Kathmandu Press

युवा कृषक : ‘फलानाको छोराले त्यत्रो पढेर पनि खेतीपाती गर्दै छ’

‘तरकारीमा सिँचाइको व्यवस्थापन गर्नका लागि अनुदान मिलेको छैन,’ ३० वर्षीय कृषक तिलक भन्छन्, ‘खेतीमा सिँचाइ आवश्यक हुन्छ । सरकारले सिँचाइको व्यवस्था गरिदिए सहज हुन्थ्यो ।’ 
युवा कृषक : ‘फलानाको छोराले त्यत्रो पढेर पनि खेतीपाती गर्दै छ’

काठमाडौं, चैत १० : स्नातकोत्तर सकेर गाउँ (बाजुरा) फर्केका तिलक जैसीले आफ्नै खेतमा खनजोत गर्न थाले । छरछिमेकमा कतिले चर्चा गर्थे— फलानाको छोराले त्यत्रो पढेर पनि केही गर्न नसकी खेतीपाती गर्दै छ । 

बुढीगंगा नगरपालिका– १०, सिंघाडाका तिलकले छरछिमेकीका नकारात्मक कुरा सुनेनन् । भन्नेले भन्दै गरे, उनले तरकारीखेती गर्दै गरे । बुढीगंगा नगरपालिकाले २०७७ असारबाट उत्कृष्ट ३७ कृषकलाई मासिक एक हजार रूपैयाँ पेन्सन दिँदै आएको छ, यसरी पेन्सन प्राप्त गर्ने उत्कृष्ट कृषकमा तिलक पनि पर्छन् । 

आज तिलकका लागि मासिक हजार रूपैयाँ पेन्सन केही होइन, वार्षिक रूपमा तिलकले १४–१५ लाख रूपैयाँ आम्दानी गर्छन् । उनका लागि उत्कृष्ट कृषकको सम्मान नै महत्वपूर्ण भएको छ । यसै वर्ष मात्र उनले एक लाख रूपैयाँ बराबरको आलु बिक्री गरिसके, अझै केही बाँकी आलु बिक्री भइरहेको उनी बताउँछन् । अहिले उनको बारीमा बन्दा, काउली तथा टमाटर लगायत तरकारी छन् ।

Hardik ivf

 नगरपालिकाले मासिक रूपमा दिने हजार रूपैयाँ पेन्सनले आफूलाई केही राहत र बढी ऊर्जा मिलेको उनी बताउँछन् । उनका अनुसार, नगरपालिकाबाट समय समयमा प्राविधिक सहयोग र बीउबिजनमा ५० प्रतिशतसम्म छुट मिल्दै आएको छ। 

खेतीका लागि अहिले उनले आफ्नो खेतदेखि करिब तीन सय मिटर टाढाको खोलाबाट पानी ल्याएका छन्, पाइपमार्फत । ‘तरकारीमा सिँचाइको व्यवस्थापन गर्नका लागि अनुदान मिलेको छैन,’ ३० वर्षीय कृषक तिलक भन्छन्, ‘खेतीमा सिँचाइ आवश्यक हुन्छ । सरकारले सिँचाइको व्यवस्था गरिदिए सहज हुन्थ्यो ।’ 

बुवाआमाले राखिदिएको जग

तिलकका बुवा भोला जैसीले सुरुमा बाजुराको सदरमुकाम मातर्डीमा होटल व्यवसाय गरेका थिए । घरदेखि होटल टाढा भएकाले आवतजावतमा समस्या थियो । अर्कोतिर कमाइजति घरभाडा तिर्नमै ठिक्क हुन्थ्यो । होटल व्यवसायबाट सोचेअनुरूप आम्दानी नभएपछि २०७४ मा भोलाले होटल व्यवसाय बन्द गरे र कुखुरापालन गर्न थाले । कुखुराबाट उत्पादित मलको व्यवस्थापनका लागि भोलाले कुखुरापालनको एक वर्षपछि आफ्नै आठ रोपनी जग्गामा तरकारीखेती सुरु गरेका थिए । यही बेला विश्वव्यापी रूपमा कोरोना महामारी फैलन थाल्यो । काठमाडौंको शंकरदेव क्याम्पसबाट भर्खरै स्नातकोत्तर गरेका तिलक लकडाउन हुने भएपछि गाउँ फर्के । 

घरमा उनका बुवाआमाले आठ रोपनीजति जग्गामा तरकारीखेती गर्दै आएका थिए । तिलकले बुवाआमालाई सघाउन थाले । ‘काम कुनै सानो हुँदैन । घरमा बुवाआमाको काम हेरेपछि अरुको नोकरी गर्नुभन्दा आफ्नै व्यवसायलाई विस्तार गर्नुपर्छ भन्ने सोच आयो,’ तिलक भन्छन्, ‘अहिले मेरो परिवार नै कृषिमा लागेका छौँ । मेरी श्रीमतीले पनि मास्टर सकाएकी छन् ।’ 

तिलकको परिवारमा पाँचजना छन्– तिलक, उनकी श्रीमती, बुवाआमा र बैनी । अहिले तिलकको परिवारले २० रोपनी जग्गामा तरकारीखेती र कुखुरापालन गर्दै आएको छ । अहिले उनीहरूको पोल्ट्री फर्ममा दुई हजार बोइलर कुखुरा छन् । 

बजार

उत्पादित तरकारी स्थानीय बजारदेखि अछामसम्म बिक्री हुने गरेको तिलक बताउँछन् । कुखुरा भने स्थानीय बजारसँगै अछाम हुँदै बझाङसम्मको बजारमा पुग्छ । ‘सुरुमा आठ रोपनी जग्गामा मात्रै तरकारीखेती थियो । तरकारीको बजार पनि त्यति थिएन । त्यसमाथि हामीलाई कृषिसम्बन्धी अनुभव थिएन,’ तिलक भन्छन्, ‘एक–दुई वर्ष त सिक्न र बजार बुझ्नै लाग्यो ।’

तिलकका बुवाले होटल व्यवसाय छाड्नुअघिसम्म परम्परागत शैलीमा खेती गर्दै आएका थिए । भर्खर तरकारीखेती सुरु गरेका उनीहरूलाई बिउबिजनदेखि मलको प्रयोगको ज्ञान थिएन । ‘तरकारीको बीउ कसरी राख्ने, कसरी बचाउने र कुन समयमा कसरी रोप्ने भन्ने पनि थाहा थिएन । बिस्तारै टेलिभिजनमा आउने कृषि कार्यक्रम हेर्न थालेँ,’ तिलक भन्छन्, ‘कुन खेती कसरी गर्ने भनी युट्युबमा सर्च गर्न थालेँ । यसरी नै आधुनिक खेती गर्ने तरिका सिकेँ ।’

योबीचमा उनले बजारको बारेमा पनि बुझे । त्यसपछि उनले मौसम अनुसारका र बजार बुझी तरकारी लगाउन थाले । ‘अनुभव सँगाल्दै जाँदा अहिले २० रोपनीमा तरकारीखेती गर्दै आएको छु,’ उनी भन्छन्, ‘कुखुरा गर्मी याममा कम बिक्री हुँदो रहेछ, जाडोमा बढी । त्यसैले कुखुरापालन पनि सोही अनुसार गर्ने गरेको छु ।’ 

भारतबाट मौसमी तरकारी आयात भएका बेला आफूले सस्तोमा बिक्री गर्नुपरेको वा बजार नपाउनेसम्मको समस्या भएको उनी बताउँछन् । ‘बेमौसमी तरकारी भने स्थानीय तथा अछामको साँफेबगर नगरपालिकाको बजारसम्म जान्छ,’ उनी भन्छन्, ‘रामै्र नाफा हुने गरेको छ । आफ्नै ठाउँमा केही गर्छु भन्ने सोच भएका मानिसलाई प्रशस्त सम्भावना छन् भन्ने मलाई लाग्छ ।’
 

प्रकाशित मिति: १२:२७ बजे, बिहीबार, चैत १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्