राष्ट्रपति भण्डारीले हनुमानढोका पुगेर गरिन् वसन्त श्रवण
यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले पनि वसन्त श्रवण गरी फूलमाला, टीका र प्रसाद ग्रहण गरे।काठमाडौं, माघ २३ : राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीपञ्चमी (वसन्त पञ्चमी) का अवसरमा आज (आइतबार) बिहान हनुमानढोका दरबारस्थित नासलचोक पुगेर परम्पराअनुसार वसन्त श्रवण गरेकी छन्।
सो अवसरमा राष्ट्रपति भण्डारीले पण्डितबाट फूलमाला, टीका र प्रसाद ग्रहण गरिन्। राष्ट्रपति भण्डारीलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो। उनको स्वागतका लागि पन्चे बाजा पनि बजाइएको थियो। वसन्त श्रवणकै अवसरमा राष्ट्रपति भण्डारीले विद्याकी देवी सरस्वतीको समेत पूजा आराधना पनि गरिन्।
यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले पनि वसन्त श्रवण गरी फूलमाला, टीका र प्रसाद ग्रहण गरे। वसन्त श्रवण्मा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका निजामती कर्मचारी तथा सुरक्षा निकायका प्रमुखहरू पनि सहभागी भए।
सोही अवसरमा कलाकारहरूले वसन्त राग पनि प्रस्तुत गरेका थिए। वसन्त पञ्चमीको दिन हरेक वर्ष राष्ट्रप्रमुखले वसन्त श्रवण गर्ने चलन छ। यो प्रचलन राजा प्रताप मल्लको पालादेखि नै रहँदै आएको पाइन्छ।