Kathmandu Press

स्मार्ट पार्किङका ‘गफ’ : सेवाग्राही टोकन लिन्छन् तर सवारीसाधन राख्ने ठाउँ हुँदैन

विशालबजार, धर्मपथ, न्युरोड, कान्तिपथ लगायत स्मार्ट पार्किङबाट महानगरले वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्छ, तर यसलाई प्रभावकारी बनाउन नसकेको स्वयं महानगरका प्रवक्ता ईश्वरमान डंगोल स्वीकार गर्छन्।
स्मार्ट पार्किङका ‘गफ’ : सेवाग्राही टोकन लिन्छन् तर सवारीसाधन राख्ने ठाउँ हुँदैन

काठमाडैं, चैत २ : काठमाडौं महानगरपालिकाले वसन्तपुर विशालबजारअगाडि बनाएको सशुल्क स्मार्ट पार्किङमा स्थान नभएपछि सडकको अर्को छेउमा स्कुटी रोकेर टोकन लिइन्, रेनु थापा मगरले। उनी स्वयम्भुबाट काम विशेषले वसन्तपुर आएकी थिइन्। 

‘पार्किङ गर्ने ठाउँ छैन। टोकन लिएर स्कुटी छाडेर जान लागेकी हुँ, यहाँ पार्किङ शुल्क लिनेले खाली भएपछि मिलाएर राखिदिनुहुन्छ,’ रेनु भन्छिन्, ‘यहाँ सधैँ भीड हुन्छ। यसरी टोकन लिएर पार्किङको दायाँ–बायाँ रोकेर छाडिदिन्छु।’ 

बिपीन प्रधानले टोकन लिएर छाडिएका सवारीसाधनको व्यवस्थापन गर्दै थिए। उनी पार्किङ स्थलका कर्मचारी हुन्। ‘पार्किङ खालि भएपछि मिलाएर राख्छौँ। यही नै हाम्रै काम हो,’ बिपीनले भने, ‘विशालबजार अगाडिको पार्किङमा दैनिक एक हजार मोटरसाइकल पार्किङ हुन्छन्। बिहान र साँझ धेरै भीड हुन्छ।’ 

Hardik ivf

त्यहीँ आफ्नो मोटरसाइकल पार्किङका लागि कुरिरहेका थिए, टोखाबाट आएका शिवराम पोखरेल। ‘अन्त पार्किङ गर्न जाँदा महानगरले उठाउने डर हुन्छ, कुरेरै भए पनि पार्किङ गर्छु,’ उनले भने। 

रेनु र शिवरामजस्तै त्यहाँ कोही पार्किङको पखाईमा थिए, कोही सवारीसाधन छाडी टोकन लिएर निस्कँदै थिए। फागुन २७ गते साँझ देखिएका दृश्य हुन् यी।

पार्किङ स्थलका कर्मचारी बिपीनका अनुसार, त्यहाँ पार्किङ गरेको आधा घन्टाको २५ रुपैयाँ शुुल्क लाग्छ, त्यसभन्दा कमको १५ रुपैयाँ। ‘टोकन नलिई मोटरसाइकल पार्किङ गरेर हिँड्नेले दुई सय रुपैयाँ जरिवाना तिर्नुपर्छ,’ बिपीन भन्छन्।

बिपीनले स्मार्ट पार्किङमा काम गर्न थालेको ६–७ महिना भयो। उनी हिल्स ट्रली योर्स प्रालिले राखेका कर्मचारी हुन्। ०७६ मा महानगरले हिल्स ट्रली योर्स प्रालिसँग सहकार्य गरेर पाँच स्थानमा दुईपांग्रे र चारपांग्रे सवारीका लागि स्मार्ट पार्किङ सुरु गरेको हो। 

विशालबजार, धर्मपथ, न्युरोड, कान्तिपथ लगायत स्मार्ट पार्किङबाट महानगरले वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्छ, तर यसलाई प्रभावकारी बनाउन नसकेको स्वयं महानगरका प्रवक्ता ईश्वरमान डंगोल स्वीकार गर्छन्। 

प्रवक्ता डंगोलका अनुसार, ०७६ देखि हालसम्म स्मार्ट पार्किङबाट महानगरले ९६ लाख १३ हजार ६ सय ३९ रुपैयाँ ८४ पैसा आम्दानी गरेको छ। ‘हिल्स प्रालिले वार्षिक आम्दानीको २० प्रतिशत रकम मात्र महानगरलाई बुझाउँछ,’ उनले भने, ‘व्यवस्थापनको जिम्मा सोही कम्पनीलाई छ।’ 

उनी लिफ्टवाला पार्किङ बनाउन अझै केही समय लाग्ने बताउँछन्। ‘पार्किङ बनाउने योजना खारेज भएको छैन। अहिले स्मार्ट पार्किङलाई नै व्यवस्थापन गर्ने योजनामा छौँ,’ उनले भने।

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले चुनाव जित्ने अभियानस्वरूप स्मार्ट सिटीका कुरा गरेका थिए, उनको कार्यकाल सकिन लाग्दा समेत काठमाडौंको रूप र नागरिकले पाउने सेवा–सुविधामा खासै फेरबदल आएको छैन। 

स्मार्ट पार्किङका ‘गफ’ 

महानगरका प्रवक्ता डंगोलका अनुसार, यसअघि पटक–पटक स्मार्ट पार्किङ बनाउने योजना दस्तावेजमै थन्किएका छन्।

‘पुरानो बसपार्क भएको ठाउँमा अन्डरग्राउन्ड बेसमेन्ट पार्किङसहितको भ्युुटावर, भूकम्पले धरहरा भत्किएपछि त्यहाँ आधुनिक धरहरासहित तीनतले पार्किङ स्थल, टेकुमा ९० करोडको लगानीमा बृहत् स्मार्ट पार्किङ बनाउने योजना थियो,’ उनी भन्छन्, ‘खुलामञ्चमा भूमिगत पार्किङ बनाउने महानगरको योजनामा तीन अर्ब लाग्ने अनुमान गरिएको थियो। लैनचौरमा तीनतले भूमिगत पार्किङस्थल बनाउने काम पनि रोकिएको छ।’
 

प्रकाशित मिति: १६:०० बजे, बुधबार, चैत २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्