‘फूलको आँखामा पाँच–सात मिनेटमै सिर्जना भएको थियो’
काँडा र फूलसँगै हुन्छन्, फूलको आफ्नै संसार छ, काँडाको बेग्लै। उनी भन्छन्, ‘काँडाले फूलको रक्षा पनि गर्छ।’फूलको आँखामा फुलै संसार,
काँडाको आँखामा काँडै संसार।
जीवन र जगतप्रतिको सकारात्मक दृष्टिकोण बोकेका यी शब्द जनकवि दुर्गालाल श्रेष्ठका हुन्। अधिकांश गीत गायकको नामबाट बढी चिनिन्छन्, तर यो यस्तो गीत हो, जसमा गीतकारको नाम पनि उत्तिकै चर्चामा छ।
आनी छोइङ डोल्माको स्वर र न्ह्यु बज्राचार्यको संगीत रहेको यस गीतलाई नेपाली संगीतलाई माया गर्ने अधिकांशले सुनेको हुनुपर्छ, यो गीत बजारमा आएदेखि चर्चामा छ। स्वर, शब्द र संगीतको त्रिवेणी यो गीतका शब्दले सकारात्मक र आध्यात्मिक चिन्तनको वकालत गर्छन्। यति सुन्दर गीत कसरी लेखियो होला ? त्यही जान्न गत बुधबार समय लिएर हामी गीतकार श्रेष्ठको निवास बुढानीलकण्ठ पुगेका थियौँ।
उनी हामीलाई आफ्नो कोठाको झ्यालबाट चियाउँदै रहेछन्। झ्यालको छेउमा बसेर बाहिरफेर प्रकृति नियाल्न उनलाई मन पर्दो रहेछ। यही परिवेशले उनलाई फूल अर्थात् प्रकृतितिर डोर्याएको छ।
‘फूलको आँखामा’ गीत लेखिएको परिवेश भन्ने भिन्न छ। यस गीतका संगीतकार न्ह्युका पिता दुर्गालालका साथी थिए। यही सम्बन्धले पनि न्ह्युले दुर्गालाललाई खोज्छन्। त्यसमाथि दुर्गालालको कवि व्यक्तित्वको कुरै भएन। दुर्गालाल भन्छन्, ‘उसलाई गीत चाहियो भने फोन गरेर आउँछ।’ कलम चलाउँदा दुर्गालालका हात काम्छन्, त्यसैले कलम र कापी पनि न्ह्युले नै लैजान्छन्। दुर्गालाल भन्छन्, ‘म भनिदिन्छु, ऊ लेख्छ।’
‘फूलको आँखामा’ लेख्ने बेला पनि न्ह्यु फोन गरेर दुर्गालालको घरमा पुगे। प्रायः एक्लै जाने न्ह्यु त्यस दिन एक महिलालाई पनि लिएर गएका थिए, जो गायिका आनी छोइङ डोल्मा थिइन्। आनीले चिबर धारण गरेकी थिइन्, शिरमा कपाल थिएन। यसअघि आनी छोइङसँग दुर्गालालको व्यक्तिगत चिनजान थिएन। आनीको परिचय दिँदै न्ह्युले भनेछन्– मसँग एउटा मेलोडी छ, यसलाई गाउने आनीको इच्छा छ।
‘मेलोडी सुन्ने क्रममा मेरा आँखा अन्यमयस्कै आनी छोइङ डोल्मामाथि परेका रहेछन्। आनीलाई मैले आनीजस्तो देखिनँ, एउटा वृक्षजस्तो पाएँ,’ उनी भन्छन्, ‘मेलोडी र वृक्षसँगको तादात्म्यताले शब्द सिर्जनामा मलाई समय लागेन। पाँच–सात मिनेटमै गीत तयार भयो।’
त्यतिबेला आफूलाई आनीरूपी वृक्षबाट पात टिपेजस्तो शब्दहरू टिपेको अनुभव भएको उनी बताउँछन्। ‘म बहेको बह्यै भएँ, न्ह्युले ती शब्दलाई टिप्न थाले।’
एकैपटकमा लेखेको गीत सुरुमा दुर्गालाललाई पनि राम्रो लागेको थियो। ‘उनीहरु (आनी र न्ह्यु) मसँग बिदाबारी भएर हिँड्नै लागेका थिए, मैले रोकेँ,’ गीतकार श्रेष्ठ भन्छन्, ‘सुरुमा मैले चित्त शुद्ध होस् त भनेको थिएँ, तर त्यससँग मिल्दो बोली बुद्ध होस् भनेको थिइनँ, यसको सट्टा अर्कै शब्द थियो। मैले पछि बुद्ध शब्द थपेँ।’
यसरी गीतमा सुन्दर अन्तरा बन्यो–
चित्त शुद्ध होस् मेरो बोली बुद्ध होस्।
मेरो पैतालाले किरै नमरोस्।
गीतले दिने जीवन दर्शन
‘यस गीतले जीवनको सकारात्मकता अनि सिद्धान्तलाई जनाउँछ,’ यति भनेपछि गीतकार दुर्गालाल गीतको स्थायी गुनगुनाउन थाले, ‘फूलको आँखामा फुलै संसार...।’
स्थायी गुनगुनाइसकेपछि उनले भने, ‘मानिसमा सकारात्मकता भयो भने उसको आँखामै भगवान् हुन्छ। जतासुकै उसले सकारात्मकता देख्छ। मन शुद्ध भए आँखाको हेराइ त्यति नै राम्रो भइदिन्छ।’
काँडा र फूलसँगै हुन्छन्, फूलको आफ्नै संसार छ, काँडाको बेग्लै। उनी भन्छन्, ‘काँडाले फूलको रक्षा पनि गर्छ।’
मानिसको चित्त शुद्ध भएदेखि उसले कसैलाई ठेस लाग्ने बोली व्यवहार नगर्ने बताउँछन्। ‘चित्त शुद्ध जब हुन्छ, अर्काको दुःखमा पनि चित्त रुन्छ,’ उनी भन्छन्, ‘आफ्नो चित्त शुद्ध भएपछि मात्र समस्त प्राणीप्रति माया जाग्छ। करुणा जाग्छ।’
यस गीतको अर्को अन्तरा छ–
टहटह जुन देखुँ कालो रातैमा,
जीवन संगीत सुनु म सुख्खा पातैमा।
यहाँ ‘कालो रात’ जीवनमा आइपर्ने दुःख र कठिनाइको विम्ब हो। ‘मानिसको जीवनमा एकपछि अर्को अप्ठेरो अर्थात् अँध्यारो आउन सक्छ,’ गीतकार भन्छन्, ‘तर, जस्तै अध्ँयारोमा पनि टहटह जुनको प्रकाश देख्न सक्नुपर्छ। यसका लागि आफूलाई संयमित राख्नुपर्छ।’
उनको दर्शनमा जीवनको वास्तविक संगीत सुक्खा पात अर्थात् कठिनाइको समयमा बज्न थाल्छ। उनी व्याख्या गर्छन्, ‘कठिन समयलाई आत्मसात गर्ने, मन पराउने हो भने जीवनको अर्को आयाम र सौन्दर्य देखिन्छ।’