जागिर छाडेर कृषिमा आएका स्नातकोत्तर हरेन्द्र, प्रदेशकै उत्कृष्ट कृषकका रूपमा पुरस्कृत
हरेन्द्र २०७१ सालदेखि कृषि पेसामा छन् । सुरुमा उनले जर्सी गाई पालेका थिए, ४० लाख रुपैयाँ बैंकबाट ऋण लिएर । त्यतिबेला उनले आफूले पालेका गाईको दूधसँगै गाउँलेबाट गाई–भैंसीको दूध संकलन गरी बिक्री तथा वितरण गरेका थिए ।काठमाडौं, फागुन ५ : कृषक हरेन्द्र बोहोरा सुदूरपश्चिम सरकारद्वारा प्रदेशस्तरको उत्कृष्ट कृषक पुरस्कारबाट १७ माघमा सम्मानित भए ।
विदेश नगई स्वदेशमै कृषिजन्य उत्पादन गरिरहेका कृषकमध्ये उत्कृष्ट केहीलाई थप प्रोत्साहन गर्न पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय दिपायलले गत वर्षदेखि पुरस्कृत गर्दै आएको छ । यो वर्ष २३ कृषक सिफारिस भएका थिए, तीमध्ये उत्कृष्ट १५ जनालाई पुरस्कृत गरिएको निर्देशनालयका सूचना अधिकारी पुष्करराज नाथको भनाइ छ ।
कञ्चनपुर, कृष्णपुर नगरपालिका–४ मौवाफाँटाका ३३ वर्षीय हरेन्द्र बोहरा युवा कृषि व्यवसायी हुन् । प्रदेश सरकारबाट पाएको यस पुरस्कारले आफूलाई थप प्रेरणा मिलेको उनी बताउँछन् ।
जागिर छाडेर कृषिमा
शंकरदेव क्याम्पस काठमाडौंबाट अकाउन्ट विषय लिएर मास्टरसम्मको अध्ययन गरेका उनी सानैदेखि कृषि पेसाप्रति चासो राख्थे । पढाइपछि तीन महिना ‘हिमाल हाइड्रो पावर’ र ‘गोल्छा अर्गनाइजेसन’मा ६ महिना काम गरेपछि आफ्नै लगानीमा केही गर्नुपर्छ भन्ने लागेर जागिर छाडी कृषि पेसामा लागेको उनी बताउँछन् । ‘बुवाले घरको पाँच कट्ठा जमिनमा केराखेती गर्दै आउनुभएको थियो,’ उनी भन्छन्, ‘कृषिमा लाग्ने मेरो प्रेरणाको स्रोत बुवा नै हुनुहुन्छ ।’
हरेन्द्र २०७१ सालदेखि कृषि पेसामा छन् । सुरुमा उनले जर्सी गाई पालेका थिए, ४० लाख रुपैयाँ बैंकबाट ऋण लिएर । त्यतिबेला उनले आफूले पालेका गाईको दूधसँगै गाउँलेबाट गाई–भैंसीको दूध संकलन गरी बिक्री तथा वितरण गरेका थिए । ‘यो व्यवसाय चार वर्ष (०७५ सम्म) चल्यो,’ हरेन्द्र भन्छन्, ‘अनुभवको अभावले सोचेजति उपलब्धि हासिल गर्न नसकेपछि बन्द गरेँ ।’
ऋण लिएर व्यवसाय गरेका हरेन्द्रले पहिलोपटक असफल हुँदैमा हरेस खाएनन् । त्यसपछि उनले पुनः ४० लाख रुपैयाँकै लगानीमा कुखुरापालन सुरु गरे । कुखुरापालनबाट भने उनले पछाडि फर्कनुपरेन ।
अहिले उनको दुईवटा कुखुरा फर्म सञ्चालनमा छन्, जहाँ पाँच हजार कुखुरा छन् । कुखुराबाट दैनिक एक सय १२ क्रेटसम्म अन्डा उत्पादन हुन्छ ।
कुखुरा व्यवसायमा उनलाई परिवारका तीन सदस्यको सहयोग छँदै छ, त्यसमाथि उनले अन्य दुई कर्मचारीलाई रोजगारी दिएका छन् ।
प्रचलित भनाइ छ, सफलताका लागि जोखिम मोल्न सक्नुपर्छ । अहिले उनले एकपछि अर्को कृषिजन्य आम्दानीको क्षेत्रमा लगानी गरिरहेका छन् । आफू हुँदाखाँदाको जागिर छाडेर कृषिमा आएका थिए नै, निजी क्षेत्रमा अकाउन्टेन्ट पोस्टमा जागिरे श्रीमतीलाई पनि व्यवसायमा संलग्न गराएका छन्, जागिर छोडाएर । हरेन्द्र भन्छन्, ‘हामीलाई हाम्रै काम भ्याइनभ्याई छ ।’
उत्पादन र बजार
कुखुरासँगै उनले बाख्रा र बुंगुर पनि पालेका छन् । बुंगुर र बाख्राका लागि छुट्टाछुट्टै खोरको निर्माण गरिएको छ । अहिले उनको फार्ममा १५ वटा बाख्रा र ३० वटा बंगुर छन् । बाख्रापालन सुरु गरेको चार वर्ष पुग्यो भने बंगुर पाल्न सुरु गरेको एक वर्ष ।
योसँगै हरेन्द्रले चार वर्षदेखि सात बिघा जग्गा भाडामा लिएर केराखेती पनि गर्दै आएका छन् । त्यस्तै, माछापालनका पोखरी निर्माणको काम भइरहेको उनी बताउँछन् ।
बाख्रा र भैँसीका लागि उनले १० कट्ठा जमिनमा बहुवर्षीय र सिजन अनुसारका घाँस लगाएका छन् । कुखुरालाई चाहिने दाना पनि उनी आफैँ उत्पादन गर्छन् । दाना उत्पादनका लागि घरमै मेसिन राखिएको छ । दाना उत्पादनका लागि मकै, भटमासको पिना, राइस ब्रान्ड, मार्बल ग्रिनजस्ता कच्चा पदार्थ आवश्यक पर्छ । यी कच्चा पदार्थ पनि भएसम्म स्थानीयवासीकै प्रयोग गर्ने उनी बताउँछन् । ‘पुगेन भने मात्रै आयात गर्छौं,’ उनले भने ।
हरेन्द्रले उत्पादन गरेको अन्डा कैलाली र कञ्चनपुरका स्थानीय बजारमा बिक्री हुन्छन् । अन्डा बिक्री गर्दा मूल्य मनोमानी किसिमले राख्न पाइँदैन । चितवनले तोकेकोे मूल्य अनुसार बिक्री गर्नुपर्छ । कुखुराबाट मासिक डेढदेखि दुई लाखसम्म आम्दानी हुने उनी बताउँछन् ।
‘देशमै केही गर्नुपर्छ भन्ने सोच पहिलेदेखि थियो, अहिले पनि छ र भोलि पनि रहनेछ,’ उनी भन्छन्, ‘सफलता एक दिन अवश्य मिल्छ तर समय लाग्छ र संघर्ष गर्नुपर्ने हुन्छ ।’