Kathmandu Press

मंसिरदेखि भुवनको पापड मेसिन बन्द छ

‘ऋण गरेर व्यवसाय थालेको थिएँ, त्यतिबेला ४० हजार रुपैयाँ बराबरको पापड नोक्सान भयो,’ भुवन भन्छन्, ‘त्यसपछि आफैँ मेसिन किनेर पापड उत्पादन गर्ने सोचेँ । भारतदेखि पापड ल्याई व्यवसाय गर्दा समयमा सामान नपाइने, भन्सारमा लुटिने र अनावश्यक गाडी भाडा तिर्नुपर्ने जस्ता अनेक समस्या भोग्नुपथ्र्यो ।’
मंसिरदेखि भुवनको पापड मेसिन बन्द छ

काठमाडौं, माघ २४ : कञ्चनपुर, कृष्णपुर नगरपालिका– ४ का भुवनबहादुर कार्की एसएलसीपछि रोजगारी खोज्दै भारतको पन्जाब पुगेका थिए, ०४६ सालमा । त्यहाँ उनले एक प्राइभेट कम्पनीमा चौकिदारको जागिर पाए । आफ्नो देशजस्तो कहाँ हुन्छ र अर्काको देश ! उनलाई त्यहाँ भारतीयले नेपाली भनी होँच्याएर व्यवहार गर्थे । 

भर्खर १७ मा हिँड्दै गरेका उनलाई लाग्यो— अर्काको ठाउँ, यस्तै होला । दुई वर्षसम्म उनले त्यहाँ सबै सहेरै काम गरे । जब उनको बल–बैंस भरिँदै आयो, सोच बलियो बन्न थाल्यो, तब केही गर्ने इख र अठोट लिएर उनी जन्मभूमि फर्के र ‘श्री खप्तड पापड उद्योग’का मालिक बन्न पुगे । यो उद्योग २०६८ सालदेखि कृष्णपुर–४ मौवाफाटास्थित उनकै घरमा सञ्चालित थियो तर यही मंसिरदेखि बन्द छ । 

जब ४० हजार रुपैयाँको पापड नष्ट भयो 

Hardik ivf

आफैँले पापड उत्पादन सुरु गर्नुअघि उनले भारतका विभिन्न ठाउँबाट रेडिमेट पापड ल्याई घरमै फुलाएर प्याकिङ गरी बेच्थे । सुरुवाती दिनमा उनको बजार कृष्णपुर आसपासका खुद्रा पसल नै थिए ।

एकपटक उनले भारतको पलियाबाट १२ क्विन्टल पापड ल्याउँदै थिए, बसको छतमा राखेर । गौरिफन्टा नाकामा बसको छतबाट पापड झिक्दा सहचालकले रोडमा फ्याँकिदिए । सबै पापड नष्ट भयो । 

‘ऋण गरेर व्यवसाय थालेको थिएँ, त्यतिबेला ४० हजार रुपैयाँ बराबरको पापड नोक्सान भयो,’ भुवन भन्छन्, ‘त्यसपछि आफैँ मेसिन किनेर पापड उत्पादन गर्ने सोचेँ । भारतदेखि पापड ल्याई व्यवसाय गर्दा समयमा सामान नपाइने, भन्सारमा लुटिने र अनावश्यक गाडी भाडा तिर्नुपर्ने जस्ता अनेक समस्या भोग्नुपथ्र्यो ।’

पापड बनाउने मेसिन किन्नका लागि उनले धनगढीस्थित ‘इलम प्लस’ संस्थासँग सरसल्लाह गरे । इलम प्लसले मेसिन किन्न सहयोग गर्ने वचन पनि दियो । त्यसपछि मेसिनबारे बुझ्न १३ हजार भारतीय रुपैयाँ बोकेर उनी भारतको नयाँदिल्ली पुगे । ‘चिनेको मान्छे कोही थिएन, त्यहाँ मैले मेसिन किन्ने ठाउँ नै पत्ता लगाउन सकिनँ र त्यत्तिकै फर्किएँ,’ भुवन भन्छन्, ‘त्यसपछि पनि भारतबाट पापड ल्याएर चार वर्षसम्म पहिलाकै जसरी व्यापार गरेँ ।’

यही बेला एक ठूला व्यापारीले महेन्द्रनगरमै पापड मेसिन भित्रए । अब भने भुवनले महेन्द्रनगरबाटै कच्चा पापड किन्न सुरु गरे । सात वर्ष मेसिन चलाइसकेपछि महेन्द्रनगरका ती व्यापारिले मेसिन बेच्ने कुरा उनीसँग गरे । उनलाई ढुंगा खोज्दा देउता मिलेजस्तै भयो । उनले पाँच लाख रुपैयाँमा सोही मेसिन किने । तर, चर्को मूल्य तिरेर ठगिनुपर्‍यो । ‘कम्पनीले बेच्ने अहिलेको मूल्यभन्दा एक लाख रुपैयाँ बढीमा मैले किनेको रहेछु,’ उनी भन्छन्, ‘बढी मूल्य तिरेको कुरा मैले पछि मात्रै थाहा पाएँ ।’

मेसिन राख्न सुरुमा चार कोठाको भवन निर्माण गर्नुपर्‍यो । उत्पादित पापड बेच्न सानो गाडी पनि आवश्यक भयो । यसरी उनको सुरुवाती लगानी  १२ लाख रुपैयाँ पुग्यो ।  सुरुमा उनले आठ महिलालाई रोजगारी दिएका थिए । कोरोना महामारी अघिसम्म दैनिक पाँच क्विन्टलसम्म पापड उत्पादन हुने गरेको भुवन बताउँछन्  ।

बजार 

भुवनका अनुसार, पापड उत्पादनका लागि मुख्य कच्चा पदार्थ मैदा हो । फुलाउनका लागि केही सोडा पनि आवश्यक हुन्छ । पछिल्लो समय उनले अत्तरिया र धनगढीदेखि मैदा ल्याउँथे । भारत र नेपालको बोर्डर निकट भएकाले पहिले उनले बोर्डरदेखि कच्चा पदार्थ ल्याउने गर्थे । त्यहाँ राम्रो क्वालिटीका सामान नपाइने भएपछि नेपालमै उत्पादित मैदा किन्न थालेका थिए । 

भुवनका अनुसार, पापड उत्पादनका लागि गर्मीयाम उपयुक्त हो । किनभने पापड सुक्न सहज हुन्छ । हिउँदमा पापड उत्पादन सहजताका निम्ति उनले चीनबाट दुई लाख रुपैयाँको हिटर ल्याएका छन् । 

पापडको मूल्य मैदाको मूल्यले निर्धारण गर्छ । ‘मैदाको मूल्य बढ्दा पापडको पनि मूल्य बढ्छ । मैदाको मूल्य घट्दा पापडको मूल्य पनि घट्छ,’ उनी भन्छन्, ‘तेलमा नतारेको काँचो पापडलाई २४ किलो जति अट्ने बोरामा भरिएको हुन्छ, जसको मूल्य १६ देखि १७ सयसम्म पर्न जान्छ ।’ 

उनको उद्योगबाट उत्पादित पापड कञ्चनपुर लगायत कैलाली, बैतडी, दार्चुला, बर्दिया, बाँके र दैलेखमा बिक्री हुने गथ्र्यो । 

मेसिन बिग्रियो

पुरानो मेसिन किनेकाले किनेको केही वर्षदेखि नै पापड मेसिनमै अड्किने समस्या देखिएको थियो । यही मंसिरदेखि भने उनको पापड व्यवसाय ठप्प छ, मेसिन चल्न छाडेर । ‘पछिल्लो समय सातजना महिलालाई रोजगारी दिएको थिएँ, उद्योग बन्द भएपछि उनीहरु पनि बेरोजगार भएर बसेका छन्,’ उनले भने ।

ठूलो मेहनतले खोलेको उनको उद्योग अहिले बन्द छ । अहिले नेपाली बजारमै पापड बनाउने अटोमेटिक मेसिन पाइन्छ, जसको मूल्य ३० देखि ४० लाख रुपैयाँ पर्छ । नयाँ मेसिन किन्न नसक्दा उनले सोचेजति उत्पादन गर्न सकेका छैनन् । 

‘मलाई पास्ता, आलु चिप्स, केरा चिप्स र नमकिन पनि बनाउन आउँछ तर आर्थिक समस्याले गर्दा केही गर्न सकेको छैन,’ उनले भने । भुवनले यो उद्योग निकै मेहनतले स्थापना गरेका थिए । एक त भारतमा चौकिदारी गर्दा हेपिएको इख थियो, अर्कोतिर आफ्नै ठाउँमा केही गर्ने अठोट । पुरानो मेसिन किनेकाले अहिले चल्न छाडेको छ । राज्यबाट सहयोग नपाउँदा यतिखेर उनको इख र अठोटले नै आराम पुगेको छ ।  

‘चुनावका बेला स्थानीय नेताले हामी सहयोग गर्छौं भनेका थिए, अहिलेसम्म कतैबाट सहयोग पाएको छैन,’ उनले भने । 

प्रकाशित मिति: १९:२१ बजे, सोमबार, माघ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्