Kathmandu Press

पटकानीमा होली : रानीले दाइजोमा होली गाउने-बजाउने मान्छे ल्याएकी थिइन् 

होलिका मरेको खुसीमा र असत्यमाथि सत्यको जित भएकाले त्यतिबेलादेखि नै होली खल्न थालिएको हो। कारण एउटै तर मनाउने तरिका मात्र अलग रहेको संस्कृतिविद् डा. धुव्रप्रसाद भट्टराईको भनाइ छ।
पटकानीमा होली : रानीले दाइजोमा होली गाउने-बजाउने मान्छे ल्याएकी थिइन् 

काठमाडाैं, चैत ४ : अछाम साँफेबगर बैजनाथका धर्मेन्द्रबहादुर शाहले गाउँकै पटकानीमा होली खेलिरहेका छन्। पटकानी भनेर खुला चौरलाई बुझिन्छ। अछाममा अष्टमीदेखि फागुन पूर्णिमासम्म होली खेल्ने गरिन्छ। यहाँ होलीलाई होरी पनि भनिन्छ। 

यसपालि पनि पटकानीमा गाउँघरका युवायुवती, इच्छुक वृद्धवृद्धा टाउकोमा सेतो पगडी (पगरी) शरीरमा सेतै जामा लगाई होली गीत गाउँदै देउडा शैलीमा नाचिरहेको शाह बताउँछन्।

‘यो वर्ष करिब दुई सयको हाराहारीमा होली खेल्नेहरू छन्,’ उनी भन्छन्, ‘पहिले पहिले मानिसको चापले गर्दा पटकानीमा खेल्ने ठाउँ नै हुँदैनथ्यो। तर अहिले रोजगारी र पढाइको सिलसिलामा गाउँका युवा देशविदेशतिर छन्, होली खेल्नेहरूको संख्या घट्दो छ।’ 

Hardik ivf

धर्मेन्द्रका अनुसार, होली खेल्ने व्यक्तिहरू दुईवटा घेरामा उभिनुपर्छ। एक प्रमुख व्यक्तिले होली गीत सुरु गर्छन्, जसलाई खलिपा भनिन्छ। खलिपाको पछिपछि अरुले गाउन थाल्छन्। यहाँ गाइने होली गीतमा रामायण र महाभारतका कथा समावेश गरिन्छ। यसरी होली खेलेको हेर्न गाउँघरका महिला लगायत आउने गर्छन्।

धर्मेन्द्र भन्छन्, ‘हामी अहिले बेलुका ६ बजेदेखि राति १० बजेसम्म होली खेलिरहेका छौँ। अन्तिम दिन परालको पुत्ला बनाएर चिल पोलेपछि होली सकिन्छ।’ 

डा. ध्रुवप्रसाद भट्टराईका अनुसार, होली अछाममा खास किसिमले मनाइने गरिन्छ। टाउकोमा सेतो पगडी, सेतो जामा र हातमा मिजुरा बजाउँदै पुरुषले देउडा जस्तै नाच्ने हुँदा यसले छुट्टै संस्कृति बोकेको छ।

दाइजोको रूपमा होली

होलीको कथा सबैतिर होलिका दहनलाई लिइन्छ। हिरण्यकश्यपुकी बहिनी होलिकाले आगोले नजलाउने वरदान पाएकी थिइन्। आफ्नो पुत्र प्रह्लाद विष्णुभक्त भएको हिरण्यकश्यपुलाई मन परेन। त्यसैले उनले पुत्रलाई जलाउन बहिनीको काखमा राखी पुत्रलाई आगोमा हालेका थिए। अग्निले होलिकालाई जलायो तर प्रह्लादलाई केही भएन। यसरी धर्म र देवताको पक्षमा होली उत्सव मनाउन थालिएको बताइन्छ।

अछाममा भने अर्कै कथा पाइन्छ। तीन सय वर्षअघि अछामका राजा भान शाहले कुमाउँ गढवालकी राजकुमारीसँग विवाह गरेका थिए। त्यसताका अछामको कुनै पनि स्थानमा होली हुँदैनथ्यो। विवाहपछि रानीले अछाममा होली खेलेको देखिनन्। उनले आफ्नो माइतीबाट होली खेल्न सिकाउने मान्छेहरू र बाजाहरू दाइजोको रूपमा ल्याइन्। यसरी अछाममा होली सुरु भएको धर्मेन्द्र बताउँछन्।

‘अछामको बैजनाथबाट सुरु भएको होली गीत बिस्तारै अछामका प्रायः सबै स्थानमा गाउन थालिएको हो,’ उनले भने, ‘बैजनाथमा हिन्दी भाषामा गीत गाउने गरे पनि अन्य स्थानमा भने स्थानीय भाषामै गाउने गरिन्छ।’

अछामबाट बसाइँ सरी अन्यत्र गएकाले पनि अछामकै शैलीमा होली गाउने–नाच्ने गर्छन्। अछामबाट कञ्चनपुरको कृष्णपुर नगरपालिकामा बसाइँ सरेकाहरू वर्षौंदेखि गाउँटोलमै होली खेल्ने गरेका छन्। यहाँ अछाममा जस्तो पटकानी नभएकाले स्थानीय समैजी माविको प्रांगणमा होली खेल्दै आएको कृष्णपुरवासी कृष्ण कुवँरले बताए।

पुरानो होली घट्दो, रङको होली बढ्दो

धर्मेन्द्रका अनुसार, यो वर्ष अछामको बैजनाथ लगायत लुंग्रा, पाइल, प्रभा, घुघुरकोट, रिडिकोट, खाल्सेन लगाएका ठाउँमा होली खेलिँदैछ। अहिलेका युवा होलीमा केवल रङमा रमाउन थालेको र होली गीत गायनवादनको संस्कृति उनको भनाइ छ। अन्य वर्षको तुलनामा यो वर्ष अछामका धेरैजसो स्थानमा होली नभएको पनि उनले बताए। 

साँफेबगर नगरपालिका–१० की सानु शाह यसपालि होली हेर्न पाइनन्। किनभने, उनको नजिकै तासीमा यस वर्ष होली खेलिएन। अहिले अछामको होलीमा देखिएका विकृति भनेको केटाहरू जे पाए त्यही सेवन गर्छन् र झगडा हुने पनि गर्छ। त्यसैले कतिपय अवस्थामा होली बीचमै रोक्ने स्थिति आउने पनि धर्मेन्द्रले बताए। 

राजा हिरण्यकश्यपुले आफ्नो छोरा विष्णुभक्त प्रह्लादलाई मार्न अन्निबाट नजल्ने वरदान पाएकी बहिनी होलिकालाई मार्न लगाएका थिए। होलिकाले दाजुको छोरा प्रह्लादलाई काखमा राख्छिन् र आगो लगाउँिछन् तर त्यस अग्निबाट होलिका जलेर भस्म हुन पुगिन् भने प्रह्लाद भने सकुशलै भएका थिए।

यसरी होलिका मरेको खुसीमा र असत्यमाथि सत्यको जित भएकाले त्यतिबेलादेखि नै होली खल्न थालिएको हो। कारण एउटै तर मनाउने तरिका मात्र अलग रहेको संस्कृतिविद् डा. धुव्रप्रसाद भट्टराईको भनाइ छ।

प्रकाशित मिति: १३:४४ बजे, शुक्रबार, चैत ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्