Kathmandu Press

आईपीएल मेगा अक्सन: २०४ खेलाडीका लागि ५५१ करोड खर्च, विदेशी स्पिनरलाई नजरअन्दाज

इन्डियन प्रिमियर लिग (आईपीएल)को मेगा अक्सन आइतबार बैंग्लोरमा सकिएको छ। दुई दिनसम्म चलेको मेगा अक्सनमा कुल ६ सय खेलाडी सहभागी थिए।
आईपीएल मेगा अक्सन: २०४ खेलाडीका लागि ५५१ करोड खर्च, विदेशी स्पिनरलाई नजरअन्दाज

काठमाडौं, फागुन २ : इन्डियन प्रिमियर लिग (आईपीएल)को मेगा अक्सन आइतबार बैंग्लोरमा सकिएको छ। दुई दिनसम्म चलेको मेगा अक्सनमा कुल ६ सय खेलाडी सहभागी थिए।

जसमध्ये अक्सनबाट आईपीएलका १० फ्रेन्चाइज टिमले २ सय ४ खेलाडी भित्र्याए। उनीहरुमध्ये १३७ भारतीय र ६७ विदशी खेलाडी छन्। अक्सनमा टिममा खेलाडी किन्न टिमले ५ अर्ब ५१ करोड ७ लाख भारतीय रुपैयाँ खर्चिए।

इशान किशन बने महँगा खेलाडी

Hardik ivf

आईपीएलको मेगा अक्सनमा भारतीय टिमका विकेट किपर ब्याट्सम्यान इशान किशनमाथि सर्वाधिक बोली लाग्यो। उनी मेगा अक्सनका सर्वाधिक महँगा खेलाडी बने। लामो समयदेखि मुम्बई इन्डियन्सका लागि खेलिरहेका किशनलाई क्लबमा ल्याउन मुम्बईले १५ करोड २५ लाख रुपैयाँ खर्चियो।

महँगो खेलाडीका सूचीमा अर्का भारतीय खेलाडी राहुल चहर दोस्रो स्थानमा रहे। उनलाई पुरानै टिम चेन्नइ सुपर किंग्सले १४ करोडमा किन्यो।

यस्तै, तेस्रो नम्बरमा रहे अर्का भारतीय खेलाडी श्रेयस ऐयर। मार्की खेलाडीका रुपमा रहेका ऐयरलाई भित्र्याउन कोलकाताले १२ करोड २५ लाख रुपैयाँ खर्चियो।

महँगा खेलाडीको सूचीका चौथो नम्बरमा छन्, इंग्ल्यान्डका अलराउन्डर लियाम लिविंग्सटन। पञ्जाब किंगले उनलाई भित्र्याउन ११ करोड ५० लाख रुपैयाँ खर्चियो। उनी दोस्रो दिनको अक्सनका महँगा खेलाडी पनि हुन्।

यो सूचीमा भारतीय अलरान्डर शार्दुल ठाकुर, बलर हर्षल पटेल, श्रीलंकाका स्पिनर वानिन्दु हरंगा, वेस्टइन्डिजका विकेटकिपर ब्याट्सम्यान निकोलस पुरन। पछिल्लो समय चेन्नईबाट खेलिरहेका ठाकुरलाई यो पटक दिल्ली क्यापिटल्सले १० करोड ५० लाखमा भित्र्यायो।

पटेल र हसरंगा दुवैलाई रोयल च्यालेन्जर्स बैंग्लोरले १० करोड ७५ लाखमा क्लबमा भित्र्यायो। यता, सनराइजर्स हैदरावादले पनि पुरनका लागि १० करोड ७५ लाख नै खर्चियो।

यस्तै, नयाँ टिम गुजरात टाइटन्सले न्युजिल्यान्डका बलर लोकेइ फर्गुसन, लखनउ सुपर जायन्ट्सले भारतीय बलर आभेस खान र राजस्थान रोयल्सले भारतीय बलर प्रसिद्ध कृष्णमाथि समान १० करोड खर्चिए।

घाइते आर्चरमाथि मुम्बईले खर्चियो ८ करोड

अहिले भएको मेगा अक्सन आगामी तीन सिजनका लागि भएको हो। त्यसैले मेगा अक्सनमा घाइते इंग्लिस फास्ट बलर जोफ्रा आर्चरले पनि आफ्नो दर्ता गराए।

अक्सनअघि नै उनले यो सिजन आईपीएलमा उपलब्ध नहुने बताइसकेका थिए। तर, अक्सनमा उनलाई किन्न अधिकांश टिमले बोली लगाए। बाजी मार्‍यो मुम्बई इन्डियन्सले।

अक्सनको पहिलो दिन आफ्नै पूर्वखेलाडी ट्रेन्ट बोल्ट, दीपक चहर, कागिसो रबाडालाई टिममा ल्याउन असफल भएको मुम्बईले दोस्रो दिन आर्चरका लागि ठूलो रकम खर्चियो। पछिल्ला दुई सिजनलाई मध्यनजर गर्दै उसले अर्चरमाथि ८ करोड रुपैयाँ खर्चियो।

यस्तै, मुम्बईले अस्ट्रेलियन मूलका सिंगापुरका अलराउन्डर टिम डेभिडलाई आश्चर्यजनक रुपमा महँगो मूल्यमा भित्र्यायो। डेभिडका लागि मुम्बईले ८ करोड २५ लाख खर्चियो। मुम्बईले उनलाई हार्दिक पाण्ड्याको रिप्लेसमेन्टका रुपमा टिममा भित्र्याएको हो।

यस्तै, वेस्टइन्डिजका खेलाडी द्वय रोमारियो सेफर्ड र ओडियन स्थिममाथि अक्सनमा आश्यजनक रुपमा महँगो बोली लाग्यो। सेफर्डलाई ७ करोड ५० लाखमा हैदरावादले भित्र्याउँदा लािग स्मिथका लागि पञ्जाब किंग्सले ६ करोड खर्चियो।

चार टिमले पुरा गरे कोटा, लखनउले किन्यो २१ खेलाडी

आईपिएको मेगा अक्सनबाट १० फ्रेन्चाइज टिमले बढीमा २५ र कम्तिमा १८ खेलाडी किन्नु पर्ने थियो। जसमध्ये विदेशी खेलाडी बढीमा ८ किन्न पाउने प्रावधान थियो।

१० टिममध्ये मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स, पञ्जाब किंग्स र चेन्नई सुपर किंग्सले मात्र पुरै २५ खेलाडी टिममा राखे। यस्तै, लखनउ सुपर जायन्ट्स सर्वाधिक कम २१ खेलाडीमात्र टिममा राख्यो। गुजराज टाइटन्स र सनराइजर्स हैदराबादले समान २३, दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सले समान २४ र रोयल च्यालेन्जसै बैंग्लोरले २२ खेलाडीमा टिममा लिए।

अक्सनअघि प्रत्येक टिमलाई २ देखि ४ खेलाडी रिटेन गर्न भनिएको थियो। अक्सनबाट मुम्बई, चेन्नई, कोलकाता र राजस्थानले समान २१ खेलाडी किन्दा २ खेलाडीमात्र रिनेट गरेको सर्वाधिक २३ खेलाडी किन्यो। यस्तै, गुजरात र हैदरावादले समान २ खेलाडी तथा बैंग्लोरले १९ र लखनउले १८ खेलाडी किने।

बिकेनन् रैनादेखि स्मिथसम्म

मेगा अक्सनमा नयाँ खेलाडीमाथि महँगो मूल्यको बोली लाग्दा केही दिग्गज खेलाडीमाथि कसैले चासो दिएनन्। त्यसमा छन्, आईपिएल इतिहासकै सफल ब्याट्सम्यान सुरेश रैना। ३ वर्षका लागि टिम बनाउनु पर्ने भएकाले पनि ३५ वर्षीय रैनामाथि कसैले चासो दिएनन्।

यस्तै, अस्ट्रेलियाका स्टिभ स्मिथ, कप्तान आरोन फिन्च, एन्ड्रयू टाइ, मार्नस लाबुसेन, इंग्ल्यान्डका इओन मोर्गन, न्युजिल्यान्डका मार्टिक गप्तिल, कोलिगन मुन्रोलगायतका स्टार खेलाडीमा पनि कसैले चासो देखाएनन्। यस्तै लामो समय आईपीएल खेलेका बंगलादेशका अलराउन्डर सकिब अल हसन पनि अनसोल्ड खेलाडीको लिस्टमै रहे।

स्पिनरमा घरेलु खेलाडीकै भर

दुई दिनसम्म चलेका मेगा अक्सनमा यो पटक आईपीएल टिमले विदेशी स्पिनरमा कुनै चासो दिएनन्। विदेशी ब्याट्सम्यान, अलराउन्डर र फास्ट बलरमा मोटो रकम खर्चिएका टिमले विदेशी स्पिनरमा रकम खर्चिएनन्।

अक्सनमा रहेकामध्ये टि२० क्रिकेटका नम्बर २ बलर दक्षिण अफ्रिकाका ताब्रिज साम्सी, अस्ट्रेलियाका एडम जम्पा, इंग्ल्यान्डका अदिल रसिद, अफगानिस्तानका मुजिब उर रहमान माथि कुनै बोली लागेन । यस्तै न्युजिल्यान्ड इश सोधीममाथि कसैले चासो दिएनन्।

त्यही सूचीमा रहे नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछाने। लागतार तीन सिजन दिल्ली क्यापिटल्सबाट आईपीएल खेलेका सन्दीप लागातार दोस्रो सिजन अनसोल्ड भएका हुन्। उनले आफ्नो बेस प्राइस ४० लाख भारतीय रुपैयाँ राखेका थिए।

यता, टि२० क्रिकेटका नम्बर एक श्रीलंकन स्पिनर वानिन्दु हसरंगा भने महँगो मूल्यमा बिक्री भए। उनलाई बैंग्लोरले १० करोड ७५ लाखमा किन्यो। यस्तै, अक्सनमा सोल्ड हुने अर्का विदेशी स्पिनर हुन न्युजिल्यान्डका मिचेल सान्टनर। उनलाई चेन्नईले १ करोड ९० लाखमा किन्यो।

अक्सन स्थलमै ढले सञ्चालक

मेगा अक्नसको सञ्चालक थिए, ह्युज एडमिड्स। सन् २०१९ देखि आईपिएल अक्सन लगातार चाइरहेका एडमिड्सले मेगा अक्नस भने पुरै चलाउन सकेनन्।

अक्सनको पहिलो दिन अक्सनकै क्रममा उनी अचानक बेहोस भएर कार्यक्रम स्थलमै ढलेपछि अक्सन करिब डेढ घण्टा रोकियो। श्रीलंकाका स्पिनर वानिन्दु हसरंगामाथि बोल–कबोल चलिरहँदा ह्युज बेहोस भएका थिए। ह्युजलाई तत्कालै उपचारका लागि अस्पताल लगिएको थियो।

त्यसपछि चारु शर्माले अक्सन चलाएका थिए। तर, दोस्रो दिनको अक्सनको अन्त्यतिर एडमिड्स पुनः अक्सनका लागि आए । उनैले मेगा अक्सनको अन्त्य गरेका थिए। (एजेन्सीको सहयोगमा)

प्रकाशित मिति: ०६:५८ बजे, सोमबार, फागुन २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्