२८ वर्षीय विमल प्यारालाइसिसले घरमै थलिए, उपचारका लागि सरकारदेखि साथीभाइसँग सहयोगको याचना
करिब डेढ महिनाजति आइसियुमा राखिएका विमललाई होस् नआउँदासम्म नाकबाट औषधि दिइयो । अपरेसनदेखि नै उनको शरीरको दायाँ भाग पूरै प्यारालाइसिस भएको छ ।काठमाडौं, फागुन ११ : कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिका– ४ मौवाफाटाका २८ वर्षीय विमल रावल मंसिर १२ गते दिउँसोसम्म सकुशलै थिए । तर साँझ ७ बजेतिर उनलाई एक्कासि स्ट्रोक (आघात) भयो । परिवारले एम्बुलेन्स बोलाई उनलाई कैलालीको अत्तरियास्थित पद्मा हस्पिटलमा पुर्यायो ।
त्यहाँ उपचार हुन नसक्ने भनेपछि धनगढीस्थित सिपी हस्पिटलमा पुर्याइयो । त्यहाँ पनि उपचार हुन नसक्ने बताएपछि धनगढीकै निसर्ग हस्पिटल पुर्याइयो । त्यहाँ चेकजाँच गरी डाक्टरले उच्च रक्तचापका कारण टाउकोको नसामा रगत जमेकाले स्ट्रोक आएको बताए । नसाको अपरेसन गर्न जोखिम थियो । डाक्टरले अपरेसन सक्सेस हुन पनि सक्छ नहुन पनि सक्छ भनेका थिए । अपरेसन त सक्सेस भयो तर १२ दिनसम्म विमल होसमा आएनन् ।
करिब डेढ महिनाजति आइसियुमा राखिएका विमललाई होस् नआउँदासम्म नाकबाट औषधि दिइयो । अपरेसनदेखि नै उनको शरीरको दायाँ भाग पूरै प्यारालाइसिस भएको छ ।
विमलका भाइ दीपेन्द्र रावलका अनुसार, अहिलेसम्म औषधि उपचारमा १३ लाख रुपैयाँ खर्च भइसकेको छ । हस्पिटलमा राख्न पैसा अभाव हुने भएपछि विमललाई अहिले घर (कञ्चनपुर) ल्याइएको छ । अप्र्रेसनका क्रममा उनको टाउकोको हड्डी निकालिएको थियो । विमलका भाइ दीपेन्द्र भन्छन्, ‘डाक्टरले थोरै बोल्न सक्ने भएपछि हड्डी राख्नका लागि आउनु भनेका छन् । अहिले दाइ बोल्न खोज्दा सुरुको अक्षरबाहेक बोल्न सक्नुहुन्न ।’
अहिले घरमै दुई–तीन दिनको फरकमा स्थानीय डाक्टर बोलाई ड्रेसिङ लगायत उपचार गर्ने गरिएको छ । फिजियो थेरापी लगायत उपचारमा हरेक दिन पाँच हजारको हाराहारीमा खर्च भइरहेको दीपेन्द्र बताउँछन् ।
विमल परिवारका जेठा छोरा हुन् । मध्यम वर्गीय परिवारका विमलले अत्तरियास्थित उग्रतारा होटलमा काम गर्थे । उनी अकस्मात बिरामी भएपछि घरको कमाइ रोकिएको छ भने उनको उपचार नै कसरी गर्ने भन्ने समस्या निम्तिएको छ । खर्च जुटे वा सहयोग मिले उनलाई तत्काल राम्रो हस्पिटलमा उपचार गर्नुपर्नेछ । अहिले विमल घरमै मृत्युसँग संघर्ष गरिरहेका छन् ।
अहिलेसम्मको उपचारका लागि आफन्त, स्वदेश–विदेशमा रहने साथीभाइले सहयोग गर्दै आए । दीपेन्द्र भन्छन्, ‘सरकार र साथीभाइबाटै सहयोग मिले पनि उपचारका लागि आजै लैजान्थेँ । दाइको यो अवस्था हामी सबैलाई सहिनसक्नुभएको छ ।’
सहयोगका लागि सम्पर्क नम्बर : ९८१०६१०४११ र इसेवा नम्बर ९८१०७१७९७३ ।