‘एमसिसी स्वाहा’ भन्दै सडकमै होम
‘एमसिसी स्वाहा’ नाम दिइएको होम कार्यक्रममा अनेरास्ववियु अध्यक्ष सुदेश पराजुलीसहित अन्य विद्यार्थी नेता-कार्यकर्तालगायत सहभागी भएका छन्।काठमाडौं, फागुन ८ : सत्तारूठ गठबन्धनको एक दल नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरुले केही दिनयता एमसिसीविरुद्धको प्रदर्शनलाई निरन्तरता दिँदै आएका छन्।
यस क्रममा आज (आइतबार) पनि उनीहरूले नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन्। एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियुको नेतृत्वमा आज त्यहाँ सडकमै होम गरेका छन्।
‘एमसिसी स्वाहा’ नाम दिइएको होम कार्यक्रममा अनेरास्ववियु अध्यक्ष सुदेश पराजुलीसहित अन्य विद्यार्थी नेता-कार्यकर्तालगायत सहभागी भएका छन्।
सडकमै पूजामण्डप जस्तो बनाइएको छ। त्यसैको वरिपरि बसेर उभिएर उनीहरुले मन्त्रोच्चारण गर्दै ‘एमसिसी स्वाहा’ भन्दै होम गरेका हुन्।
एकीकृत समाजवादीले एमसिसी संसदमा टेबल गर्न दिने भने पनि यथास्थितिमा पारित गर्न नदिइने बताएको छ। तर सोही पार्टीका सम्मानित नेता झलनाथ खनाल भने एमसिसी टेबुल गर्न दिने विषयको विपक्षमा उभिएका छन्।
त्यस्तै माओवादी केन्द्रका कार्यकर्ताहरूले पनि ‘नो एमसिसी’ भन्दै संसद भवन घेराउ कार्यक्रम गरिरहेको छ। यो पार्टी पनि यथास्थितिमा एमसिसी पारित गर्न नहुने पक्षमा रहेको छ। एकीकृत समाजवादीले एमसिसी टेबुल गर्न दिने निर्णय गरेपछि माओवादी केन्द्र पनि सोही लिन बाध्य भएको थियो।