Kathmandu Press

रामसीताले होली खेलेको कञ्चन वनबाट सुरु हुन्छ होली 

होलिकालाई नजल्ने वरदान प्राप्त  भएकाले प्रह्लाद मात्र जल्छ भन्ने सोच थियो । तर सत्यले गर्दा स्वयं होलिका जलिन् र प्रह्लाद सुरक्षित रहे । पापको नाश र धर्मको विजय भएको दिन स्वरूप होली मनाउने गरिन्छ । होलिका विभिन्न किंवदन्तीमध्ये सबैभन्दा बढी प्रचलित छ । 
रामसीताले होली खेलेको कञ्चन वनबाट सुरु हुन्छ होली 

काठमाडौं, चैत ४ : सुदूरपश्चिम, अवध र मिथिलामा होलीलाई ‘होरी’ उच्चारण गरिन्छ । कतिपय पारम्परिक हिन्दी गीत (‘होरी खेले रघुविरा अवध मे’ लगायत) मा होरी उच्चारण गरिएको छ । यद्यपि यो पारम्परिक गीतको फिल्मीकरण हो । पछि आएर ‘होली’ उच्चारण बढी प्रचलनमा आयो । 

‘होली’ र ‘होरी’को ठ्याक्कै भिन्नता के हो भन्ने म आफैँ पनि छुट्ट्याउन सक्दिनँ । तर जनभाषामा होरी भन्ने गरिएको छ । 

साम्यवादी पर्व 

Hardik ivf

समसामयिक रूपमा विगतको तुलनामा होली पर्व मनाउने तरिकामा परिवर्तन आएको छ । मानिसहरूमा स्रोत साधनहरूको विकास भएसँगै त्यसको प्रभाव होली पर्वमा पनि देखिन थालेको छ ।

पारम्परिक मात्र नभई यसलाई हाम्रो मानसिकताको तर्फबाट पनि हेर्न जरुरी छ । होली एउटा साम्यवादी पर्व हो । अर्थात् सबै मिलेर मनाउने सबैको पर्व हो । सामान्यतः हेर्दा दशैँमा देवीको पूजा गरिन्छ । हुन त यो प्रायःले मनाउँछन् । तर, यसलाई क्षत्रीयको पर्वका रूपमा विशेष स्थान छ । दीपावलीलाई वैश्यहरूको पर्वका रूपमा विशेष प्रसिद्ध छ । 

फागु भन्नासाथ यसलाई शूद्रहरूको पर्व पनि भनिन्छ । फागु पूूर्णिमा अर्थात् होलिका पर्वलाई शूूद्रले पनि सबै माझ समान भएर मनाउन पाउने भएकाले पनि यसलाई शूद्रको पर्व भनिएको हो । यो दिनमा ब्राह्मण, क्षत्रीय, शूद्र सबै समान भएर एकअर्कामा सद्भावस्वरूप दिल खोलेर एकअर्कालाई रङ लगाएर, सम्बन्धित गीतहरू गाएर होली मनाउने गर्छन् ।

अन्य ठाउँको तुलनामा मिथिलामा होली बढी पारम्परिक रूपले मनाउने गरिन्थ्यो । पहिला वसन्त पञ्चमीको दिन सरस्वतीपूजा गरिसकेपछि दोस्रो दिन मूर्तिको विसर्जन गरेपछि साँझपख घरघरमा होली गाउन (होलीसम्बन्धी गीत गाउन) सुरु गर्थे । यसमा गाउँका मानिस एक ठाउँ वा एउटा घरमा भेला भएर होलीगीत गाउने गर्थे । दैनिक दुई–तीन घन्टा निरन्तर फागुको दिनसम्म चल्थ्यो । 

होरीको दिनमा गाउनका लागि एक किसिमले रियाज, रिहर्सल र गायकी पनि हो । फागुको दिन त्यही टोली दम्फा, मजिरा लिएर देउसी भैलो खेलेजसरी सबैको घर–घरमा गएर होरीगीत गाउने गर्थे । यो पनि बिस्तारै कम हुँदै गयो । 

यी प्रचलन हराउँदै जानुमा सबैभन्दा ठूलो कारण माओवादी जनयुद्ध हो । जनयुद्धका बेला साँझ पर्नेबित्तिकै सबै मानिस डरका कारण बत्ती, टुकी निभाएर घरमा गएर सुत्थे । कहीँ जाने, भेला हुने वातावरण थिएन । लामो समयसम्म यही क्रम चलिरहँदा यो प्रचलन चलाइरहेका एउटा पुस्ता नै सकियो । होली, सांस्कृतिक गीतको परम्परा हस्तान्तरण हुने प्रक्रियामा ठूलो आघात पुग्यो र सो प्रचलन अन्य पुस्तामा हस्तान्तरण हुन सकेन । 
यद्यपि यो प्रचलन हराउँदै जानुमा यही मात्र कारण भने होइन । धेरै मानिस वैदेशिक रोजगारमा जान थाले, युवा पनि पढाइ वा काम विशेषले बसाई सर्न थाले, गाउँमा मान्छेकै कमी भएकाले पनि यस्ता संस्कृति लोप हुँदै गएका हुन् । 

होलीको कथा

हिरण्यकश्यपुुुकी बहिनी होलिकाले आगोबाट नजल्ने वरदान पाएकी थिइन् । हिरण्यकश्यपुका दाजु हिरण्याक्षलाई विष्णुको बराह अवतारबाट वध गरिएको थियो । तर, हिरण्यकश्यपुका छोरा प्रह्लाद  विष्णुभक्त थिए । यसरी एउटै परिवार एकअर्का विपरीत भएपछि छोरालाई मार्न हिरण्यकश्यपुले अनेक उपाय गरे । सफल नभएपछि होलिकाले प्रह्लादलाई काखमा राखेर आगोमा बसिन् । 

होलिकालाई नजल्ने वरदान प्राप्त  भएकाले प्रह्लाद मात्र जल्छ भन्ने सोच थियो । तर सत्यले गर्दा स्वयं होलिका जलिन् र प्रह्लाद सुरक्षित रहे । पापको नाश र धर्मको विजय भएको दिन स्वरूप होली मनाउने गरिन्छ । होलिका विभिन्न किंवदन्तीमध्ये सबैभन्दा बढी प्रचलित छ । 

हाम्रो समाजमा प्रचलित संस्कृति कुनै न कुनै देवतासँग जोडिएको छ । तर, यसले आजको समयमा मानिसलाई कसरी समेटेको छ भन्ने महŒवपूूर्ण हो । नेपालको सन्दर्भमा भन्नुपर्दा भू–भागको हिसाबले तराईतिर होली बढी मनाउने गरेको पाइन्छ । तराईमा पनि मिथिला, अवध लगायत सुदूूरपश्चिमको पहाडी क्षेत्रमा बढी मनाइन्छ । यसबाहेक काठमाडौंका नेवार समुदायमा अलि बढी यो पर्वलाई महत्व दिइएको पाइन्छ । 

कुनै पनि चाडपर्व धेरै अगाडिदेखि मनाइँदै आएको छ र जनस्तरमा धेरै भिजेको छ भन्ने प्रमाण त्यससँग सम्बन्धित लोकगीत कतिका छन्, परम्परागत गीत कतिका छन् भन्ने कुराले प्रस्ट हुन्छ । मिथिला एउटा प्राचीन एवं सभ्यता, संस्कृति, साहित्यिक हिसाबले समृद्ध ठाउँ हो । भारतको सन्दर्भमा भन्नुपर्दा वृज क्षेत्र वा भनौँ भगवान् कृष्णको जन्मभूमि वरपरको क्षेत्रमा पनि होली निकै लोकप्रिय छ ।


होलिका सांस्कृतिक क्रियाकलाप 

फागुमा आफूभन्दा ठूलाको आशीर्वाद लिने चलन रहेको छ । विधिपूूर्वक फागु पर्व मनाउने हो भने दिनको सुरुवातदेखि नै सबैलाई रङ दल्दै हिँड्ने भने होइन । सबैभन्दा पहिले आफ्नो घरको कुल देवीदेवतालाई अबिर चढाई पूजा गरिन्छ । त्यसपछि घरका ठूलाले परिवारका अन्य सदस्यलाई रङ, अबिर लगाइदिने गर्छन् । सानाले भने ठूलालाई सुरुमा गोडामा रङ, अबिर लगाउने चलन छ । मिल्दोजुल्दो उमेरको छ भने एकअर्कालाई रङ, अबिर लगाइदिने चलन छ । 

फागुन महिना विवाहको पर्व पनि हो । बिहेबारीका जुन सांस्कारिक गीत छन्, त्यसमा पनि फागुको गीतले स्थान पाएका छन् । विवाहपछि आउने नवकुटुम्बलाई पनि रङले स्वागत गर्ने, बिदाइ गर्ने, ठट्टा गर्ने लगायत परिपाटी अहिलेसम्म चलिरहेको छ । 

पहिला मानिससँग स्रोत–साधनका कमीका कारण माछामासु कमै खाइन्थ्यो । तर होलीको दिनमा सक्नेले एकल रूपमा र नसक्नेले सामूूहिक रूपमा टोलमा खसी काट्ने चलन थियो । यही दिन माछामासु, मालपुवाका साथै भाङ खाने चलन अहिले पनि छ । तराईको सन्दर्भमा भन्ने हो भने बुबाआमाले होलीको दिन दूूधमा मजाले भाङ घोलेर बच्चालाई अलिअलि खुवाउने चलन थियो । यसले गर्दा बच्चामा भाङ कस्तो होला भन्ने जिज्ञासा रहिरहन दिँदैनथ्यो । 

अहिले यी चिजले विकृत स्वरूप लिएको देखिन्छ । अहिले मानिस अन्य दिनमा पनि रक्सी खाने र होलीको दिनमा अझ बढी रक्सी खाने गर्छन् । यसले उपद्रो मच्चाउने परिपाटी बढेको छ । होलिका सांस्कृतिक क्रियाकलाप लोप हुँदै गएका छन् । 

मिथिला परिक्रमा 

होलीकै कुरा आउँदा जनकपुर क्षेत्रलाई महत्वका साथ लिइन्छ । जनकपुर क्षेत्र मिथिलाको राजधानी हो भने अर्को यहाँ मिथिला परिक्रमा पनि हुने गर्दछ । मिथिला परिक्रमा भन्नाले फागुुन प्रतिपदादेखि पूूर्णिमासम्म हुने १५ दिने परिक्रमा हो । 

भगवान् राम विवाहपछिको पहिलो वसन्तमा सीताजीका साथ आफ्नो देशको भ्रमणमा निस्केका थिए । धेरै मानिस उनीहरूसँगै गएका थिए । आठौँ दिनमा महोत्तरीको कञ्चन वन भन्ने ठाउँमा पुगेपछि त्यहाँ राम र सीताले होली खेलेका थिए । 

सोही अनुसार, जनकपुर लगायत धेरै ठाउँबाट मानिस मिथिला परिक्रमाका लागि जाने गरेका छन् । र, कञ्चन वन पुग्दा त्यहाँ जाने सबैले होली गाउने, खेल्ने चलन छ । कञ्चन वनमा रामसीताले होली खेलेको भएर त्यहाँको माटो, खोलाको पानी सबै रातो भएको जनविश्वास छ । यद्यपि कञ्चन वन रातो माटो पाउने क्षेत्र पनि हो ।

कञ्चन वनमा होली खेलिसकेपछि बिस्तारै रङले त्यो क्षेत्र समात्छ । पूूर्णिमाको दिन जनकपुरको चारैतिर परिक्रमा हुन्छ । त्यसपछि एक प्रकारको पवित्र धुलो उडाइन्छ । त्यो धुलो शरीरमा लागेपछि बल्ल मूल होली खेल्ने परम्परा रहिआएको छ ।

उक्त परिक्रमामा अहिले पनि हजारौँ मानिस सहभागी हुन्छन् । ती मान्छे फर्केर आफ्नो गाउँ पुगेपछि बल्ल ‘लहै परिक्रमावासी आइपुगे, अब होली खेल्ने बेला भयो’ भनिन्छ । त्यस ठाउँमा तिथिको केही मतलब हुँदैन, परिक्रमामा गएपछि सो व्यक्ति फर्केर आएको दिन त्यस ठाउँमा होली मनाइन्थ्यो । यो परम्परा अनुसार, तिथि खप्टेकोलाई महत्व दिइँदैन । केवल १५ दिन पूूरा गर्नुपर्ने हुन्छ । धनुषा, महोत्तरी लगायत वरिपरिका क्षेत्रमा अहिले पनि यो परम्परा छ । 

पहाडमा होली मनाएको दोस्रो दिन तराईमा होली मनाइन्छ भने कहिलेकाहीँ तेस्रो दिन पनि होली पर्न सक्छ । यसले परिक्रमाको महत्व, माटोसँगको जुडाव दर्शाउँछ । 

होली गीतको लय

हिउँदे खेतीबाट अलिकति फुर्सद मिल्ने महिना हो, फागुन । कृषिमा आधारित जीवनले कलिकति फुर्सद पायो भने त्यत्तिकै खेर फाल्दैन । सो समयलाई उनीहरूले रमाइलोका लागि, आपसी भाइचारा अभिवृद्धिका लागि उपयोग गर्छन् । त्यसकै एउटा सुन्दर परम्परा होली हो । 

होलीमा गाउने गीतको पनि छुट्टै महत्व छ । यसमा थरीथरीका लय र भाका छन् । महिला, वृद्धवृद्धा लगायतले गाउने गीत पनि छुट्टाछुट्टै छन् । ‘जोगिरा सररर’ भन्ने होलीगीतमा उच्छृंखलता बढी हुन्छ । त्यो दिन मान्छेले उच्छृृंखलतालाई पनि अलि पचाउँछन् । त्यसको लाभ लिएर अहिले त्यसलाई अलि बढी गर्न थालिएको जस्तो पनि देखिन्छ । 

होली गीतको लय सुन्दा पनि होली आएको आभास हुन्छ भने होलीको गीत आफैँमा उत्साह, उमंग र तरंग हो । यसको शब्द मात्र नभई लयले नै रमाइलोपन दिन्छ । वर्षभरि कसैसँग वैरभाव उत्पन्न भएको छ भने त्यो होलीमा मेटिन्छ । अहिले  बलजफ्ती कसैलाई रङ हालेर उल्टै वैरभाव बढाउने कार्य पनि भइरहेको छ । 

(संस्कृतिविद धीरेन्द्र प्रेमर्षिसँग काठमाडौं प्रेसकर्मी सोनी शाहीले गरेको कुराकानीमा आधारित)
 

प्रकाशित मिति: ११:४३ बजे, शुक्रबार, चैत ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मैले चिनेका दमन दाइ
मैले चिनेका दमन दाइ
दशैंकाे भाग
दशैंकाे भाग
दसैं हिन्दुको कि नेपालीको?
दसैं हिन्दुको कि नेपालीको?