विश्वकै सानो रथ, जसलाई वंशगोपाल जात्रामा गुडाइन्छ (भिडियाेसहित)
हरेक वर्ष फागु पूर्णिमामा र त्यसको भोलिपल्ट गरी दुई दिन मनाइने यस जात्राको मुख्य आकर्षण हो, यसमा प्रयोग हुने रथ, जुन विश्वकै सबैभन्दा सानो रथका रूपमा परिचित छ।काठमाडाैं, चैत ५ : विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण क्षेत्रमा धेरै जात्रा मनाइन्छ। यसैमध्येको प्रमुख हो, वंंशगोपाल जात्रा। यसलाई ‘घमा द्य जात्रा’ भनिन्छ।
हरेक वर्ष फागु पूर्णिमामा र त्यसको भोलिपल्ट गरी दुई दिन मनाइने यस जात्राको मुख्य आकर्षण हो, यसमा प्रयोग हुने रथ, जुन विश्वकै सबैभन्दा सानो रथका रूपमा परिचित छ।
पुरातत्वविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठ जात्रामा गुडाउन प्रयोग गरिनेमध्ये विश्वकै सबैभन्दा सानो रथ यसैलाई मान्छन्। ‘साना रथ अन्यत्र पनि छन् तर गुडाएर परिक्रमा गर्न मिल्ने र जात्रामा प्रयोग हुने चार पांग्रासहितको रथमा यही नै सबैभन्दा सानो हो,’ श्रेष्ठ भन्छन्, ‘भारत र नेपालबाहेक अन्य स्थानमा रथ जात्राको चलन कमै पाइन्छ। त्यसमाथि अन्य ठाउँका जात्रामा ठुल्ठूला रथको प्रयोग हुन्छ।’
श्रेष्ठका अनुसार, विश्वमा नेपाल र भारतबाहेक अन्य ठाउँमा रथ जात्रा गर्ने चलन खासै छैन। भारतमा जगन्नाथको विशाल रथ जात्रा गर्ने चलन छ।
वंशगोपाल जात्राको रथको लम्बाइ ८ फुट (भूमिदेखि गजुरसम्म) र चौडाइ चार फुट (दुवैपट्टिको पांग्रासहित) मात्र रहेको छ। रथमा वंशगोपालका साथ उनका दुई शक्तिहरू (राधा र रुक्मिणी) पनि राखिन्छ।
चाँगुनारायण मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्याय ‘अन्य ठाउँमा जात्रा मनाउँदा साना रथ देखिए पनि गुडाउन नमिल्ने’ भएको बताउँछन्। उनका अनुसार, अन्यत्र साना रथलाई अगाडिपछाडिबाट बोकेरै जात्रा गरिन्छ। ‘वंशगोपाल जात्रामा प्रयोग गरिने रथ गुडाउन मिल्ने भएकाले हामीले यसलाई सबैभन्दा सानो रथ भनेका हौँ,’ उनले भने।
जात्राको नामले वंशगोपालको अस्तित्वतिर संकेत गर्ने पुजारी राजोपाध्याय बताउँछन्। उनका अनुसार, यस ठाउँमा कृष्णले गोपिनीसँग होली खेलेको प्रतीकको रूपमा होली खेलेर जात्रा मनाउन थालिएको किंवदन्ती छ।
स्थानीय रत्नवीर श्रेष्ठका अनुसार भक्तपुरको बिस्का जात्रामा प्रयोग हुने भैरवको ठूलो रथ र चाँगुको वंशगोपाल जात्रामा प्रयोग हुने रथ लगभग उस्तै देखिन्छ।
६ सय वर्ष अगाडिको प्रामाणिक वंशावली ‘गोपालराज वंशावली’लाई हेर्दा त्यतिबेला अशान्ति, युद्ध, महामारी, आक्रमण लगायतबाट देश पार लागेको खण्डमा रङ छरेर उत्सव एवं खुसियाली मनाउने चलन रहेको स्पष्ट हुने डा. श्रेष्ठ बताउँछन्।
रथजात्रा विधि
पूर्णिमाको बेलुका ६ बजेपछि चाँगुनाराण मन्दिरभित्र रहेको वंशगोपाल अर्थात् कृष्णको मूर्तिलाई मुख्य पुजारीले रथमा राखेपछि जात्रा सुरु हुन्छ। जात्रा सुरु भएको केही समयपछि मूर्तिको वस्त्र फेर्ने नियम छ। यसरी वर्षको एकपटक मात्र कृष्णको लपेटा र राधा, रुक्मिणीको जामाचोलो फेरिने पुजारी राजोपाध्याय बताउँछन्। त्यसपछि रथलाई मन्दिरको परिक्रमा गराई चाँगुनारायण टोखाछेँ टोलमा सिन्दुर जात्रा (रंग छरेर गरिने जात्रा) गरिन्छ।
राति देवीदेवतालाई रथबाट निकालेर भीमसेन पाटीमा राखिन्छ। भोलिपल्ट फेरि देवीदेवतालाई रथमा राखी जात्रा गरिन्छ। जात्रापछि मूर्तिलाई पुनः मन्दिरमा राखिन्छ।
उक्त रथमा एक भैरव तथा दुई म्हेखा (मयुर) को सुन्दर आकृति कुँदिएको छ। चाँगुका भडेलहरू ग्वाला गोपालवंशी भएका कारण यस जात्रालाई वंशगोपाल जात्रा नाम दिएको हुन सक्ने स्थानीय बताउँछन्।होलीकै सन्दर्भमा मनाइने यो जात्राबारे वर्णन गर्दै पुजारी राजोपाध्याय भन्छन्, ‘काठमाडौंमा चीर विसर्जन गरिसकेपछि होली खेल्न पाइँदैन। तर यहाँ चीर विसर्जनसँग कुनै सम्बन्ध छैन। यहाँ पूर्णिमाको दिनसम्म होली खेल्न मिल्छ,’ उनी भन्छन्, ‘होली पर्वलाई लक्षित गरेर यो जात्रा मनाउँदै आएका छौँ।’
चाँगुनारायणमा फागु पूर्णिमाको दिन मनाइने होलीमा कृष्णलीलासँगै विभिन्न शृंगारिक गीत तथा भजन गाइन्छ। होलीमा गाइने गीत (भजनबाहेक) अरु दिनमा गाउनु हुँदैन भन्ने जनविश्वास समेत यहाँ रहेको छ। भक्तपुरमा होलीकै दिनमा हुने भीमसेनको लिंग प्रतीक ब्रह्मयणीमा पखाल्न लैजाँदा होलीको गीत गाइन्छ भने फर्कंदा बिस्काको गीत गाउँदै फर्किनुपर्छ।