रुघाखोकी वा कोरोना लक्षणका बीच खोप लगाउन मिल्छ कि मिल्दैन ?
तत्काल कुनै पनि प्रकारको संक्रमण भएको वा कोभिड–१९ सँग मिल्ने लक्षण देखिएको अवस्थामा बिरामीले कोरोना विरुद्धको खोप नलिन चिकित्सकहरूले सुझाव दिएका छन्।काठमाडाैं, माघ २५ : पछिल्लो समय कोभिड– १९ संक्रमित अधिकांशलाई घाँटी दुख्ने लक्षण देखिएको छ। कोरोनाको तेस्रो लहरमा घाँटीमा भाइरस धेरै विकसित हुने भएकाले घाँटीसम्बन्धी समस्या आउने गरेको अनुसन्धानले देखाएको छ।
यस्तै लक्षण देखिएका कतिपय बिरामी अहिले निको हुने क्रममा छन् भने कतिपय आइसोलेसनमै छन्। अधिकांश यस्ता संक्रमित व्यक्ति कोरोनाविरुद्धको खोप वा बुस्टर डोज लिन मिल्छ वा मिल्दैन भन्ने अन्योलमा समेत परेका छन्।
कुनै पनि रोगको खोप लिनुअघि रुघाखोकी देखिएको छ भने यसै पनि खोप लिने समय केही पछि सार्ने गरेको संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्। ‘तत्काल कुनै पनि प्रकारको संक्रमण भएको वा कोभिड–१९ सँग मिल्ने लक्षण देखिएको अवस्थामा बिरामीले कोरोना विरुद्धको खोप नलिन सुझाव दिन्छौँ,’ उनी भन्छन्, ‘किनभने यस्तो बेला बिरामी कमजोर हुन्छ र खोप लगाउन निस्कँदा अरुलाई सार्ने सम्भावना रहन्छ। कोभिड–१९ संक्रमण पुष्टि भएको छ भने निको भएको एक महिनापछि मात्र खोप लगाउन उपयुक्त हुन्छ।’
ओमिक्रोन संक्रमणदर क्रमशः घटिरहेका बेला सोही लक्षणसँग मिल्दोजुल्दो ओमिक्रोनका अन्य भेरियन्ट पनि देखिन थालेका छन्। ओमिक्रोनमा तीन भेरियन्ट (बिए १, बिए २ र बिए ३) मध्ये अहिले विश्वका कतिपय मुलुकमा बिए २ धेरै फैलिरहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ।
नेपालमा गरिने पिसिआर परीक्षणले कोभिड १९ को कुन भेरियन्टको संक्रमण भएको भनेर नछुट्ट्याउने तर लक्षणका आधारमा मात्र ओमिक्रोन भनिएको संक्रामक रोग विशेषज्ञ डा. ल्हामो याङ्चेन शेर्पा बताउँछिन्।
‘नेपालमा कोरोनाको भेरियन्ट छुट्ट्याउन सक्ने प्रविधि छैन। सीमित नमुनालाई अन्य मुलुकमा परीक्षणका लागि पठाउँदा ओमिक्रोन देखिएका भरमा तेस्रो लहरमा सबैलाई ओमिक्रोन संक्रमण भएको भन्ने अनुमान गरिएको हो,’ उनी भन्छिन्।
गत दुई वर्षको अन्तरालमा कोभिड १९ का विभिन्न भेरियन्ट पुष्टि भइसकेको र आगामी दिनमा पनि यस्ता भेरियन्ट आउनसक्ने हुनाले सबैलाई खोप अनिवार्य भएको उनी बताउँछिन्।
‘कोभिड १९ को तेस्रो लहरमा कोरोना विरुद्ध खोपको दुवै डोज लगाएकाहरू पनि संक्रमित भए। यसले गर्दा कतिपय व्यक्ति खोप लगाउँदा पनि संक्रमित भइने रहेछ भनेर खोपप्रति नकारात्मक भएको पाइन्छ,’ उनी भन्छिन्, ‘तर, खोपकै कारण केही हदसम्म संक्रमितको स्वास्थ्यमा जटिलता नआएको हो। त्यसैले जोखिम कम गर्नका लागि भए पनि सबैले खोप लिन जरुरी छ।’