प्रेम दिवसको बजारशास्त्र र समाजशास्त्र
प्रेम दिवस मनाउने इतिहास खोज्दै जाँदा हामी प्राचीन ग्रिसदेखि तेस्रो शताब्दीको इटालीसम्म पुग्नुपर्ने हुन्छ । प्राचीन ग्रिसमा देवता जिउस र देवी हेराको विवाहको प्रसंग छ । यसलाई युवाहरुले खुसियालीमा रूपमा मनाउने गर्थे । त्यस्तै, तेस्रो शताब्दीका सेन्ट भ्यालेन्टाइनको कथा छ ।काठमाडाैं, फागुन २ : भ्यालेन्टाइन्स डे (प्रेम दिवस) नजिकिएसँगै काठमाडौं लगायत सहरका फूल पसलमा राता गुलाबले बढी स्थान ओगटे । होटल, रेस्टुरेन्टदेखि उपहार पसल, फेन्सी पसल, मल आदिमा रंगीविरंगी ठूला–साना टेडी बियर (खेलौना), मुटु आकारका बेलुन आदि सजिन थाले । तर गहिरिएर हेर्दा यस्तो लाग्छ— फेब्रुअरी अर्थात् प्रेमको महिनालाई बजारले जगाएको छ ।
पछिल्लो समय हामीकहाँ पनि प्रेम दिवसले चर्चा पाउन थालेको छ— बजारदेखि विद्यालय वा विश्वविद्यालयसम्म, सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्म ।
सुन्दर शब्दमध्ये एक हो, प्रेम । व्यवहारले होइन, प्रेम शब्दले मात्र पनि हामीलाई आनन्दको अनुभूति गराउँछ । प्रेम दिवस मनाउने पश्चिमा संस्कृति हामीकहाँ भित्रनुलाई धेरैले स्वाभाविक पनि मान्छन् । यसको सकारात्मक र नकारात्मक पक्ष केलाउनु भने बेग्लै पाटो हो ।
भूमण्डलीकरणको प्रभाव
समाजशास्त्री मधुसुधन सुवेदी भ्यालेन्टाइनलाई विश्व भूमण्डलीकरणको उपज मान्छन् । भूमण्डलीकरणसँगै संसारको कुनै पनि ठाउँ, संस्कृति, समाजलाई छुट्ट्याएर हेर्न मिल्ने परिस्थिति नरहेको उनी बताउँछन् । ‘प्रेम दिवस एक संस्कृतिका रूपमा प्रसार भइरहेको छ,’ उनी भन्छन्, ‘दैनिक उपभोगका वस्तु चाहे ती खाने खाना हुन् वा लगाउने, आवश्यक सामानदेखि विलासिताका सामानसम्म विदेशी अंगीकार भइरहेको छ । प्रेमको संस्कृति त उसै पनि फैलने भयो ।’
विशेषगरी आजका युवायुवतीमा ‘भ्यालेन्टाइन्स डे’प्रति झुकाव देखिनु स्वाभाविक मानवीय गुण रहेको उनी बताउँछन् ।
प्रेम दिवस मनाउने हाम्रो संस्कृति नभए पनि अहिलेको भूमण्डलीकरणले त्यसलाई सहज बनाएको, यो विकास र परिवर्तनको एउटा रूप पनि भएको उनी बताउँछन् । ‘भूमण्डलीकरणभित्र आर्थिक मात्र नभई युवापुस्ताको वैश्विक चेतनासँगको पहुँचको कुरा पनि हो,’ उनी भन्छन्, ‘आजकाल युवा पुस्ता नेपालीभन्दा अंग्रेजी भाषामा दख्खल राख्छन् । यस्ता कुरामा रोक र बन्देज राख्न सकिँदैन ।’
इतिहास
प्रेम दिवस मनाउने इतिहास खोज्दै जाँदा हामी प्राचीन ग्रिसदेखि तेस्रो शताब्दीको इटालीसम्म पुग्नुपर्ने हुन्छ । प्राचीन ग्रिसमा देवता जिउस र देवी हेराको विवाहको प्रसंग छ । यसलाई युवाहरुले खुसियालीमा रूपमा मनाउने गर्थे । त्यस्तै, तेस्रो शताब्दीका सेन्ट भ्यालेन्टाइनको कथा छ । जस अनुसार, युद्धमा होमिएको इटालीका राजा सैनिकले विवाह गर्नु हुँदैन, माया–प्रेममा भुलेर राष्ट्रका लागि लड्दैनन् भन्ने विचार राख्थे ।
यस कारण इटालीमा विवाहलाई प्रतिबन्ध गरिएको थियो । युद्धको असर अनि समाजमा प्रेम र सद्भावको कमीले समाजमा एक प्रकारको खाडल बन्न थाल्यो ।जससँगै सेन्ट भ्यालेन्टाइनले लुकिछिपी विवाह गरिदिन थाले । इटालियन राजा क्लाउडियस दोस्रोलाई यस विषयको जानकारी हुनेबित्तिकै सेन्ट भ्यालेन्टाइनलाई फाँसीको सजाय सुनाए, त्यो दिन थियो– १४ फेब्रुअरी ।
यसैलाई युवाहरुले भ्यालेन्टाइन्स डेका रूपमा मनाउन थालेको बताइन्छ ।
इन्टरनेट र मिडियाको भूमिका
युरोपेली मुलुकमा सीमित रहेको ‘भ्यालेन्टाइन्स डे’को रौनक ९० को दशकमा दक्षिण एसियामा भित्रियो । ९० को दशकमा दक्षिण एसियामा टेलिभिजन प्रसारणले तीव्रता पाएको थियो । यसै क्रममा भ्यालेन्टाइन्स डेको पनि प्रचार हुन थाल्यो ।
९० कै दशकको अन्त्यतिर इन्टरनेट सेवा सुरु भयो । इन्टरनेटको विस्तारसँगै ‘भ्यालेन्टाइन्स डे’ मनाउने जमात नेपालमा पनि बढ्न थाले । त्यसमा थप मलजलको काम सामाजिक सञ्जालले ग¥यो ।
उसो त भ्यालेन्टाइन्स बजारसँग जोडिएकाले मिडियाले पनि यसलाई कभर गर्न थाले । केही वर्षअघिदेखि अहिलेसम्म नेपाली पत्रपत्रिकामा भ्यालेन्टाइनका सन्दर्भमा विविध कोणबाट समाचार आउँछन् ।
सुरुवातमा पर्यटकको केन्द्र मानिने ठमेल बजार र पोखरामा प्रेम दिवस मनाउने प्रचलन भित्रिएको थियो ।
के भन्छन् संस्कृतिविद् ?
मानिस गतिशील प्राणी भएकाले विश्वका ज्ञान–विज्ञान, संस्कृति, बजारबाट प्रभावित हुँदै वा सिक्दै पनि जान्छ । जसलाई हामी ‘कल्चरल अकोमोडेसन’ भनिने संस्कृतिविद् विश्वमोहन जोशी बताउँछन् ।
यद्यपि, हरेक देश र मानिसका संस्कृति आ–आफ्नै मर्म र विशिष्ट गुण हुन्छन् । जसलाई कदापि मर्न दिनु हुँदैन । ‘आयातीत संस्कृतिले कहिल्यै पनि हाम्रो पहिचान झल्काउँदैन,’ जोशी भन्छन्, ‘हाम्रा आफ्नै पनि मौलिक परम्परा छन्, जसमा प्रेमको अभिव्यक्ति गर्ने अवसर मिल्छन् ।’
संस्कृतिविद् पुरुषोत्तमलोचन फागू पूर्णिमा, मतिना पारु जस्ता मौलिक पर्वले प्रणय दिवसलाई झल्काउने बताउँछन् । ‘योमरी पुन्हिको अर्को दिन मतिना पारु भनेर नेवार समुदायले प्रेम दिवसका रूपमा मनाउने गर्छन् । नेपाल भाषामा मतिनाको अर्थ ‘प्रेम’ र ‘पारु’को अर्थ ‘पर्व’ भन्ने हुन्छ,’ उनी भन्छन्, ‘नजिकको तीर्थ हेला भनेझैँ मौलिक प्रेमका पर्वलाई महत्व दिने पुस्ताको कमी भएको छ ।’
त्यस्तै, श्री पञ्चमीमा सरस्वतीको पूजा मात्र नभई विवाहका लागि उत्तम साइत मानिने उनी बताउँछन् । ‘त्यस्तै, फागु पूर्णिमा प्रेम अभिव्यक्ति गर्ने अर्को मौलिक नेपाली परम्परा हो, विशेषः गरी नेवार समुदायमा,’ उनी भन्छन्, ‘हामीसँग प्रेम दिवसका रूपमा मनाउने थुप्रै पर्व छन् ।’