Kathmandu Press

म्यादी प्रहरीमा युवा : कोरोनाले रोजगार गुमेकादेखि भूतपूर्व सैनिकसम्म

म्यादी प्रहरीमा आवेदन दिनेको संख्या दैनिक करिब १३ सयको हाराहारीमा रहेको महानगरीय प्रहरी परिसरले जनाएको छ । 
म्यादी प्रहरीमा युवा : कोरोनाले रोजगार गुमेकादेखि भूतपूर्व सैनिकसम्म

काठमाडौं, चैत ९ : पहेँलो रङको टिसर्ट लगाएकी रश्मिला (नाम परिवर्तन), जसले एक हातले १४ महिनाको बच्चा च्यापेकी थिइन्, अर्को हातमा थियो– ‘फारम’ लेखिएको खैरो रङको फाइल । उनीहरुकै सेवामा तैनाथ प्रहरीले उनलाई विशेष प्राथमिकताका साथ आवश्यक प्रक्रियाका लागि सघाइरहेका थिए । उनी पनि प्रहरीले भनेबमोजिम एकपछि अर्को लाइनमा उभिइन् । 

आइतबार टेकुस्थित महानगरीय प्रहरी परिसरमा देखिएको दृश्य हो यो । म्यादी प्रहरीका लागि आवेदन खुलेसँगै यहाँ फारम भर्नेको भीड छ । सोही भीडको एक पात्र हुन् रश्मिला, नाम नखुलाउने सर्तमा उनले भनिन्, ‘म्यादी प्रहरीका लागि मेरो श्रीमान् पनि आउनुभएको छ ।’ 

म्यादी प्रहरीका लागि फाराम भरिरहेका युवतीहरु

Hardik ivf

विगत १० वर्षदेखि काठमाडौंको गोलढुंगा बस्दै आएका यी दम्पती आफूहरुमध्ये एकको नाम निस्कने आशामा छन् । नाम नखुलाउने सर्तमा रश्मिलाका श्रीमान्ले भने, ‘पहिला गाडी भाडामा चलाउँथेँ, कोरोनापछि खासै फाइदा भएन । यहाँ नाम निस्क्यो भने केही हुन्छ कि भनेर हामी दुवै आएका हौँ ।’
यी दुवै दम्पती अहिले उमेरले २५ पुगे । १८ वर्षको उमेरमा विवाह यी दम्पतीले एसएलसीसम्मको शिक्षा हासिल गरेका छन् । ‘यसमा सेलेक्ट भएँ भने काम गर्न गाह्रो त हुन्छ, तर के गर्नु पैसाको अभाव छ । केही न केही गर्नैप¥यो,’ रश्मिलाले भनिन्, ‘हामी सेलेक्ट भयौँ भने अलि समयका लागि आमाबुबाले बच्चा हेरिदिनु हुन्छ ।’

जनकपुरका सागर ठाकुर र उनका भाइ सचिनकुमार ठाकुर पनि म्यादी प्रहरीको फारम भर्ने लाइनमा उभिएका थिए । विगतमा शिक्षण पेसामा लागेका २४ वर्षका सागर अहिले भने वैदेशिक रोजगारीमा जाने तयारीमा छन् । ‘यहाँ बसेर केही हुँदैन । वैदेशिक रोजगारीका लागि तयारी गर्दै छु,’ उनी भन्छन्, ‘वैदेशिक रोजगारीको तयारी पूरा नहुन्जेल यहाँ पनि फर्म भर्दै गरौँ भनेर आएको ।’

सचिनकुमार ठाकुर

१८ वर्षीय सचिनकुमार अहिले नेपाल पुलिस स्कुल, साँगामा कक्षा १२ मा पढ्दै छन् । उक्त स्कुलमा पढेको भएरै आफ्ना लागि यो थप तालिम एवं अनुभव बटुल्ने मौका भएको उनी बताउँछन् । ‘खासमा मेरो इन्टरेस्ट भनेको राजनीति गर्ने हो । तर अहिले यहीसँग सम्बन्धित पढाइ भइरहेको हुँदा फारम भर्न आएको हुँ,’ उनी भन्छन् ‘अहिलेसम्म त मेरो विदेश जाने कुनै सोच छैन । जे गर्छु नेपालमै गर्छु ।’

म्यादी प्रहरीको आवेदन दिनका लागि १८ वर्षदेखि ५४ वर्षसम्मको उमेर हद तोकिएको छ । फारम भर्नका लागि बसेको लाइनमा सामान्य रूपमा हेर्दा युवायुवतीको संख्या बढी देखिन्छ । कतिपय सरकारी जागिरबाट अवकाशप्राप्त व्यक्ति पनि फर्म भर्न आएका थिए । काठमाडौं चावहिलका ३८ वर्षीय केशर थापा भूतपूर्व नेपाली सेना हुन् । नेपाली सेनामा १८ वर्ष सेवा गरेका थापाले गएको मंसिरमा अवकाश पाएका थिए । नेपाली सेनाको अहिलेको नियम अनुसार, सेवाको १६ वर्षपछि अवकाश लिन पाइन्छ तर सेवाको २० वर्ष कटेपछि मात्र पेन्सन पाउने व्यवस्था छ । बीचको चार वर्ष अवकाश लिने व्यक्तिले तलब र पेन्सन दुवै पाउँदैनन् ।

म्यादी प्रहरीका लागि आवेदन दिन आएका भूतपूर्व सैनिक केशर थापा

यही व्यवस्थालाई मध्यनजर गर्दै केशरले सेवाको १८ वर्षमा अवकाश लिई दुई वर्षका लागि वैदेशिक रोजगारीमा जाने निधो गरेका थिए । ‘रिटायर्ड सुरक्षाकर्मीलाई प्राथमिकतामा राखेर छनोट हुने सुनेकाले म्यादी प्रहरीको फारम भर्न आएको हुँ । यसै पनि खाली बस्नुपर्छ । आम्दानीको अन्य स्रोत छैन,’ उनी भन्छन्, ‘४० कटेपछि वैदेशिक रोजगारीमा जान पाइँदैन । त्यसैले अहिले नै बाहिरका लागि पनि आवेदन दिएको छु ।’ 

यस्तै ३८ वर्षका दीपक अधिकारी अर्घाखाँचीदेखि म्यादी प्रहरीमा आवेदन दिन आएका छन् । उनी विगतमा कृषि पेसामा थिए । कृषि पेसामा भविष्य नदेखेपछि म्यादी प्रहरीमा आवेदन दिनकै लागि काठमाडौं आएको उनी बताउँछन् । अहिले कलंकीमा रहेका आफ्ना दाइभाउजुसँग बस्दै आएका दीपकले भने, ‘पहिले धेरै समय रोजगारीका लागि भारत पनि बसेँ । कोरोनाका बेला घर फर्किएँ । अहिले छनोटमा परिएछ भने ठीकै छ । नभए अन्य कुनै उपाय खोज्नुपर्ला ।’

अर्घाखाँचीका दीपक अधिकारी

सरकारले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एक लाख १८ हजार २३१ म्यादी प्रहरी भर्ना गर्ने तयारी थालेको छ । म्यादी प्रहरीका लागि आगामी वैशाख ११ गतेसम्म दर्खास्त दिन सकिनेछ । आवेदन दिनेहरूको संख्या भने दैनिक करिब १३ सयको हाराहारीमा रहेको महानगरीय प्रहरी परिसरले जनाएको छ । 

यस्तै, छनोट भएका म्यादी प्रहरीलाई सात दिन तालिम दिएर खटाउने सरकारको तयारी छ । म्यादी प्रहरीले दिनको ७ सय ५६ रुपैयाँका दरले तलब पाउनेछन् भने ४० दिनको ७ हजार रुपैयाँ रासनभत्ता, पोसाक भत्ता ६ हजार र एक हजार रुपैयाँ यातायात खर्च उपलब्ध गराइने बताइएको छ ।  
 

प्रकाशित मिति: १२:१५ बजे, बुधबार, चैत ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्