१००० रुपैयाँ कृषक पेन्सन : कृषक भन्छन्- केही राहत भएको छ
बुढीगंगा नगरपालिकाले ३७ कृषकलाई मासिक एक हजार रुपैयाँ कृषक पेन्सन दिँदै आएको छ । नगरपालिकाले ‘कृषक पेन्सन कार्यक्रम कार्यान्वयन कार्यविधि– ०७६’ ल्याएको छ । जसमा कृषक पेन्सनका लागि कृषक छनोटका आधार उल्लेख गरिएको छ ।काठमाडौं, फागुन १७ : बाजुराको बुढीगंगा नगरपालिका– ८ बाह्रबिस टोलका तपेश रावलले पछिल्लो आठ वर्षदेखि आठ रोपनी जग्गामा मौसमी तथा बेमौसमी तरकारी लगाउँदै आएका छन् । अहिले उनको खेतमा काउली, बन्दा, उखु, कांक्रा, प्याज, टमाटर, लसुन लगायत तरकारी छन्।
उनको उत्पादन स्थानीय बजारसँगै बाजुराको सदरमुकाम मार्तडी, अछामको साँफेबगर क्षेत्रसम्म बिक्री वितरण हुने गरेको छ । उनले गत वर्षको असार मसान्तदेखि नगरपालिकाले मासिक रूपमा दिने एक हजार रुपैयाँ कृषक पेन्सन बुझ्न थालेका छन् ।
नगरपालिकाले आफूलाई मासिक पेन्सनभत्तासँगै तरकारीको बीउबिजन, मल र कृषि औजारमा सहुलियत दिने गरेको उनी बताउँछन् । नगरपालिकाले कृषि शाखामार्फत बेला बेला कृषिसम्बन्धी तालिम तथा गोष्ठी गर्दै आएको छ । ‘कहिलेकाहीँ तरकारीमा रोग अथवा कीरा लाग्यो, प्राकृतिक प्रकोप आयो भने नगरपालिकाले सहयोग गर्छ,’ तपेश भन्छन्, ‘कोरोना महामारीले गर्दा बजार पाउन गाह्रो भएको थियो । तर नगरपालिकाले हाम्रो उत्पादन बिक्री वितरणका लागि समन्वय गरिदियो ।’
नगरपालिकाबाट प्राप्त पेन्सनबाट तपेशले आवश्यक बिउबिजन तथा विषादी किन्ने गर्छन् । उनी भन्छन्, ‘एक हजार त केही होइन, गरिखाने कृषिकका लागि यसले थप राहत र प्रोत्साहन मिलेको छ ।’
बुढीगंगा नगरपालिका– १० सिंघाडाका तिलक जैसीले विगत पाँच वर्षदेखि पोल्ट्री फर्म र १५ रोपनी जग्गामा मौसम अनुसारको तरकारीखेती गर्दै आएका छन् । अहिले उनको पोल्ट्री फर्ममा दुई हजार कुखुरा छन् ।
काठमाडौं शंकरदेव क्याम्पसबाट स्नातकोत्तर गरी घर (बाजुरा) फर्केका उनले लकडाउन भएदेखि बुवाआमालाई कृषि पेसामा सघाउन थालेका थिए । अहिले कृषि पेसाबाटै वार्षिक रूपमा आठदेखि १० लाखसम्म आम्दानी गर्दै आएको उनी बताउँछन् ।
पहिले उनका बुवाआमाले होटल व्यवसाय गरेका थिए । त्यसबाट सोचे अनुरूप आम्दानी नभएपछि उनीहरुले कृषि पेसा गर्न थालेका हुन् । सिजनका बेला भारतबाट तरकारी आयात हुँदा आफूहरुलाई बजारको समस्या पर्ने तिलकको भनाइ छ । ‘सिजनका बेला भारतबाट आएको तरकारी सस्तो हुन्छ । हामीले पनि सस्तैमा बेच्नुपर्छ,’ तिलक भन्छन्, ‘बेमौसममा भने स्थानीय बजारमा राम्रै बिक्री हुन्छ ।’
तिलकले पनि नगरपालिकाबाट कृषक पेन्सन पाएका छन् । उनी भन्छन्, ‘नगरपालिकाका अन्य कृषकका लागि पनि यो सुविधा उपलब्ध गराउन सके अझै प्रभावकारी हुन्थ्यो ।’
बुढीगंगा नगरपालिका– ७ बायल टोलका तिलक विष्ट विगत १२ वर्षदेखि कृषि पेसामा संलग्न छन् । अहिले उनले आफ्नै टोलमा सय बोट ड्र्यागन फुड, पाँच हजार बोट उखु र एक बिघा जमिनमा तरकारीखेती गर्दै आएका छन् । ‘पहिले व्यवसाय सञ्चालन गर्दा बिउ किन्नै समस्या हुन्थ्यो,’ उनी भन्छन्, ‘पेन्सन भत्तासँगै नगरपालिकाबाट बिउबिजनमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ, यसले केही हदसम्म राहत मिलेको छ ।’
३७ कृषकलाई पेन्सन
बुढीगंगा नगरपालिकाले ३७ कृषकलाई मासिक एक हजार रुपैयाँ कृषक पेन्सन दिँदै आएको छ । नगरपालिकाले ‘कृषक पेन्सन कार्यक्रम कार्यान्वयन कार्यविधि– ०७६’ ल्याएको छ । जसमा कृषक पेन्सनका लागि कृषक छनोटका आधार उल्लेख गरिएको छ ।
कृषि विकास शाखा बाजुराका नायब प्राविधिक सहायक (नाप्रास) दीपक थापा गत असारबाट कृषकलाई प्रोत्साहन गर्ने हेतुले बुढीगंगा नगरपालिकामा रहेका ३७ कृषकलाई पेन्सन दिइएको बताउँछन् । पेन्सन पाउनका लागि कृषि विकास शाखाले केही मापदण्ड राखेको हुन्छ, ती मापदण्ड पूरा भए मात्र कृषकले पेन्सन पाउन सक्छन् । थापा भन्छन्, ‘कृषक पेन्सन पाउनका लागि कम्तीमा तीन रोपनी जमिनमा तरकारी लगाएको हुनुपर्ने, भेडाबाख्रा पालन गरेको हो भने कम्तीमा ४० जति भेडा वा बाख्रा पालेको हुनुपर्ने, एक हजार ब्यालर कुखुरा पाल्दा दुई सय स्थानीय जातको कुखुरा अनिवार्य रूपमा पालेको हुनुपर्ने जस्ता मापदण्ड पूरा गर्नुपर्छ ।’
०७७/७८ मा ३७ कृषकलाई पेन्सन भत्ता दिएकामा आर्थिक वर्ष २०७८/७९ मा नयाँ कृषकले पनि आवेदन भरेको थापा बताउँछन् । आवेदन दिएका कृषकको फिल्ड भिजिट गरिसकिएको तर पेन्सनभत्ता दिन बाँकी रहेको थापाले बताए ।