Kathmandu Press

एमसिसीविरूद्धको प्रदर्शनमा झडप, नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त

प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन थालेपछि झडपकाे स्थिति सिर्जना भएकाे थियो।
एमसिसीविरूद्धको प्रदर्शनमा झडप, नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त

काठमाडौं, फागुन ४ : एमसिसीको विरोधमा प्रदर्शन गरिरहेकाहरूमाथि प्रहरीले हस्तक्षेप गरेपछि काठमाडौंको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ।

सरकारले आजको प्रतिनिधिसभा बैठकमा एमसिसी प्रस्ताव टेबुल गर्ने तयारी गरेको भन्दै माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीलगायत अन्य विभिन्न दलका कार्यकर्ता तथा समर्थकहरू बानेश्वर क्षेत्रमा भेला भएर एमसिसीको विरोधमा प्रदर्शनमा उत्रिएका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कार्यकर्ता पनि विरोध प्रदर्शनमा सहभागी भएको जनाइएको छ। प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन थालेपछि झडपकाे स्थिति सिर्जना भएकाे थियो। प्रदर्शनकारी अघि बढ्न थालेपछि उनीहरूलाई रोक्न प्रहरीले पानीको फोहोरासमेत प्रयोग गरेको छ।

Hardik ivf

झडपका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन्। केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रदर्शनकारीले प्रहरीमाथि ढुंगाइँटा आदि प्रहार गरेका थिए।    

नयाँ बानेश्वर क्षेत्रमा विरोध प्रदर्शन भएका कारण माइतीघर–तीनकुने सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ।

संसद बैठकअघि कांग्रेस सभापितसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज संसदमा एमसिसी पेस नगर्ने सहमति भएको थियो।

सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरुबीच सहमति नजुटेको भन्दै एमसिसीलाई कार्यसूचीमा नराख्ने बताएका थिए।

प्रतिनिधिसभा बैठक बस्नुअघि संसद बैठकका कार्यसूचीबारे छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए। बैठकमा एमसिसी टेबुल गर्ने विषयमा सहमति जुट्न नसकेकाे हाे। 

आजको प्रतिनिधसभा बैठक सकिएको छ भने अर्को बैठक शुक्रबार बस्नेछ। 

 

 

 

प्रकाशित मिति: १३:५७ बजे, बुधबार, फागुन ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्