Kathmandu Press

गुरु मीना : १२ वर्ष टेम्पु चलाइन्, एक वर्ष माइक्रो, अहिले निःशुल्क कार चलाउन सिकाउँछिन् 

उनको बढी समय महिला चालक समूहमा र कार चलाउन सिकाउँदैमा बित्छ । उनी भन्छिन्, ‘कार सिक्न आउनेमध्ये तिर्न सक्नेसँग मासिक पाँच हजार रुपैयाँ लिन्छु । नसक्नेलाई निःशुल्क सिकाएकी छु ।’ 
गुरु मीना : १२ वर्ष टेम्पु चलाइन्, एक वर्ष माइक्रो, अहिले निःशुल्क कार चलाउन सिकाउँछिन् 

काठमाडौं, फागुन ३ : बुधबार दिउँसो २० वर्षीया चारु ओझा सामाखुसीस्थित एबिसी ड्राइभिङ सेन्टरमा कार चलाउन सिकिरहेकी थिइन् । 

उनले यहाँ कार चलाउन सिक्न थालेको १० दिन भयो । भर्खर सम्म र सीधा बाटोमा मात्र चलाउन सक्ने उनलाई ड्राइभिङ सेन्टरभित्र बनाइएको अंग्रेजी अंक आठ आकारको घेरा हुँदै उकालो–ओरालो पार गर्न हम्मे भइरहेको थियो । 

यहाँ उनलाई कार चलाउन सिकाउनेमा ‘नेपाल यातायात महिला चालक समूह’की अध्यक्ष मीना चन्द ठकुरी पनि छन् । 

Hardik ivf

चारुसँगै यहाँ अहिले नौ महिला र एक पुरुषले निःशुल्क ड्राइभिङ सिकिरहेका छन् । उनीहरूलाई एकमहिने (१६ माघदेखि १६ फागुनसम्म) निःशुल्क ड्राइभिङ तालिमको व्यवस्था ‘नेपाल यातायात महिला चालक समूह’ र ‘राष्ट्रिय युवा परिषद् भक्तपुर’को साझेदारीमा गरिएको हो । 

‘महिला आत्मनिर्भर बन्न सकून् भन्ने उद्देश्यले महिलालाई ड्राइभिङ सिकाएका हौँ,’ समूहकी अध्यक्ष मीना चन्द ठकुरी भन्छिन्, ‘महिलाले पनि हरेक काम गर्न सक्छन्, तर अवसर पाएका छैनन् ।’ 

 

संस्थामा महिलालाइ ड्राइभिङ सिकाइँदै

उनका अनुसार, ड्राइभिङ सिक्न २० हजारभन्दा माथि खर्च लाग्छ । चर्काे शुल्क तिरेर महिलाले सिक्न सक्दैनन् । त्यसैले नौ महिलालाई कार सिक्ने अवसर दिएको उनी बताउँछिन् ।

मीनाले पहिले काठमाडौंमा टेम्पो र माइक्रो चलाएकी थिइन् । सुरुमा टेम्पु चलाउन सिक्न उनले ठूलो मेहनत गर्नुपरेको थियो ।

दुई हप्ता सहचालक बनेँ

मीनाले स्टेरिङ समाउन थालेको २० वर्ष पुग्यो । ०५८ मा उनले पहिलोपटक टेम्पुको स्टेरिङ समाएकी थिइन् । केही महिलाले फाट्टफुट्ट टेम्पो चलाएको देख्दा उनलाई पनि चलाउने रहर जागेको थियो । उसो त त्यतिबेला उनका श्रीमान् हरिचन्द ठकुरीले ट्राभल तथा ट्रेकिङ एजेन्सीको गाडी चलाउँथे । ‘

उहाँ (श्रीमान्)को तलबले मात्रै घर धान्न मुस्किल भएपछि आफूले पनि केही गर्नुपर्छ भन्ने सोचेँ,’ उनी भन्छिन्, ‘यसो हेर्दा चालक बन्नै सहज लाग्यो ।’
उनले कुनै ड्राइभिङ सेन्टरमा गएर सिकेकी भने होइनन् । सुरुमा एक टेम्पु चालक महिलालाई २० हजार रुपैयाँ तिरेर सहचालकका रूपमा सँगै हिँड्न थालेकी थिइन् ।

मीना चन्द ठकुरी

दुई हप्ता जति चालकको सिटछेउ बसी टेम्पो चलाएको हेरेपछि उनलाई केही आत्मविश्वास आयो, त्यसपछि उनले स्टेरिङ समाउने मौका पाइन् । भर्खर अक्षर लेख्न जानेको बच्चा खुसी भएजस्तै भावमा उनी भन्छिन्, ‘स्टेरिङ समाएको चार–पाँच दिनमै टेम्पु चलाउन सक्ने भएँ । तर एक्लै सडकमा गुडाउन सक्ने हुन ६–७ महिना लाग्यो ।’ 

त्यतिबेला उनी एक वर्षीय छोराकी आमा थिइन्, छोराको हेरचाहसँगै फुर्सद मिलाएर सिक्न जानुपरेको थियो ।

१२ वर्ष टेम्पु चालक

राम्रोसँग चलाउन थालेकै केही दिनमै उनले ऋण गरेर टेम्पु किनिन् । भाडा तिरेर चलाउँदा भन्दा आफ्नै चलाउँदा फाइदा हुने उनले बुझिसकेकी थिइन् । टेम्पु किन्दा ६ लाख ५० हजार रुपैयाँ ऋण लागेको थियो, यो पैसा उनले टेम्पु चलाएरै तिरिन् । त्यतिबेला उनले बैंकमा मासिक रूपमा १० देखि १५ हजार रुपैयाँ किस्ता तिर्नुपथ्र्यो । ‘टेम्पु चलाएर दैनिक १५ सयदेखि दुई हजार रुपैयाँसम्म आम्दानी हुन्थ्यो,’ उनी भन्छिन्, ‘०५८/५९ सालतिर टेम्पुको भाडा दुईदेखि पाँच रुपैयाँसम्म थियो । २०६५ सम्म आइपुग्दा भाडा ८ रुपैयाँसम्म पुगेको थियो । त्यसैले बिहान ५ बजेदेखि साँझ ८ बजेसम्म खट्नुपथ्र्यो ।’

०५८ देखि ०७० सम्म १२ वर्षसम्म टेम्पु चलाइन् । यो बीचमा माइक्रोबस चलाउन पनि सिकिन् । ०७१ मा त उनले ३५ लाख रुपैयाँमा माइक्रोबस नै किनिन्— आधा ऋण र आधा आफ्नै बचतमा । माइक्रोबस चलाउँदै गर्दा भूकम्पले देश थलियो । त्यसपछि उनको सोच पनि बदलियो, माइक्रोबस बेचेर कार किनिन् । 

अहिले कारमा उनले सम्पर्कका यात्रुलाई गन्तव्यमा पु¥याउने पनि गर्छिन् । उनको बढी समय महिला चालक समूहमा र कार चलाउन सिकाउँदैमा बित्छ । उनी भन्छिन्, ‘कार सिक्न आउनेमध्ये तिर्न सक्नेसँग मासिक पाँच हजार रुपैयाँ लिन्छु । नसक्नेलाई निःशुल्क सिकाएकी छु ।’ 

महिला चालक समूह

०६९ मा उनले एउटा संस्था खोलिन्– नेपाल यातायात महिला चालक समूह । यतिबेला उनले टेम्पु चलाउँदै थिइन् भने माइक्रोबस सिक्दै थिइन् । काम गर्दै जाँदा उनलाई एउटा संस्था आवश्यक भएको बोध भयो, जसबाट महिला चालकको हितमा काम गर्न सकियोस् । 

अहिले उनको संस्थामा चार सयजति महिला आबद्ध भइसकेका छन् । ‘यसबाट लगभग एक हजारभन्दा बढी महिलालाई ड्राइभिङ सिकाएका छौँ,’ मीना भन्छिन्, ‘सिकेका धेरै महिलाले विभिन्न कारण यस पेसालाई निरन्तरता दिन सकेका छैनन् । विवाहपछि घरायसी जिम्मेवारीले गर्दा महिलाले सिकेका सीपको प्रयोग गर्न पाउँदैनन् । त्यसैले महिला चालक कमै छन् ।’ 

विभिन्न जिल्लाबाट काठमाडौं आई बासेबास गरेका महिलालाई निःशुल्क ड्राइभिङ तालिम दिइरहेको उनी बताउँछिन् ।

‘युद्धमा जानुपर्ने डरले भागेँ’ 

गुल्मीको गुल्मी दरबार गाउँपालिका २ मा ०४१ सालमा जन्मिएकी हुन्, मीना । तीन सन्तानमध्ये उनी एक्ली छोरी हुन् । देशमा माओवादी सशस्त्र आन्दोलन सुरु हुँदा उनी गाउँकै स्कुलमा कक्षा ६ मा पढ्थिन् । उनका दाइ रोजगारीका लागि भारत गएका थिए । गाउँमा हुने युवायुवतीलाई माओवादीले आकर्षित गरिरहेका थिए । ‘गाउँका केही मानिस युद्धमा लागिसकेका थिए । मलाई पनि जानुपर्छ भनेपछि भागेर काठमाडौं आएको हुँ,’ मीना भन्छिन्, ‘मलाई राजनीतिमा जाने मन थिएन, पढ्न मन थियो ।’ 

काठमाडौं आएर उनी लैनचौरस्थित मामाघरमा बस्न थालिन् । ‘तीन–चार वर्षसम्म मामाघरमा हजुरआमाको हेरचाह गर्दै बसेँ,’ उनी भन्छिन्, ‘त्यसैले पढ्ने अवसर नै पाइनँ ।’

मामाघरमा बस्दै गर्दा काभ्रे मण्डन देउपुरका हरिचन्द ठकुरीसँग उनको विवाह भयो । अहिले उनीहरू काठमाडौंको बसुन्धरामा बस्दै आएका छन् । 
 
 

प्रकाशित मिति: ११:३६ बजे, मंगलबार, फागुन ३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्