Kathmandu Press

माओवादीमा योगदानको अपमान : केन्द्रीय सदस्यमा परेनन् धादिङका रामबहादुर भण्डारी 

भण्डारी पछिल्लो २७ वर्षदेखि जिल्लाको राजनीतिमा सक्रिय छन् । यो अवधिमा उनी पार्टीको सिद्धान्त र विचारमै अडिग रहे, कसैको चाकडी गरेनन् ।
माओवादीमा योगदानको अपमान : केन्द्रीय सदस्यमा परेनन् धादिङका रामबहादुर भण्डारी 
Hardik ivfHardik ivf

काठमाडौं, फागुन २३ : गत पुसमा माओवादी केन्द्रले आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न ग¥यो । महाधिवेशनबाट दुई सय ४७ केन्द्रीय सदस्य चयन भए । त्यतिबेला धादिङबाट पाँच केन्द्रीय सदस्य छानिएका थिए । ती पाँच केन्द्रीय सदस्यमा शालिकराम जम्मकट्टेल, पुष्पविक्रम मल्ल, कल्पना धमला, दीपा सिंखडा र ओम शर्मा परेका छन् । 

धादिङबाट केन्द्रीय सदस्यमा पुराना नेता रामबहादुर भण्डारी नपरेपछि जिल्लाका कार्यकर्ताले चर्को असन्तुष्टि पोखेका थिए । भण्डारीलाई केन्द्रीय सदस्य हुन नदिन जिल्लाकै नेताहरूले भूमिका खेलेको भन्दै कार्यकर्ताले नेतृत्वको चर्को आलोचना गरेका थिए । 

जिल्लाको नेतृत्व तहमा रहेका नेताले भने पार्टीका लागि भण्डारीको योगदानको उचित कदर हुने र थप हुने केन्द्रीय कमिटीमा उनको नाम समेटिने बताउँदै कार्यकर्तालाई विरोध नगर्न आग्रह गरेका थिए । तर सोमबार अध्यक्ष प्रचण्डबाट मनोनीत केन्द्रीय कमिटीको सूचीमा भण्डारी नपरेपछि धादिङमा माओवादीमाथि पुनः आलोचना सुरु भएको छ । 

जिल्लामा माओवादी केन्द्रको संगठन विस्तारमा भण्डारीको योगदानका बारेमा सबै अवगत छन्। पार्टीमा पुर्याएको योगदानको आधारमा जिल्लाबाट केन्द्रीय सदस्य हुने सूचीको पहिलो प्राथमिकतामा भण्डारी पर्नु पर्ने हो तर उनको योगदानलाई विर्सिएर माओवादी केन्द्रले भण्डारीलाई जिम्मेवारीविहीन सरह  बनाएको छ। 
 

पार्टीमाथिको आक्रमणका रूपमा लिएको छु : भण्डारी 

आफूलाई जिम्मेवारविहीन बनाएर सिंगो धादिङको अपमान गरेको भण्डारीले बताएका छन् । उनले टेलिफोनमार्फत भने, ‘यसलाई नेताहरूको गुटगत मानिसकता, संकीर्णता र व्यक्तिवादी चरित्रको उपजका रूपमा लिएको छु ।’ पछिल्लो समय पार्टीमा राजनीतिक व्यक्तिको भन्दा बिचौलियाको रजगज बढेको उनको भनाइ छ । ‘पार्टीभित्र गुटगत राजनीति, व्यक्तिवादी चरित्र र बिचौलियाको अन्त्य नहुँदासम्म योगदानको कदर हुँदैन,’ उनले भने, ‘पार्टीको विचारलाई स्थापित गर्नेभन्दा आफ्ना आसेपासे र गुटलाई बलियो बनाउन नेता लागेका छन् । यस्तो प्रवृत्तिले पार्टीका लागि योगदान पु¥याउनुहरूमाथि सधैँ अन्याय गरिरहन्छ ।’

भण्डारी पछिल्लो २७ वर्षदेखि जिल्लाको राजनीतिमा सक्रिय छन् । यो अवधिमा उनी पार्टीको सिद्धान्त र विचारमै अडिग रहे, कसैको चाकडी गरेनन् । ‘ठूला नेताको चाकडी नगरेर पो कि ?’ उनी भन्छन्, ‘अहिले मलाई निलम्बनमा पारिएजस्तै जिम्मेवारीविहीन बनाइएको छ, यसलाई ममाथिको मात्र नभई पार्टीमाथिकै आक्रमणका रूपमा लिएको छु ।’

पार्टी राजनीतिमा आफूलाई जिम्मेवारविहीन महसुस गरेका भण्डारी अब उनी के गर्छन् त ? यस सम्बन्धमा तत्काल कुनै धारणा नबनाएको र कुनै निर्णय लिइनसकेको उनको भनाइ छ । ‘माओवादी नै जिन्दगी भनेर हिँडेकै हौँ । अहिले पनि अधुरा क्रान्ति पूरा गर्न समर्पित नै छु,’ उनले भने, ‘पार्टीले अन्याय ग¥यो भन्दैमा विकल्प सोचिहाल्ने ठाउँमा म पुगेको छैन, पार्टीभित्र अभिभावकीय भूमिका रहन्छ ।’

को हुन् भण्डारी ?

२०३६ सालदेखि मसाल हुँदै माओवादी राजनीतिमा आएका भण्डारी दशवर्षे जनयुद्धमा भूमिगत भएका थिए । जनयुद्धकालमै उनले आफ्ना दुई छोरा गुमाए । तत्कालीन सरकारले ‘किलो सेरा २’ अपरेसन चलाउँदा भण्डारीमाथि गोली प्रहार भएको थियो ।

प्रहरीले मृत्यु भयो भनेर फालेका भण्डारीलाई स्थानीयले उद्धार गरी अस्पताल पु¥याएका थिए । उनलाई नेता कार्यकर्ताले ‘जिउँदो सहिद’ भनेर सम्बोधन गर्ने गर्छन् । घाइते अवस्थामै उनी ३६ महिना जेल समेत बसेका थिए ।

जिल्लाभित्र उनलाई माओवादीका कार्यकर्ताले मात्र होइन, अन्य राजनीतिक दलका नेताले समेत सम्मान गर्छन् । जिल्लावासीका नजरमा उनी एक राजनीतिक दलका नेताभन्दा अभिभावकका रूपमा परिचित छन् । 

भण्डारीमाथि अन्यायको शृंखला

अहिले मात्र होइन, भण्डारीमाथि माओवादी केन्द्रले विभिन्न चरणमा अन्याय गर्दै आएको धादिङकै नेताहरू बताउँछन् । यसपालिको महाधिवेशन सम्पन्न हुनुअघि जिल्ला तथा प्रदेश सम्मेलनमा भण्डारीलाई पार्टीको केन्द्रीय सदस्यमा लैजाने भनिएको थियो । त्यतिबेला उनले जिल्लाको सहइन्चार्जमा चित्त बुझाएका थिए । आफूलाई केन्द्रीय सदस्य नबनाउन जिल्लाका नेताहरू नियोजित रूपमै लागेको भण्डारी बताउँछन् । 

यसअघि २०७० मा सम्पन्न निर्वाचनमा माओवादीले भण्डारीलाई समानुपातिक उम्मेवार बनाएको थियो । उनको नाममा भोट मागे पनि पार्टीले पूर्वप्रहरी महानिरीक्षक रविन्द्र प्रताप शाहलाई सांसद चयन ग¥यो । सालिन नेताको भोटको अपमान पार्टीले गरेको भन्दै आक्रोशित कार्यकर्ताले जिल्लास्थित माओवादी कार्यालयमै आगजनी गरेका थिए ।
 

प्रकाशित मिति: १८:३१ बजे, सोमबार, फागुन २३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्