छोरालाई आफ्नो नाममा नागरिकता बनाउन गुञ्जनाको लडाइँ
काठमाडौं रातोपुल माइती भएकी गुञ्जनाले कालोपुलमा विवाह गरेकी थिइन् । सम्बन्धविच्छेदपछि उनले कालोपुलमै दोस्रो विवाह गरिसकेकी छन्। अहिले उनका छोरा १९ पुगे, १२ कक्षा पास गरिसकेका छन् ।काठमाडौं, चैत १ : आफ्नो मात्र नाम राखेर छोराको नागरिकता बनाइदिन गुञ्जना कुवँर फागुन २५ गते जिल्ला प्रशासन कार्यालय पुगेकी थिइन्। उनलाई प्रशासनका कर्मचारीले छोराको जन्मदर्ता परिवर्तन गरेर आउन भने। उनको छोराको जन्मदर्तामा बाबुको नाम छ।
गुञ्जनाले आठ वर्षअघि श्रीमान्सँग सम्बन्धविच्छेद गरेकी हुन्, छोरालाई आफैँले हुर्काएकी गुञ्जनाले श्रीमानको नाम नराखी आफ्नो नाममा नागरिकता बनाइदिन चाहन्छिन् । ‘छोराले नै मेरो नाममा नागरिकता बनाउन भनेको छ,’ ४० वर्षीया गुञ्जना भन्छिन्, ‘उसका लागि मेरो नाममा नागरिकता बनाउन धाएको दुई वर्ष भइसक्यो, अझै हुन सकेको छैन।’
उनले त्यहाँका कर्मचारीलाई ‘जन्मदर्ता परिवर्तनका लागि तपाईंहरु नै सिफारिस गरिदिनुस्’ भनी आग्रह गरेकी थिइन् । तर, प्रशासनले त्यसो गर्न नसकिने बतायो।
काठमाडौं रातोपुल माइती भएकी गुञ्जनाले कालोपुलमा विवाह गरेकी थिइन् । सम्बन्धविच्छेदपछि उनले कालोपुलमै दोस्रो विवाह गरिसकेकी छन्। अहिले उनका छोरा १९ पुगे, १२ कक्षा पास गरिसकेका छन् । ‘नागरिकता नबन्दा धेरै अवसरबाट ऊ वञ्चित हुनुपरेको छ,’ उनी भन्छिन्, ‘अहिलेसम्म उसले बैंक एकाउन्ट खोल्न, सवारीसाधनको लाइसेन्स लिन सकेको छैन । जागिरका लागि फर्म भर्न पाएको छैन । नागरिकता नभएपछि के काम हुन्छ?’
अदालतबाट आदेश
दुई वर्षअघि उनी छोराको नागरिकताका लागि सिफारिस लिन वडा कार्यालय पुगेकी थिइन् । आमाको नाममा नागरिकता भनेपछि वडाले सिफारिस दिन नमानको उनी बताउँछिन् । ‘संविधानमा लेखेको त छ तर आदेश आएको छैन भनी वडाले सिफारिस दिएन,’ उनी भन्छिन्, ‘वडामै सिफारिस नबनेपछि म अदालत पुगेँ ।’ उनले अदालतमा आफ्नो नाममा छोरालाई नागरिकता उपलब्ध गराउन आदेश मागिन् । आदेश लिएर गएपछि मात्रै उनलाई वडाले सिफारिस दियो।
वडाको सिफारिस र अदालतको आदेश लिएर उनी जिल्ला प्रशासन कार्यालय पुगिन् । ‘फेरि पुलिसको सनाखत चाहिन्छ भनियो,’ उनी भन्छिन्, ‘अहिले सनाखत गराएकी छु तर जन्मदर्ता सच्याउन भनेका छन्।’
यस सम्बन्धमा उनले प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई भेटेर कुरा राखिसकेकी छन् । ‘उहाँले मैले पनि मन्त्रालयसँग कुरा गर्नुपर्छ, १० दिनपछि आउनू भन्नुभएको छ,’ गुञ्जना भन्छिन्।
गुञ्जनाको हकमा अब के कागजात आवश्यक हो भन्ने काठमाडौं प्रेसको प्रश्नमा प्रजिअ रिजाल भन्छन्, ‘त्यो त मैले केस हेरेरै भन्नुपर्छ । यस्ता थुप्रै केस आएका हुन्छन्।’
आमाको नामबाट नागरिकता लिनका लागि बुवा पत्ता नलागेको हो भने वडाको सिफारिस, त्यही अनुसारको जन्मदर्ता, आमाको नागरिकता र आमाको सनाखत हुन आवश्यक भएको उनले बताए । ‘आमा र बुवाको सम्बन्धविच्छेद भएपछि सन्तानले आमाको नामबाट नारिकता लिन चाहेमा सम्बन्धविच्छेदको कागजात आवश्यक हुन्छ,’ उनले बिहीबार काठमाडौं प्रेसलाई टेलिफोनमार्फत भने, ‘२०७६ सालदेखि अहिलेसम्म यहाँबाट आमाको नामबाट नागरिकता बनाउने आठजना रहेका छन्।’
उनले गुञ्जनाको केस हेरे कि हेरेनन् भनी बुझ्न आइतबार पटकपटक फोन गर्दा पनि उनको फोन उठेन।
‘कानुनको अभाव र पितृसत्तात्मक प्रवृत्ति’
महिला अधिकारकर्मी तथा अधिवक्ता मीरा ढुंगाना संविधान अनुरूपको कानुन नबन्दा महिलाले आफ्नो नामबाट सन्तानलाई नागरिकता दिलाउन नसकिरहेको बताउँछिन्।
संविधानको धारा ११ मा ‘नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजका आधारमा नेपालको नागरिकता प्रदान गरिने’ व्यवस्था छ।
‘२०७२ मा संविधान लागू भएपछि नागरिकतासम्बन्धी ऐन–२०६३ संशोधन हुनुपर्ने हो,’ अधिवक्ता ढुंगाना भन्छिन्, ‘त्यसो नहुँदा यस्तो समस्या आइपरेको हो।’
नागरिकता दिने निकायका कर्मचारीमा पितृसत्तात्मक प्रवृत्ति हाबी भएकाले पनि आमाको नामबाटै नागरिकता पाउन कठिनाइ भइरहेको उनी बताउँछन्। जन्मदर्तासम्बन्धी विषय ‘बालबालिका ऐन २०७५’ ले समेटेको छ । ऐनको धारा ५ मा ‘नाम, राष्ट्रियता र पहिचानको अधिकार’ उल्लेख छ ।