‘भित्र्याऊ, टिकाऊ र सिकाऊ’ नारा लिएपछि धनगढीले कस्ता कार्यक्रम गर्याे?
शिक्षाबाट वञ्चित बालबालिकाको शिक्षामा पहुँच पुर्याउन उपमहानगरपालिकाले ‘भित्र्याऊ, टिकाऊ र सिकाऊ’ नारा लिएको थियो ।काठमाडौं, फागुन २६ : धनगढी उपमहानगरपालिकाले पछिल्ला वर्ष शिक्षा क्षेत्रमा ‘भित्र्याऊ, टिकाऊ र सिकाऊ’ को नारा लिएको छ । शिक्षाबाट वञ्चित बालबालिकाको शिक्षामा पहुँच पुर्याउन उपमहानगरपालिकाले यो नारा लिएको थियो ।
उपमहानगरपालिकाका उपसचिव नरेन्द्रबहादुर खातीका अनुसार, ‘भित्र्याउ’ भनेको विद्यालय प्रवेश नभएका बालबालिकालाई सर्वप्रथम विद्यालय प्रवेश गराई शिक्षा दिनु हो । भित्र्याएर मात्र भएन टिकाउनु पनि पर्याे । धेरैजसो बालबालिका विद्यालय प्रवेश भएपछि लामो समय नटिकेर बीचमै छाड्ने हुन्छन् । गरिबी, विद्यालय टाढा हुनु, घरायसी समस्या आदि कारण कतिपय बालबालिकाले बीचमै विद्यालय छाड्ने गर्छन् । त्यसैले विद्यार्थीलाई टिकाइराख्न ‘टिकाऊ’को नारा लिइयो । टिकाएर मात्रै भएन सिकाउनुपर्याे।
विद्यार्थी भित्र्याउन, टिकाउन र सिकाउन उपमहानगरपालिकाले विभिन्न कार्यक्रम गरेको तर बजेट अभावले कति कार्यक्रम लागू हुन समस्या भएको उपसचिव खाती बताउँछन्।
बालबालिकालाई टिकाइराख्न उपमहानगरपालिकाले गरिब परिवारका बालबालिकाका लागि छात्रवृत्ति, पोसाकको व्यवस्था गरेको ‘उपमहानगरपालिकाले लिएको नारालाई साकार गर्न तत्काल छात्रवृत्ति, पोसाक वितरणको कार्यक्रम लिएका थियौँ । शिक्षकको अभाव रहेका सामुदायिक विद्यालयमा शिक्षक थप्ने र केही विद्यालयमा झोला वितरण गर्ने र सबै विद्यालयका खानेपानीको व्यवस्था गर्ने कार्यक्रम पनि छ,’ उनी भन्छन्, ‘बजेट सुनिश्चित नहुँदा ती कार्यक्रम लागू गर्न सकिएको छैन।’
यद्यपि पहिलेको तुलना अहिले शिक्षाको स्तर राम्रै रहेको उनी बताउँछन् । ‘शिक्षामा महिला र पुरुषको स्तर हेर्ने हो भने बराबरी रहेको छ,’ उनले भने, ‘विद्यालयमा छात्राका लागि छात्रामैत्री शौचालय र सेनिटेरी प्याडको व्यवस्था उपमहानगरपालिकाले गरेको छ।’
उनका अनुसार, उपमहानगरपालिकाभित्र सामुदायिक र संस्थागत विद्यालयमा १ देखि १२ कक्षासम्म पढ्ने विद्यार्थीको संख्या ५२ हजारभन्दा बढी छ । ‘भित्र्याऊ, टिकाऊ र सिकाऊ’ नारा लिएपछि विद्यालय छाड्ने दर घटेको छ,’ उनी भन्छन्, ‘विद्यार्थीमा रहेको सिकाइ उपलब्धि पनि क्रमशः वृद्वि भइरहेको छ । सामुदायिक विद्यालयमा शिक्षक अभावको दर पनि पहिलेको तुलनामा घटेको छ।’
संस्थागत विद्यालयमा पनि नगर शिक्षकको व्यवस्थाका लागि शिक्षक सहयोग अनुदान भनेर झन्डै दुई सय शिक्षकलाई थप पारिश्रमिकको व्यवस्था गरिएको उपसचिव खाती बताउँछन् ।
उनका अनुसार, धनगढी उपमहानगरपालिकाभित्र धेरै विद्यालयमा टिनको छानो छ । तराई क्षेत्र भएकाले गर्मीमा अति गर्मी र जाडोमा एकदमै जाडो हुने गर्छ । गर्मीमा टिन तातेर बालबालिका कक्षाकोठाभित्र बस्नै सक्दैनन् । ‘अहिले उपमहानगरपालिकाभित्र टिनमुक्त दुई सय कोठासम्मको २० भवन निर्माण भइरहेको छ,’ उनले भने।
उनका अनुुसार, धनगढी उपमहानगरपालिकाभित्र ७३ सरकारी विद्यालय र एक सय १० संस्थागत विद्यालय छन्।