‘राँगाको हड्डीले फोहोर उठाउँथ्यौँ’
हामीले लकडाउनमा एक दिन पनि बिदा पाएनाैं । तर स्वास्थ्य सामग्रीमा हामीलाई भेद गरियो, साबुन पनि दिइएन।काठमाडाैं, फागुन २४ : भोटाहिटी सडकको एक किनारमा ५० वर्षीया कुचीकार बिना पोडे थिइन्, अर्को किनारमा ४५ वर्षीया कुचीकार फूलमाया पोडे। काठमाडौं महानगरपालिकाले उपलब्ध गराएको युनिफर्म लगाई लामो सुरिलो कुचोले सडकका कुना–कुनाका फोहोर निकाल्न प्रयासरत छन् दुवै।
भोटाहिटीदेखि भद्रकालीसम्मका सडक कुचिकार बिना र फूलमायाको सरसफाइको रुट हो। आइतबार भोटाहिटीदेखि सडक सफा गर्दै नेपाल एयरलाइन्स कर्पोरेसन (एनएसी) सम्म आइपुग्दा बिना र फूलमायाको ऊर्जामा कमी देखिँदैनथ्यो। मानिसले खाद्य वा अखाद्य (सूर्तीजन्य) पदार्थ खाइसकेपछि त्यसका खोल जथाभावी सडक र फुटपाथमा फालिदिन्छन्। यसबाहेक हावाले उडाएर ल्याउने वा सडकबाटै निस्कने धुलोमैलो छँदैछ।
‘हिउँद–बर्खा फोहोर उत्तिकै हुन्छ,’ बिना भन्छिन्, ‘सबैभन्दा धेरै फोहोर यहीँ (एनएसी)मा हुन्छ। अझ रातिमा पसलेले बढी गर्छन्।’
उनीहरू दुवैले आफ्नो काम रुचिका साथ गर्छन्। उनीहरूलाई आफ्नो रुट सफा गर्न तीन घन्टाजति लाग्छ। यो अवधिमा उनीहरूले सडक र फुटपाथका फोहोर मात्र होइन, कतिपय मानिसका दुर्वचन पनि सोहोरेर ल्याउँछन्।
‘३५ वर्ष भयो मैले सडक सफा गर्न थालेको,’ बिना भन्छिन्, ‘अहिलेसम्म धेरै मानिसका वचन सहेरै काम गरिररहेकी छु।’
उनको जस्तै अनुभव फूलमायाले पनि भोगेकी छन्। सडकमा हिँड्नेहरू कराउँछन्– के गरेर बढारेको, आँखा छैन, देखिँदैन ? फूलमाया प्रश्न गर्छिन्, ‘हाम्रो कामलाई हेला गरेका हुन् कि हाम्रो जातलाई ?’
पहिलेको तुलनामा अहिले सडक सफा गर्नेप्रति मानिसको दृष्टिकोणमा परिवर्तन आएको फूलमाया बताउँछिन्। ‘अहिले कतिले बोलीचाली र व्यवहारमा सम्मान गर्छन्,’ फूलमाया भन्छिन्, ‘पहिले त हामीलाई छुन समेत नहेने व्यवहार देखाउँथे। सँगै बसेर चिया खाएको छ भने चिया खाएको ग्लास समेत हामीले माझ्नुपर्थ्याे।’
अहिले सडक सरसफाइको कामा हरेक जात वा समुदायका मानिस आएको उनीहरू बताउँछन्। ‘पहिले यो काम गर्नेमा हामी पोडे मात्र थियाैँ। आजकल बाहुन, क्षेत्री तथा अन्य समुदाय पनि छन्,’ कुचीकार सुइहिता पोडे भन्छिन्, ‘यस गर्दा यो कामको पनि सम्मान बढेको छ।’
४८ वर्षीया सुहिताको सडक सफाइ रुट हो, रानीपोखरी–भृकुटीमण्डप–भद्रकाली। रविभवन बस्ने सुइहिता बिहान ६ बज्नुअघि नै रानीपोखरी–रत्नपार्क आइपुग्छिन्। चियापानपछि सुरु हुन्छ उनको काम।
सुहिताका अनुसार, पहिले बुबाआमा गर्दै आएको ठाउँमा छोराछोरीले जागिर पाउँथे, अहिले त्यस्तो अवस्था छैन। ‘अब त यही कामका लागि पनि पावर लाग्ने भइसक्यो,’ सुहिता भन्छिन्, ‘हाम्रा छोराछोरीले चाहेर पनि यो काम पाउन कठिन हुन थालिसक्यो।’
सुहिताको भनाइमा सहमत हुँदै बिना भन्छिन्, ‘हामी सडकको सडकमै उता अफिसमा पावर लगाएर अनेक गरिसकेका हुन्छन्।’
स्वास्थ्य र सुरक्षा
सडक सफाइको काम आफैँमा जोखिमपूर्ण हो। चौबीसै घन्टा सवारीसाधन चलिरहेका हुन्छन्। बिहानमा सवारी साधनको खासै चाप हुँदैन तर तीव्र गतिमा चलाउने गर्छन्।
केही वर्षअघिको एउटा घटना सम्झँदा सुहितालाई डर लाग्छ। त्यतिबेला एकाबिहानै नानीबाबु पोडेले त्रिपुरेश्वर क्षेत्रको सडक बढार्दै थिए। तीव्र गतिमा आएको सवारी साधनले उनको ज्यान लियो। सुहिता भन्छिन्, ‘ज्यान जोगाएर काम गर्नुपर्छ।’
पहिले–पहिले कुचो छोटो हुने भएकाले निहुरिएर सडक बढार्नुपर्थ्याे। लामो समय निहुरिएर काम गर्दा ढाड दुख्थ्यो। अहिले लामो र सुरिलो कुचो भएो बढार्दा त्यति निहुरिनुनपर्ने बिना बताउँछिन्।
बिनाका अनुसार, उभिएर गर्नुपर्ने धुलोमैलो र फोहोरको काम भएकाले अहिले पनि ढाड दुख्नेदेखि श्वासप्रश्वासमा समस्या आउने, छालारोग लाग्ने हुन्छ। ‘मास्क र पन्जा लगाएर काम गर्छाैँ तर रोगले भेटाइहाल्छ,’ बिनाले भनिन्। हाल ब्रुमर आएसँगै मसिनो धुलोको समस्या भने हल भएको उनीहरूको भनाइ छ।
पहिले सडकको फोहोर बोक्न खर्पनको प्रयोग गरिन्थ्यो। बिना भन्छिन्, ‘पहिले त राँगाको करङको हड्डीले फोहोर उठाउँथ्यौँ।’ अहिले फोहोर उठाउन साभेलको प्रयोग हुन्छ, फोहोर बोक्ने साधनमा ठेलागाडादेखि ठुल्ठूला गाडी छन्।
तलब तथा सुविधा
दैनिक फोहोर र धुलोको सामना गर्नुपर्ने कुचीकारलाई मास्क र पन्जाको व्यवस्था महानगरपालिकाले गरेको छ। त्यस्तै, वर्षामा रेनकोट र जाडोमा केही न्यानो कपडा पनि उपलब्ध गराइन्छ। तर, यस्ता सामग्री नाम मात्रको हुने उनीहरूको गुनासो छ। ‘बर्सादी न पानी छेक्ने खालको हुन्छ, न त जाडोका लागि दिइने स्विटर बलियो हुन्छ,’ फूलमाया भन्छिन्, ‘हामीले लकडाउनमा एक दिन बिदा पाएनाैँ। तर स्वास्थ्य सामग्रीमा हामीलाई भेद गरियो, साबुन पनि दिइएन।’
बिनाले २०३४ सालदेखि यो काम गरेकी हुन्। त्यति बेला उनको तलब पाँच सय रुपैयाँ मात्र थियो। फूलमायाले एक हजार तीन सय २५ रुपैयाँ तलबदेखि काम गरेकी हुन्। सुइहिताको सुरुवाती तलब पनि करिब करिब फूलमायाको जस्तै थियो। हाल उनीहरूको उक्त तलब बढेर ३२ हजार पुगेको छ। तलबबाहेक अन्य सुविधा केही नपाएको उनीहरू बताउँछन्।
‘हामीले बिदा कहिल्यै पाउँदैनाैँ। हप्ते बिदा त परै जाओस्, लकडाउनदेखि कफ्र्युमा समेत खटिनुपर्छ,’ एकै स्वरमा उनीहरू भन्छन्, ‘कामको प्रकृति अनुसार हामीले हरेक दिन काम गरेका छौँ तर त्यसबापत भत्ता पाएका छैनाैं।’
विशेष सवारीका बेला दिउँसो पनि आउनुपर्ने बिना बताउँछिन्। ‘राजारानीको सवारीदेखि दरबारसम्म हामी सफा गर्न गएका छौँ,’ उनी भन्छिन्, ‘तर थप खटिएबापतको पैसा हामीले पाउन सकेका छैनाैं।’
कामनपा वातावरण व्यवस्थापन कार्यालय प्रमुख सरिता राई भने कर्मचारीले पाउने हरेक प्रकारका सुविधा तथा अतिरिक्त सुविधा पाएको बताउँछिन्। स्तरवृद्धिका कार्यक्रम समेत भएको उनको भनाइ छ।
केही वर्षयता बाटो सफा गर्न निजी कम्पनी सामेल छन्। निजीबाट आएका कर्मचारीलाई तलबका साथै सुविधा पनि कम रहेको प्रमुख राईले जानकारी दिइन्। उनका अनुसार, निजीवालाहरूको मासिक तलब १३ हजारबाट बढेर हाल १५ हजार पुगेको छ।
प्रमुख राईका अनुसार, पहिले १७–१८ सय सरसफाइ कर्मचारी थिए। ब्रुमर ल्याएपछि महानगरसँग पाँच सयभन्दा कम संख्यामा कर्मचारी छन्। ब्रुमर आएकै कारण कर्मचारी कटौती गरिएको होइन, अधिकांश कर्मचारीले अवकाश पाएका हुन्। अहिले अधिकांश कर्मचारी २८ देखि ३० वर्ष पुराना छन्।
कामनपा वातावरण व्यवस्थापन कार्यालयका इन्सपेक्टर राजेश भट्टराईका अनुसार, हाल महानगरपालिकाभर करिब चार सय ४३ सरसफाई कर्मचारी छन्। एक सय ३० कर्मचारी महानगरपालिकाको व्यवस्थापन कार्यालयका छन् भने ६६ कर्मचारी वडा कार्यालयका छन्। प्रत्येक वडाका नाइकेको सुपरीवेक्षणमा कर्मचारी खटाइने उनले बताए।