एमसिसी विरोध आन्दोलनका कारण बानेश्वर क्षेत्रका व्यापारी पीडामा
बानेश्वरमा पछिल्लो साता दश दिनदेखि अमेरिकी सहयोग ‘एमसिसी’ सम्झौताको विरोधस्वरूप आन्दोलन भइरहेको छ।काठमाडौं, फागुन ८ : सुरेश थापा मगर सधैँझैँ बिहान ९ बजेतिर नयाँ बानेश्वर चोकमा रहेको आफ्नो भाँडा पसल खोल्न आएका थिए। उनको पसल साँघुरो छ, ग्राहकलाई सामान देखाउन उनले पसल बाहिरको भागमा पनि भाँडा राख्ने गर्छन्। तर पसल खोलेको केही समयमै एक हुल मान्छेको भागदौडका कारण बाहिर रहेका सबै सामानको नोक्सानी भएको उनले बताए।
बानेश्वरमा पछिल्लो साता दश दिनदेखि अमेरिकी सहयोग ‘एमसिसी’ सम्झौताको विरोधस्वरूप आन्दोलन भइरहेको छ। अर्कोतिर यता सत्ता गठबन्धनले आज मात्रै व्याख्यात्मक घोषणासहित एमसिसी पारित गर्ने निर्णय गरेको छ। यो निर्णयसँगै बानेश्वर क्षेत्रमा एमसिसी विरोधको आन्दोलन थप चर्किएको छ।
‘आन्दोलनका कारण हामी व्यवसायीलाई प्रत्यक्ष असर पु¥याएको छ। विरोध प्रदर्शनी सुरु हुनेबित्तिकै यहाँ भागदौड सुरु भइहाल्छ, यस्तो अवस्थामा पसल खोल्ने त कुरै भएन,’ सुरेश भन्छन्, ‘प्रहरी बिहानदेखि बाटोमा बसिरहेको हुन्छ। ग्राहक वा पैदल यात्रुलाई पनि एक किसिमको त्रास हुन्छ।’
पछिल्ला केही दिनदेखि उनले बिहानमा केहीबेर पसल खोल्ने गरेका छन्। कुन बेला के हुने हो भन्ने त्रासका कारण व्यापार हुन नसकेको उनको भनाइ छ।
यस्तै नयाँ बानेश्वरमै फार्मेसी चलाइरहेको श्याम कार्की पनि आन्दोलनका कारण पसल बन्द गर्नुपर्दा निराश भएका छन्। अहिले विगतको तुलनामा २५ प्रतिशतसम्म व्यापार नोक्सानी बेहोर्नुपरिरहेको उनको भनाइ छ।
‘हामी सानो पसल राखेर दैनिकी चलाउनुपर्नेलाई धेरै नोक्सानी भएको छ,’ उनी भन्छन्, ‘कोही भागेर आउँछन्, कोही ढुंगा हान्छन्, त्यसैले प्रायः दिउँसो पसल बन्द गरेका छौँ।’ कोरोनाबाट भर्खरै तंग्रिन लागेको व्यापार अहिले आन्दोलनको चपेटामा परेको उनको भनाइ छ।
‘ड लेडी फ्यासन कलेक्सन’ सञ्चालन गरिरहेकी मुना भुजेलले आन्दोलनका कारण पसल खोल्न पाएकी छैनन्। ‘यहीँ नजिकैको दिदीले प्रहरीलाई आन्दोलनकारीबाट जोगाएको भनेर अहिलेसम्म धम्की आइरहेको सुन्छु, यहाँ कहिले के हुन्छ भन्ने नै टुंगो छैन,’ उनले भनिन्, ‘पसल खोल्न पाको छैन, बन्द गरिहाल्नुपर्छ। अहिले बोहोनी हुनै गाह्रो छ।’
बानेश्वर क्षेत्रमा होटल सञ्चालन गरिरहेकी प्रकृति राईको पीडा अर्काे छ। उनले अरुले जस्तो साँझ बिहान मात्र होटल खोलेर खासै ग्राहक आउँदैनन्। ‘हाम्रो ग्राहक भनेकै दिउँसोको खाजा खाने हुन्। त्यही बेला आन्दोलन हुन्छ,’ उनले भनिन्, ‘कसैले बन्द गर त भन्दैनन् तर आफ्नै सुरक्षाका लागि होटल बन्द गर्नुपर्ने हुन्छ। अहिले धेरै घाटा बेहोरिरहेका छौँ।’