Kathmandu Press

‘अध्यक्षको प्रतिवेदनमा वाम एकताको विषय पनि समेटियोस् भन्ने चाहन्छौँ’

कुन पार्टीसँग एकता गर्ने वा नगर्ने भन्ने विषयमा हामी गएका छैनौँ । अध्यक्षको प्रतिवेदन आएपछि ती विषयमा बहस हुने हो । 
‘अध्यक्षको प्रतिवेदनमा वाम एकताको विषय पनि समेटियोस् भन्ने चाहन्छौँ’

देश स्थानीय तहको चुनावको मुखमा छ । यहीबेला देशका कम्युनिस्ट पार्टीहरू टुक्रा–टुक्राको अवस्थामा छन् । चुनावले नतिजा नदिँदासम्म कुन सानो टुक्रो र कुन अलि ठूलो टुक्रो भनी यसै भन्न सकिँदैन । हिजो तत्कालीन एमाले र माओवादी मिलेर ‘नेपाल कम्युनिस्ट पार्टी’ बनी दुईतिहाइको सरकार समेत बनेको थियो । अनेक आरोप–प्रत्यारोप हुँदै प्रतिनिधिसभाको विघटनसम्म पुगेर त्यो सरकार ढल्यो, ठूलो पार्टी तीन टुक्रा हुन पुग्यो, यद्यपि नेताहरूको अहं टुक्रिएको छैन । 

चुनावका बेला गठबन्धन गर्ने वा एकता गर्ने नेपालका पार्टीहरूको पुरानै प्रवृत्ति हो । आसन्न चुनावलाई लक्षित गरी अहिले वाम एकता वा गठबन्धनको चर्चा चलेको छ । नेकपा एमालेको सोमबार बसेको पोलिटब्युरो बैठकमा ठाकुर गैरे लगायत नेताले वाम एकताको प्रस्ताव गरेका थिए । यसै सन्दर्भमा एमालेका पोलिटब्युरो सदस्य ठाकुर गैरेसँग काठमाडौं प्रेसकर्मी विष्णु विश्वकर्माले गरेको वार्ताको सम्पादित अंश :  

हिजोको पोलिटब्युरो बैठकमा कुन कुन विषयमाथि छलफल भयो ? 

Hardik ivf

केन्द्रीय कमिटीको बैठक ९ र १० गते बस्दै छ, त्यसमा एजेन्डा के–के बनाउने भन्ने विषयको छलफल भयो । चुनावको तयारीको विषय केन्द्रीय कमिटीमा छलफल गर्ने भन्ने निर्णय हिजोको बैठकमा भएको छ । बैठकले केन्द्रीय कमिटीको बैठकको एजेन्डा तय गरेको छ । खासगरी अहिलेको अवस्था, चुनावको तयारी आदिबारे देशभरिको रिपोर्टिङ हुनेछ । त्यसपछि अध्यक्षको तर्फबाट अहिलेको समग्र अवस्थाको विश्लेषणसहितको राजनीतिक प्रतिवेदन प्रस्तुत हुन्छ । स्थानीय तहको चुनावमा उम्मेदवार छनोटको मापदण्ड, त्यसको निर्णय प्रक्रिया के हुने भन्ने विषयमा पनि छलफल हुनेछ । 

छलफलमा यहाँ लगायतका नेताले वाम एकताको प्रस्ताव गर्नुभएको समाचार छ, खासमा के हो ? 

त्यो छलफलको विषय त थिएन, तर अध्यक्षले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा ती विषय समेटिएर आउनुपर्छ भनेका हौँ । सामान्य कुरा मात्रै भएको हो । अध्यक्षको प्रतिवेदनमा वाम एकताको विषय पनि समेटियोस् भन्ने चाहना हो ।

वाम एकताको आवश्यकताका बारेमा तपाईंको प्रस्तावमा अध्यक्षले कस्तो रेस्पोन्स गर्नुभयो ? 

यस सम्बन्धमा उहाँले राजनीतिक प्रतिवेदनमा समेट्ने भन्नुभएको छ । त्यसपछि मात्रै तालमेल र एकताको विषयमा छलफल गरौँ भन्नुभयो ।

एमाले विभाजनपछि मूल पार्टीमै रहने यहाँ लगायतको एउटा छुट्टै समूह छ, जसले नेतृत्वभन्दा फरक मत राख्दै आएको छ । यसबाट एमाले अझै एकताबद्ध छैन भन्ने बुझ्न मिल्छ कि मिल्दैन ? 

कुनै समूह भन्ने विषय अझैसम्म उठेका छैनन् । पहिलो कुरा अध्यक्षको राजनीतिक प्रतिवेदन पेस भएकै छैन । प्रतिवेदनमा कुन कुन विषय कसरी आउँछन्, त्यसपछि मात्रै छलफल हुन्छ । अध्यक्षको राजनीतिक प्रतिवेदन सम्बन्धमा हिजो केही छलफल भएको हो । वाम एकता आवश्यकताको विषयमा आजै मेलमिलाप सम्भव छ वा छैन, अथवा स्थानीय स्तरमा तालमेल गरेर जान के गर्नुपर्छ भन्नेजस्ता विषयमा सिसिएमहरूका धारणा प्रस्तुत भएका छन् । यी सबै विषय अध्यक्षको प्रतिवेदन आइसकेपछि त्यसमा छलफल भएर निर्णय हुन्छ । 

एमालेले वाम एकताको ढोका खुला राख्नुपर्छ भन्ने तपाईंको धारणा रहँदै आएको छ, त्यो भनेको माओवादी केन्द्र र एकीकृत समाजवादीसहित हो कि, यी दुईबाहेक अन्य वामपन्थी दलबीचको एकता भन्नुभएको ?

मैले कुनै पार्टीविशेषको कुरा गरेको होइन । कुन पार्टीसँग एकता गर्ने वा नगर्ने भन्ने विषयमा हामी गएका छैनौँ । यो त अध्यक्षको प्रतिवेदन आएपछि मात्रै बहस हुने हो । 

एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकताको सम्भावना छ ?

पार्टीका आ–आफ्नै मिटिङ चलिरहेकै छन् । सबैले आ–आफ्नो पोजिसन क्लिअर गरिसकेका छैनन् । सत्तारुढ दलको गठबन्धन छँदै छ । ती दलसँगको तालमेल र एकताको सम्भावना कति छ भन्ने कुरा अध्यक्षको प्रतिवेदन आएपछि मात्रै सार्वजनिक हुन्छ । केन्द्रीय कमिटी बैठकले त्यसमा छलफल र विमर्श गर्छ । 
 
स्थानीय तहको निर्वाचनका लागि एमालेले उम्मेदवारको टुंगो कसरी लगाउँछ ? 

वडा सदस्य र वडाध्यक्षहरूको निर्णय गाउँपालिका कमिटीको सिफारिसमा जिल्ला कमिटीले गर्ने, अध्यक्ष–उपाध्यक्ष तथा मेयर–उपमेयरको निर्णय जिल्ला कमिटीको सिफारिसमा प्रदेशले गर्ने भन्ने प्रस्ताव आएका छन् । त्यसमा उम्मेदवारको मापदण्ड कस्तो बनाउने भन्ने विषय पनि छ । जनपरिचालन, प्रचारप्रसार, पार्टी प्रवेशको समग्र विषय समेटिएको प्रतिवेदन आउँछ र त्यो पनि केन्द्रीय कमिटीमा छलफल भएर निर्णय हुन्छ । हिजो बैठकमा केन्द्रीय कमिटीमा लैजाने प्रस्ताव के हो भन्नेबारे मात्र छलफल भएको हो । 

आगामी निर्वाचनका लागि तालमेल नभएको अवस्थामा गठबन्धनसँग लड्न एमाले कतिको सक्षम छ ? 

देशभरि कार्यकर्ताको परिचालन, जनताको आकर्षण, पार्टी प्रवेशको लहर हेर्दा एमाले एक्लै चुनाव लडेर जित्न सक्छ भन्ने देखिएको छ । यसअघि नै हामीले गठबन्धनसँग एक्लै चुनाव लड्न तयार छौँ भन्दै आएका हौँ । कुनै पार्टीसँग तालमेल नभएको अवस्थामा पनि एमाले सहज ढंगले जनतामा जान्छ र एक्लैले चुनाव लडेर जित्छ । 

चुनावमा पराजित हुने डरले नै तपाईंहरूले वाम एकताको प्रस्ताव गर्नुभएको हो ? 

देशभर हामीले नै चुनाव जित्छौँ भन्ने पार्टीको निष्कर्ष छ । डराउने भन्ने विषय रहँदैन । एकता र तालमेल अर्को पाटो हो ।

यसअघिको चुनावमा एमालेले राप्रपासँग पनि तालमेल गरेको थियो, अहिले कस्तो सम्भावना छ ? 

त्यसबारेमा अहिले नै भनिहाल्ने अवस्था छैन । तर एमालेविरुद्ध जुन गतिविधि भइरहेका छन्, त्यसलाई परास्त गर्नुपर्छ भन्ने लाइन हो । एमालेविरुद्ध भएको गठबन्धनलाई पराजित गर्नु नै एमालेको अहिलेको मुख्य उद्देश्य हो ।

आगामी स्थानीय तहको निर्वाचनमा एमालेले कस्ता एजेन्डा जनतामा लैजाने तयारी गरेको छ ? 

कम्युनिस्ट पार्टीको घोषित लक्ष्य, उद्देश्य र समाजवादका आधार तयार गर्ने सम्बन्धमै हामी केन्द्रित रहन्छौँ । हाम्रा दृष्टिकोणलाई जनताको बीचमा लिएर जानेछौँ । केन्द्रीय कमिटीको बैठकबाट घोषणापत्रको तयारीमा लाग्नेछौं । केन्द्रको घोषणापत्र हुन्छ भने स्थानीय तहमा प्रतिबद्धतापत्र हुन्छ । त्यसमा हामीले नेकपा एमालेको घोषित लक्ष्य, उद्देश्य र कार्यदिशा समेट्नेछौं । विकासका एजेन्डासँगै प्रगतिशील सुधार, श्रमजीवी, सर्वहारा, किसान र गरिखाने समुदायका एजेन्डालाई प्राथमिकतामा राखेर जान्छौँ । 
 

प्रकाशित मिति: १३:०५ बजे, मंगलबार, चैत ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्