Kathmandu Press

२० वर्षपछि भक्तपुरबाट राष्ट्रिय टिममा अञ्जली

१७ वर्षीया अञ्जली अहिले नेपालको राष्ट्रिय टिममा छनोट भई ‘साफ यु १८ वुमेन च्यान्पियनसिप’का लागि भारतको जम्सेदपुरमा छन् । नेपालले दुई खेल खेलिसक्दा अञ्जलीले डेब्युको मौका भने पाएकी छैनन्।
२० वर्षपछि भक्तपुरबाट राष्ट्रिय टिममा अञ्जली

काठमाडौं, चैत ७ : कक्षा ६ मा पढ्दा अञ्जली मचामसीले फुटबलको तालिम लिने अवसर पाइन् । उनका प्रशिक्षक थिए– भक्तपुर नगरपालिकाका फुटबल प्रशिक्षक इन्द्रप्रसाद राजलवत र भक्तपुर जिल्ला फुटबल संघका प्रशिक्षक धनेश्वर प्रजापति । तालिमसँगै जब अञ्जलीले गुडिरहेको बललाई खुट्टाले आफ्नो नियन्त्रणमा लिन, प्रतिस्पर्धी खेलाडीबाट छलाउन र आफूले चाहेको स्थानतिर प्रहार गर्न सिकिन्, तब फुटबलमा उनको रुचि बढ्न थाल्यो । 

त्यतिबेला अञ्जली लगायत २० जनाले फुटबलको तालिम लिएका थिए, तालिम लिनुको खास उद्देश्य थियो । सन् २०१७ मा ‘चाइल्ड रिच नेपाल’ नामक एन्जिओले सिन्धुपाल्चोकमा अन्तर जिल्ला फुटबल प्रतियोगिता गर्दै थियो । भक्तपुरको सूर्यविनायक नगरपालिका– ८ स्थित गणेश माविका तत्कालीन प्रधानाध्यापक रविन्द्र थापाले आफ्ना छात्रालाई सो प्रतियोगितामा पठाउने निधो गरे । त्यसपछि गणेश माविका अञ्जली लगायत २० छात्राछात्रलाई फुटबलको प्रशिक्षण दिइएको थियो । 

त्यस प्रतियोगिताबाट गणेश माविका विद्यार्थीले अनुभव लिए र दोस्रो वर्षको म्याच उनीहरूले जिते । त्यसयता अञ्जलीको फुटबल यात्राको रफ्तार तीव्र छ । यु १४, यु १६ गर्दै अहिले अञ्जली यु १८ को राष्ट्रिय टिममा छनोट भएकी छन् । प्रशिक्षाक इन्द्रका अनुसार, अञ्जलीसँगै आएका अन्य छात्राको पनि खेल राम्रो थियो । तर परिवारको साथ सहयोग नपाउने, विद्यालयको समय नमिल्ने, घरायसी समस्या, खेलप्रतिको कम आकर्षण लगायत कारण उनीहरूले खेल्न छाडे ।

Hardik ivf

१७ वर्षीया अञ्जली अहिले नेपालको राष्ट्रिय टिममा छनोट भई ‘साफ यु १८ वुमेन च्यान्पियनसिप’का लागि भारतको जम्सेदपुरमा छन् । नेपालले दुई खेल खेलिसक्दा अञ्जलीले डेब्युको मौका भने पाएकी छैनन्। लगातार दुई हारसँगै नेपाल उपाधि हाेडबाट लगभग बाहिरिसकेकाे छ।

तस्बिर : सुजल बज्राचार्य

चावहिलको मनास्लु वल्र्ड कलेजमा कक्षा १२ मा अध्ययनरत अञ्जलीलाई फुटबल खेल्न परिवारले सपोर्ट छ । अञ्जली भन्छिन्, ‘घरमा मैले जे काम गरे पनि आफ्नो शतप्रतिशत दिनु भन्नुहुन्छ । राष्ट्रिय टिममा छनोट हुँदा मभन्दा बढी परिवार खुसी हुनुहुन्थ्यो ।’

घरपरिवारले सपोर्ट गरे पनि सुरुमा समाजले खासै राम्रो रूपमा नहेरेको अञ्जलीको अनुभव छ । उनी भन्छिन्, ‘खेल्दै जित्दै यहाँसम्म आइपुग्दा अहिले सबैले प्रशंसा गर्नुहुन्छ ।’ 

भक्तपुरबाट २० वर्षपछि महिला च्यान्पियनसिपका लागि राष्ट्रिय टिममा उनी छनोट भएकी हुन् । यसअघि २०५८ मा भक्तपुरको प्रतिनिधित्व गर्दै इन्दु दुवाल लगायत सात महिला एकैपटक राष्ट्रिय टिममा छनोट भएका थिए । ‘त्यतिबेला हामी पनि खेलाडी नै थियौँ । एकैपटक इन्दुसँगै अन्य ५ महिला राष्ट्रिय टिममा छनोट भएका थिए,’ अहिले प्रशिक्षक रहेका इन्द्रप्रसाद राजलवत भन्छन्, ‘त्यो दिन हाम्रा लागि निकै महत्वपूर्ण थियो । हामी धेरै खुसी भएका थियौँ ।’

त्यसपछिका २० वर्षसम्म भक्तपुरबाट खेलाडी महिला राष्ट्रिय टिमसम्म पुग्न सकेनन् । अञ्जलीसँगै तालिममा आएका तर विभिन्न कारण खेल्न छाडेका छात्रालाई अहिले अफसोस भइरहेको प्रशिक्षक राजलवत बताउँछन् । ‘जेहोस् अञ्जली राष्ट्रिय टिममा छनोट हुँदा धेरै खुसी छु,’ उनले भने, ‘आगामी दिनमा अझै राम्रो गर्ने प्रतिभा उनीसँग छ ।’

प्रशिक्षक इन्द्रप्रसाद राजलवत र अञ्जली

भक्तपुरमा फुटबलको तालिम जगातीस्थित महेश्वरी खेल मैदानमा दिइन्छ । विगतको तुलनामा महेश्वरी खेल मैदानमा प्रशिक्षण लिन आउनेको संख्या निकै कम भएको प्रशिक्षक राजलवत बताउँछन् । ‘कोरोनाअघि महिला र पुरुष गरी करिब ६० विद्यार्थी फुटबलको तालिम लिन यो मैदानमा आउँथे । अहिले नियमित रूपमा जम्मा १३ विद्यार्थी आउँछन्, जसमा मात्र तीन महिला छन्,’ उनी भन्छन्, ‘धेरैलाई यहाँ ट्रेनिङ हुन्छ भनेरै थाहा छैन । बच्चालाई पढाइ र खेलबीच सन्तुलन मिलाउन गाह्रो छ । बच्चाहरूमा मोबाइलप्रतिको मोह र आलस्यता बढेको देख्छु ।’

पढाइलाई जसरी खेलमा पनि क्यालेन्डर तयार गरी दैनिकीमा लागू गर्ने हो भने बालबालिकाको स्वास्थ्य राम्रो हुनुका साथै राम्रा खेलाडी उत्पादन हुने प्रशिक्षक राजलवत बताउँछन् । 

केटा र केटीलाई सँगै प्रशिक्षण

अञ्जली र उनीसँग आएका छात्रालाई छात्रसँगै फुटबलको अभ्यास गराइएको अर्का प्रशिक्षक धनेश्वर बताउँछन् । ‘छात्रसँग अभ्यास गर्दा छात्रामा मनोबल बढ्छ,’ उनले भने, ‘अञ्जलीको ब्याचमा महिला खेलाडी कम थिए । उनीहरूले कुनै पनि च्यालेन्ज सजिलै फेस गर्न सकून् भनेर पुरुष खेलाडीसँग प्राक्टिस गराउँथ्यौँ । यसैले उनले अन्तरनगर खेलमा राम्रो खेलेकी थिइन् । त्यसो त सुरुवाती चरणदेखि नै अञ्जलीको खेल राम्रो थियो ।’

प्रशिक्षक धनेश्वरसँग अञ्जली।

सन् २०१८ मा अञ्जली लगायतलाई यु १४ को ट्रायलमा लगिएको थियो । त्यतिबेला सिम्रन बस्नेत र अञ्जली छनोट भएका थिए । ‘यु–१६ मा ३० जनाभित्र दुवै छानिए तर २३ जनाभित्र परेनन्,’ उनी भन्छन्, ‘त्यसपछि पनि निरुत्साहित नभई तालिमलाई निरन्तरता दियौँ । केही समयअघि उनले वुमेन अफ द म्याच हात पारिन् । त्योभन्दा अघि उनलाई एपिएफमा पठाएका थियौँ ।’

यसअघि एन्फाबाट अञ्जलीलाई यु १९ का लागि ‘क्लोज क्याम्प’मा छनोट गरिएको थियो । तर, ३० जनाभित्र पर्न असफल भइन् । ‘फेरि पनि उनलाई हिम्मत नहार्न र तालिमलाई निरन्तरता दिन भन्यौँ,’ प्रशिक्षक धनेश्वर भन्छन्, ‘जसको प्रतिफल अहिले देखिँदै छ । धेरैपटक राष्ट्रिय टिममा छनोट नहुँदा उनी निरुत्साहित भइनन् । मैले उनलाई हौसला दिँदै क्लोज मनिटरिङ गर्दै गएँ ।’ 

प्रशिक्षक धनेश्वरका अनुसार, एकपटक सेलेक्सनमा नपरेपछि कतिपयले हिम्मत हारेर फुटबल क्षेत्र नै छाड्छन् । अञ्जली भने आफ्नो कमजोरीलाई पहिचान गरी सुधार्दै अघि बढिन् । 

इन्दुको अनुभव

०५८ मा इन्दु दुवाल राष्ट्रिय टिममा छनोट भई चीनमा गएर खेलेकी थिइन् । उनीसँगै आएका टिमका अन्य महिला खेलाडी अरु नै क्षेत्रमा लागे । ३६ वर्षीया इन्दुले अझै फुटबललाई निरन्तरता दिइरहेकी छन् । इन्दुका बुबा राम दुवाल भलिबल लगायत अन्य एथ्लेटिक्स खेलमा पनि सक्रिय थिए । 

बुबाको प्रेरणा एवं परिवारको साथ र सहयोगबाटै उनी कक्षा ५ पढ्दादेखि फुटबलमा लागेकी थिइन् । त्यतिबेला अन्य एथ्लेटिक्स खेलका प्रतियोगिता आयोजना भए पनि फुटबलको खासै हुँदैनथ्यो । श्री पद्म माविमा महिला फुटबल प्रतियोगिता आयोजना हुँदा इन्दुले पहिलोपटक भाग लिएकी थिइन् । ‘त्यो बेला म एथ्लेटिक्समा भाग लिन्थेँ । त्यतिखेर हाम्रो करिब ३० जनाको टिम थियो,’ उनी भन्छिन्, ‘महिलाका समस्या त्यही हो ! विवाह, घरबाट सपोर्ट नगर्ने लगायत कारण अरुले निरन्तरता दिन सकेनन् ।’ 

राष्ट्रिय टिममा भक्तपुरलाई प्रतिनिधित्व गर्न आफूपछि अञ्जली छनोट भएकामा इन्दु खुसी व्यक्त गर्छिन् । ‘यसले अन्य खेलाडीलाई प्रोत्साहन मिल्छ,’ उनले भनिन् । 

२० वर्षअघि भक्तपुरबाटै राष्ट्रिय टिममा प्रतिनिधित्व गरेकी इन्दु दुवालसँग अञ्जली ।

इन्दुले पनि अहिले महिला खेलाडीको टिम बनाउँदै छन् । १६ महिला खेलाडीबाट सुरु गरेको उनको टिममा अहिले १० जना मात्र बाँकी छन् । अञ्जली राष्ट्रिय टिममा छनोट हुँदा आफ्नो टिमलाई प्रोत्साहन मिलेको इन्दु बताउँछिन् । आगामी दिनमा आफ्नो टिममा खेलाडीको संख्या वृद्धि हुने उनको विश्वास छ । ‘इच्छा हुँदाहुँदै पनि मैले राम्रोसँग खेल्न पाइनँ । अब भक्तपुरका बहिनीले त्योबाट वञ्चित हुनु नपरोस् भनेर कोचको लाइसेन्स लिने तयारीमा पनि छु,’ इन्दु भन्छिन्, ‘टिम मात्र बनाएर हुँदैन, प्रतियोगितामा सहभागी हुन पाउनुपर्छ । भक्तपुरमा खेलका लागि सपोर्ट पाउन गाह्रै छ । सुरुमा समाज र परिवारबाटै सपोर्ट पाउन गाह्रो छ । सपोर्ट पाए पनि एसोसिएसनको प्यानल मिल्दैन, पोलिटिक्स पनि धेरै हुन्छ ।’

केही समयअघि आयोजित उपमेयर कप प्रतियोगितामा सहभागी हुनका लागि इन्दुलाई मेयरको हस्ताक्षर आवश्यक थियो । हस्ताक्षरका लागि आफूूले धेरैपटक नगरपालिका धाउनुपरेको गुनासो इन्दुको छ । उनी भन्छिन्, ‘मैले फुलबललाई निरन्तरता दिन जति संघर्ष भोगेँ, अब आउने खेलाडीले त्यो भोग्न नपरोस् ।’ 

इन्दु अन्तर स्कुल, अन्तर जिल्ला हुँदै राष्ट्रिय टिममा पुगेकी थिइन् । ट्रेनिङ नहुने, प्रतियोगिता पनि आयोजना नगर्ने लगायत कारण महिला खेलाडी घट्दै गरेको अनुभव इन्दु सुनाउँछिन् । ‘त्यति बेला फुटबल खेलेर केही होला जस्तो थिएन । सन् २००४ मा यु १९ सम्म पुग्दा भक्तपुरबाट म मात्र बाँकी भएँ,’ उनी भन्छिन्, ‘यु १९ का लागि छनोट हुँदा भक्तपुरमा यो सूचना प्रवाह हुँदैनथ्यो । यु १६ मा राम्रै खेलाडी भएका कारण मलाई एन्फाबाट डाइरेक्ट फोन आएको भएर मात्र थाहा भयो । सूचना प्रवाह नभएकै कारण अरु साथी सहभागी हुन पाएनन् । यसको जिम्मा एसोसिएसन र नगरपालिकाले लिनुपर्ने हो ।’

‘व्यवस्थित योजना भएन’

प्रशिक्षक धनेश्वर व्यवस्थित योजना तयार पार्न नसकिएका कारण भक्तपुरबाट राष्ट्रिय स्तरका खेलाडी महिला उत्पादन हुन नसकेको बताउँछन् । ‘पूर्वाधारको कमी र प्रतियोगिता खासै आयोजना नहुने कारण खेलाडीले तालिम मात्र लिन चाहँदैनन् । अहिले भने उनी आशावादी छन् । ‘विगतको तुलनामा अहिले फुटबलमा स्कोप छ । प्रतियोगिता पनि पहिलाभन्दा धेरै हुन थालेको छ,’ उनी भन्छन् । 

प्रशिक्षक इन्द्रका अनुसार, राष्ट्रका लागि खेल्ने इच्छा भएका धेरै छन् । तर, उनीहरूले व्यवस्थापन र उचित प्लेटफर्म पाएका छैनन् । ‘यसअघिको उपमेयर कप भक्तपुरमा आयोजना नगरेको भए अञ्जलीले अन्य जिल्लाबाट खेल्नुपर्ने हुन्थ्यो,’ उनी भन्छिन्, ‘भक्तपुरमा यस्ता प्रतियोगिता आयोजना भइरहने हो भने खेलाडीले उचित प्लाटफर्म पाउने उनको विश्वास छ ।’

अञ्जलीले सामाजिक सञ्जालको एउटा पेजमा देखिन्, ‘२० वर्षपछि भक्तपुरको महिला फुटबल खेलाडी राष्ट्रिय टिममा छनोट... ।’ जसमा उनकै तस्बिर थियो । अञ्जलीलाई खेलसम्बन्धी भक्तपुरको यो इतिहास त्यति सम्झना थिएन, सामाजिक सञ्जालमा देखेपछि आफूलाई थप हौसला मिलेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘राष्ट्रका लागि खेल्ने एकदम ठूलो इच्छा छ, त्यसका लागि पनि मिहिनेत गर्छु ।’ 

केही समयपछि नेसनल लिग हुन लागेको र आफू ललितपुरबाट खेल्न लागेको अञ्जलीले जानकारी दिइन् । 
 

प्रकाशित मिति: १२:२७ बजे, सोमबार, चैत ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्