मिस्टर नेपाल छनाेटका लागि धमाधम अडिसन

काठमाडौं, चैत ४ : ‘मिस्टर नेपाल २०२२’ को छनोट सुरु भएको छ। आयोजक नेक्स्ट मोडल्स नेपालले गत शनिबारबाट प्रतियोगी छनोटको प्रारम्भिक अडिसन सुरु गरेको हो। अडिसन १२ चैतसम्म चल्ने आयोजकले जनाएको छ।
अहिलेसम्म प्रतियोगितामा १ सय बढीले अडिसन दिएका छन्। तीमध्येबाट केही प्रतियोगी छानिएका छन्। अडिसनबाट छानिएका सबै प्रतियोगी १२ गतेको अन्तिम अडिसनपछि सार्वजनिक गर्ने आयोजक नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए।
‘मिस्टर नेपाल’ पुरुषहरू सहभागी हुने नेपालकै प्रतिष्ठित र ठुलो प्रतियोगिता हो। एक्सपोज नेपालले आयोजना गर्दै आएको यो प्रतियोगिता यस वर्षबाट चिरपरिचित आयोजक नेक्स्ट मोडल्स नेपालले गर्ने भएको हो। १८ वर्षदेखि ३२ वर्ष ननाघेका युवाहरुले प्रतियोगिताका लागि चैत १२ गतेसम्म सहभागिता जनाउन सक्नेछन्।
विश्वका जुनै कुनामा रहेका ५ फिट ८ इन्च माथि उचाइ भएका नेपाली नागरिकले मात्र प्रतियोगितामा सहभागिता जनाउन सक्ने प्रावधान आयोजकले राखेको छ।
विभिन्न जिल्लामा समेत अडिसन आयोजना भइरहेको प्रतियोगितामा यो वर्षबाट स्थानीय सौन्दर्य प्रतियोगिताका विजेताले समेत सहभागी अवसर प्राप्त गरेका छन् । ‘मिस्टर वल्र्ड’ मा नेपालको सहभागिता अझ दर्विलो बनाउन र प्रतियोगितालाई थप उचाइ दिने उद्देश्यका साथ आफूले प्रतियोगीताको फम्र्याट बनाएको धमलाले बताए।
‘प्रतियोगिता विगतको भन्दा अझ भव्य बनाउन आफू लागिपरेको छु,’ धमलाले थपे, ‘ मिस्टर नेपाल यो वर्ष आयोजना हुने सबै सौन्दर्य प्रतियोगिताभन्दा भव्य हुनेछ।’
प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वल्र्ड २०२३’ मा सहभागिताको अवसरको अलवा ५ लाख नगदसहित विभिन्न ब्राण्डको ब्रान्ड एम्बेसर, फेस अफ ब्रान्ड, विज्ञापन, म्युजिक भिडियो र फिल्म अभिनय अवसर प्राप्त गर्नेछन्।
देशैभरि छरिएर रहेका प्रतिभालाई समेट्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा अडिसनबाट छानिएका प्रतियोगीलाई मात्र अन्तिम प्रतिस्पर्धाको तयारी कक्षा स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी विषयको प्रशिक्षणमा सहभागी गराइने नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन्।
प्रशान्त ताम्राकार, माल्भिका सुब्बा, रोजिन शाक्यलगायतले प्रशिक्षण दिने कार्यक्रमको कोरियोग्रफर प्रशान्त ताम्राकार रहेका छन्।
प्रतियोगिताको छनोट चरणको अडिसनको निर्णायकमा प्रशान्त ताम्राकार, माल्भिका सुब्बा, रोजिन शाक्य, रवि धमला र मिष्टर नेपाल विजेता डा. सन्तोष उपाध्याय रहेका छन्।
युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले यो प्रतियोगिता २००१ देखि नियमित आयोजना हुँदै आएको प्रतियोगिताको अन्तिम स्पर्धा आगामी वैशाखको दोस्रो साता हुनेछ।












