त्रिपुरेश्वरमा आधुनिक शौचालय : महिला तथा अपांगतामैत्री हुनु थप विशेषता
काठमाडौं महानगरपालिकाले एरोसानसँगको सहकार्य त्रिपुरेश्वर बस बिसौनीसँगै आधुनिक शौचालय सञ्चालनमा ल्याएको हो।काठमाडौं, माघ २८ : अब पैदलयात्रा गर्ने क्रममा त्रिपुरेश्वर पुग्दा शौचालय जानुपर्ने अवस्था आयो भने तनाव नहुने भएको छ। किनकि आज (शुक्रबार) बाट त्यहाँ आधुनिक शौचालय सञ्चालनमा आएको छ।
शौचालय बनिसकेकै कारण गाडीबाट झर्नेबित्तिकै वा गाडी कुरिरहेकाहरूले पनि त्यहाँ शौचालय अभावको सामना गर्नुपर्ने स्थितिकाे अन्त्य भएकाे छ। दशरथ रंगशाला पनि नजिकै रहेकाले त्यहाँ कुनै खेल वा अन्य कार्यक्रम हुँदा बाहिरी क्षेत्रमा शौचालयको समस्या कसैले पनि झेल्नुपर्दैन। यसअघि उक्त ठाउँमा सार्वजनिक शौचालय नहुँदा पैदलयात्रीलाई निकै समस्या हुने गरेको थियो।
काठमाडौं महानगरपालिकाले एरोसानसँगको सहकार्यमा त्रिपुरेश्वर बस बिसौनीसँगै आधुनिक शौचालय सञ्चालनमा ल्याएको हो। पहिले टिकट काउन्टर भएको ठाउँमा शौचालय निर्माण गरिएको हो। महानगरका मेयर विद्यासुन्दर शाक्यले आज उक्त शौचालयको उद्घाटन गरेका हुन्।
घना बस्तीबीच कसैलाई असर नहुने शौचालय बनाउने योजनाअनुरूप महानगरले शौचालय निर्माण गरेको मेयर शाक्यले बताए। शौचालय छ कि छैन भन्ने थाहा नहुने अर्थात् दुर्गन्ध नआउने खालको शौचालय बनाउने नीति महानगरले लिएको र सोहीबमोजिम शौचालय बनेको उनले बताए। त्यसका लागि स्थानीयबाट ठुलो सहयोग प्राप्त भएको उल्लेख गर्दै उनले सबै सहयोगीलाई धन्यवाद दिए।
दिगो विकासका लागि वातावरणमैत्री पूर्वाधार निर्माण र प्रविधियुक्त सहरी सेवा सुविधा वितरणमा महानगर प्रतिबद्ध रहेको मेयर शाक्यले बताए। एरोसानका नेपाल प्रतिनिधि प्रकाश अमात्यका अनुसार शौचालय प्रयोग गर्न १० रुपैयाँ लाग्छ। तर प्रहरी, अपांगता भएका नागरिक, ज्येष्ठ नागरिक तथा सञ्चारकर्मीले भने शौचालयको उपयोग निःशुल्क गर्न सक्नेछन्।
सुरुमा काउन्टरमा पैसा बुझाएर क्वाइन लिनुपर्छ र क्वाइनलाई मेसिनमा राखेपछि शौचालयको लक खुल्छ। शाैचालय प्रयोगपछि सफाइका लागि आवश्यक पानी, शौचालय ‘फ्लस’ गर्न पानी र हातलाई सुक्खा बनाउन तातो हावा सेन्सरबाट आउने व्यवस्था गरिएको अमात्यले जानकारी दिए।
शाैचालय महिलामैत्री र अपांगमैत्री हुनु थप विशेषता हाे। ह्विलिचयर लिएर पनि शाैचालय जान कुनै कठिनाइ पर्दैन। महिलाका लागि निकै सस्तो मूल्यमा सेनिटरी प्याड किन्न र फेर्न सकिने व्यवस्था त्यहाँ गरिएको छ। २ रुपैयाँ तिरेपछि तीनवटा क्वाइन प्राप्त हुने र त्यसलाई मेसिनमा राखेपछि प्याड पाइने अमात्यले बताए। त्यसैगरी प्रयोग भइसकेको प्याड जलाउने आधुनिक मेसिन पनि त्यहाँ राखिएको छ।
शौचालयमा जम्मा हुने फोहोरबाट ग्यास जम्मा गरेर आगो बाल्ने र त्यसैबाट चिया पकाउने व्यवस्था पनि त्यहाँ मिलाइएको छ। वातावरणमैत्री र प्रविधियुक्त हुनेगरी बनाइएको त्यस किसिमकाे शौचालय अन्यत्र पनि बन्नुपर्ने शौचालय प्रयोगकर्ताहरूले बताए।
्र