्रले देशकै बेथिति औँल्याएर कार्टुन कोर्न पुगे। 

कार्टुनिस्टले सधैँ समाजप्रतिको दायित्व ख्याल गरेर कार्टुन कोर्नुपर्ने रविन्द्रको बुझाइ छ। उनका अनुसार, कार्टुनिस्टले समाजका बेथितिमाथि व्यंग्यात्मक शैलीमा सम्बन्धित निकायलाई सचेतना दिने प्रयास गरिरहेको हुन्छ, वा यस्तै ध्येय राखिएको हुन्छ। ‘कार्टुन बनाउँदा सकारात्मक परिवर्तनको अपेक्षा हुन्छ। यद्यपि, हालसम्म कार्टुनकै कारण यस्तो परिवर्तन भयो भन्ने सुन्न वा देख्न पाएको छैन,’ मानन्धर भन्छन्, ‘नेताहरू आफ्नो कार्टुन बनोस् भन्नका लागि पनि उपद्रोमा मुछिन्छन् रे। यहाँ कार्टुन बन्नुको अर्थ चल्ती हुनु भन्ने बुझिएको छ। समाज वा सम्बन्धित निकायको बुझाइ विपरीत धारमा बगिरहेको त होइन भन्नेजस्तो मलाई लाग्छ।’ 

आफ्ना नेताका विषयमा घोचपेच हुँदा पार्टीका कार्यकर्ता कार्टुनिस्टमाथि खनिने गरेको पनि उनी बताउँछन्। उनले आफ्नो कार्टुन करिअरमा गणेशमान, मरिचमान, गिरिजाप्रसाद, सुशील कोइरालादेखि प्रचण्ड, बाबुराम, हालका वनमन्त्री आलेसम्मको कार्टुन बनाएका छन्।

कान्तिपुरको आइतबारीय अंक कोपिलामा बालबालिकाका लागि उनले ‘मनु र मन्नु’ शीर्षकमा कार्टुन कोर्थे। बालबालिकाका लागि कार्टुन सामग्री पस्कँदा आफू स्वयं बालक हुनुपर्ने रविन्द्रको अनुभव छ। ‘मनु र मन्नु कार्टुन स्ट्रिप बनाउने क्रममा यस विषयको बोध मलाई भयो,’ उनी भन्छन्, ‘प्रकाशित भएर जाने सामग्रीमा सानो गल्तीले बालबालिकामा गलत बुझाइ जान सक्छ।’ बालबालिकालाई रमाइलो प्रकारले सिकाउन सक्नु नै कार्टुन स्ट्रिपको उद्देश्य हुनुपर्ने उनी बताउँछन्। 

सम्झनामा आफ्ना सिर्जना

नेपाल म्यागजिनमा रविन्द्रको एउटा कार्टुन छापिएको थियो, काठमाडौं महानगरपालिकाको अवस्थालाई लिएर। ‘वर्षायाममा सडक जलमग्न हुुनु यहाँको नियति भइसकेको छ। निकासको राम्रो व्यवस्था छैन। जसकारण, पुतलीसडक पुतली खोला भइदिन्छ,’ उनी भन्छन्, ‘सोही थिममा मैले डुबानमा परेको काठमाडौंको कार्टुन बनाएको थिएँ। तलाउमा कतै भैँसी डुबिरहेका हुन्छन् त कतै गाडीमाथि एक जोडी प्रेमालापमा व्यस्त हुन्छन्। बासिन्दा त्रसित छन्। सडक बिस्तारको कामले क्षति मात्र पु¥याएको छ।’

आफूले सम्झने केही कार्टुनमध्ये यो पनि पर्ने रविन्द्र बताउँछन्। ‘यद्यपि यस कार्टुनको बुझाइमा अतिशयोक्ति भएको पनि थियो,’ उनी भन्छन्, ‘कार्टुन एक्ज्याजिरेसन, सेन्सिटाइजका लागि भन्दा पनि व्यंग्यका लागि गरिन्छ।’रविन्द्रले सम्झने अर्को कार्टुन छ, जुन कोरोनाका बेला कोरिएको थियो।
कोरोनाको दोस्रो लहरमा बिहान ८ बजेअघि निस्कन नमिल्ने व्यवस्था सरकारले गरेको थियो। यसलाई लिएर उनले कार्टुन कोरे— ८ बजेअघि कोरोना आउँदा मानिसले उल्टै कोरोनालाई कुटपिट गरेको। यसबाट उनले राम्रो प्रतिक्रिया पाएका थिए। 

पहिलाेपाेस्ट डटकममा प्रकाशित रविन्द्रकाे कार्टुन

केही समयअघि एक मन्त्रीले अपशब्द बोलेको भिडियो क्लिप बाहिरियो। उच्च पदीय व्यक्तिले विवेक नपु¥याउँदा उनले बोलेको क्लिप भाइरल हुन पुग्यो। यसमाथि उनले कार्टुन कोरे। ‘उहाँको बोली अनुसारको एक जनावरको शिर राखेर कार्टुन कोरेको थिएँ,’ उनी भन्छन्, ‘त्यो कार्टुन म आफैँलाई पनि निकै मन परेको थियो।’ 

विवादित कार्टुन

कार्टुन बनाउन रविन्द्रले समसामयिक घटनालाई नियाल्छन् र त्यसमध्येको महत्वपूर्ण घटनालाई रोज्छन्। प्रायः कार्टुनमा बढी राजनीतिक विषय तथा राजनीतिज्ञले नै बढी स्थान पाएको देखिन्छ। यस्तो किन हुन्छ त ? ‘राजनीतिक विसंगतिले सामाजिक जीवनमा प्रभाव पार्छ। त्यसैले कार्टुनमा बढी राजनीतिक विषय हाबी भएको हुन सक्छ,’ उनी भन्छन्, ‘यद्यपि, समसामायिक विषयमा कार्टुन नबन्ने होइन।’

उनका कार्टुन समयसापेक्ष हुन्छन्। चैत ४ मा प्रकाशित ‘यहाँ प्याटुल किन्न सस्तो ब्याजमा लोन पाइन्छ’ कार्टुनले सामाजिक सञ्जालमा राम्रो चर्चा पायो। सरकारले पेट्रोलको मूल्य प्रतिलिटर एक सय ५५ पु¥याउँदा आम जनतामा देखिएको आक्रोश तथा उदासीनतालाई उनले कार्टुनमा उतारेका थिए। 
कार्टुन कोर्दा सधैँ प्रशंसा मात्रै पाइँदैन, कहिलेकाहीँ कार्टुनले अन्य अर्थ दिन सक्छ, यस्तोमा कार्टुनिस्ट आलोचित हुन पुग्छन्। किनभने कार्टुनिस्टले एउटा सोचेको हुन्छ, पाठकले अरु नै बुझ्ने दृश्य वा शब्द कार्टुनमा आउन सक्छ। 

पहिलाेपाेस्ट डटकममा प्रकाशित रविन्द्रकाे कार्टुन

रविन्द्रका पनि दुईवटा कार्टुन विवादमा परेका छन्। नेपाल साप्ताहिकमा एउटा सानो लेखका लागि एउटा इलुस्ट्रेसन आवश्यक थियो। लेख राष्ट्रिय प्रजातन्त्र पार्टीसम्बन्धी भएकाले उनले दुई तत्कालीन नेता गाईमा चढेको चित्र बनाए, जसलाई अर्को अर्थ लगाउन सकिन्थ्यो। ‘हामी कार्टुनिस्ट पनि मानिस हौँ, यस कारण कहिलेकाहीँ हामीबाट गल्ती हुन सक्छ,’ रविन्द्र भन्छन्, ‘राष्ट्रिय जनावर गाईमाथि मानिस चढेको बनाएकै कारण कार्टुन छापिएको अर्को दिन अफिसमै केही कार्यकर्ता आएछन्। म भने त्यो दिन अफिस पुगेको थिइनँ।’ 

उनको अर्को कार्टुन विवादमा प¥यो, जसमा उनले एक महिलाको शरीरमा नेताको टाउको जोडेका थिए। कार्टुन जाजरकोटमा झाडापखाला फैलिएको सम्बन्धमा थियो। त्यहाँ जीवनजल समेत नपुग्दा केन्द्रमा भने नेताहरू राजनीतिक समीकरणमा थिए। उनको कार्टुनलाई लिएर महिलाले आपत्ति जनाए। यसमा उनले स्पष्टीकरणसहित माफी मागे। ‘आफ्नो सिर्जना विवादमा पर्दा तनाव त हुन्छ, सँगसँगै कतिपय विषयमा सतर्क भइन्छ,’ उनी भन्छन्, ‘सकेसम्म कसैको निजी घटना, कसैको आस्था वा जातीय संवेदनशीलता जस्ता विषयमा कार्टुन बनाउन हुँदैन।’ 

रविन्द्रको बुझाइमा, विदेशको तुलनामा नेपालमा निकै सभ्य ढंगले कार्टुन आउँछन्। यद्यपि, समय समयमा सरकारले लगाउन खोज्ने अंकुशप्रति भने उनको गुनासो छ। 

पन्चलाइन

कार्टुनमा एकातिर चित्र बोलेको हुन्छ, अर्कोतिर पन्च लाइन। के पन्च लाइनबिना कार्टुन बन्दैन ? यसमा उनको जवाफ छ, ‘सकेसम्म पन्च लाइन कमै प्रयोग गर्ने मेरो प्रयास हुन्छ। यद्यपि, कतिपय समय पन्च लाइनले खानामा अचारको जस्तो काम गर्छ। अहिले नेताहरू एकआपसमा आरोप प्रत्यारोपको खेलमा छन्। उहाँहरूका आरोप प्रत्यारोप नै पन्च लाइन बन्ने गर्छन्।’

यस क्षेत्रमा लाग्न उनलाई पुराना कार्टुनिस्ट तथा आफ्ना समकालीनबाट प्रेरणा मिलेको उनी बताउँछन्। दुर्गा बराल ‘वात्सायन’, भारतीय कार्टुनिस्ट आरके लक्ष्मण उनका प्रेरणाका स्रोत हुन्। समकालीन अविन श्रेष्ठ, रविन सायमीदेखि हालका नयाँ पुस्ता पनि सबै मनपर्ने उनी बताउँछन्।

मूलधारका पत्रिकाबाहेक औँलामा गन्न मिल्ने अनलाइनमा मात्र कार्टुनको कोलम राखेको पाइन्छ। रविन्द्रसँग प्रिन्टदेखि अनलाइनसम्मको अनुभव छ। अनलाइनमा कार्टुन बनाएर तत्कालै छाप्न सकिन्छ भने प्रिन्टमा कम्तीमा एक दिन कुर्नुपर्छ। ‘कार्टुन तत्कालै बन्दैन। अनलाइन मिडिया भन्दैमा तत्काल बनाइहाल्नु हुँदैन,’ उनी भन्छन्, ‘मैले हप्तामा दुई–तीनवटा मात्र बनाउँछु। कार्टुन बनाउनका लागि विषय फुर्नुपर्छ।’

उनलाई भेट्न हामी पुग्दा उनी ट्याबलेटमा कार्टुन कोर्न व्यस्त थिए। पहिले उनले कागजमा कार्टुन कोर्थे, अहिले ट्याबलेट प्रयोग गर्छन्। ‘कार्टुनको खाका पहिले कागजमा कोरेरे अनि ट्याबलेट तथा अन्य कम्प्युटरमा सार्ने गर्छु,’ उनले भने। प्राविधिक सहजतासँगै कलात्मक पक्षमा भने केही कमी आएको उनको अनुभव छ। 
 

प्रकाशित मिति: १६:१८ बजे, शुक्रबार, चैत ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्