‘खोकी लाग्नुको कारण कोरोना नहुन पनि सक्छ’
यस्तै अहिले देखिएको खोकीको समस्या पोस्ट कोभिड वा लङ कोभिड सिन्ड्रोमको लक्षणसमेत हुन सक्ने डा. शेरबहादुर पुनको भनाइ छ।काठमाडौं, माघ १७ : अहिले अधिकांश कोरोना संक्रमितहरूमा लामो समय खोकी निको नहुने समस्या देखिएको छ।
कोरोनाको सुरुवाती चरणमा नै विज्ञहरूले ओमिक्रोन संक्रमणले छाती वा फोक्सोभन्दा पनि घाँटीमा बढी असर गर्ने चेतावती दिएका थिए। तर, संक्रामक रोग विशेषज्ञ डा. ल्हामो याङ्चेन शेर्पा भने नेपालमा कोभिड–१९ परीक्षण गराएका सबैको ओमिक्रोन नै भएको पुष्टि नभएको बताउँछिन्। अहिले देखिएको समस्या ओमिक्रोनले नै निम्त्याएको हो भन्ने ठोस प्रमाण नभएको उनी बताउँछिन्।
‘कोभिड–१९ परीक्षण गराएका सबैको ओमिक्रोन हो वा होइन भनी छुट्याइएको छैन। सीमित नमुनाको मात्र ओमिक्रोन संक्रमण पुष्टि भएको छ। त्यसैले लामो समय खोकी निको नहुनु ओमिक्रोनकै संक्रमण हो भन्न सकिने स्पष्ट प्रमाण छैन,’ उनले काठमाडौं प्रेससँग भनिन्, ‘अहिले सिजनल फ्लुको पनि समय छ। यसले गर्दा पनि खोकीको थप समस्या देखिएको हुन सक्छ।’
यस्तै अर्का संक्रामक रोग विशेषज्ञ डा. शेर बहादुर पुन पनि कोरोना संक्रमितमा लामो समयसम्म खोकी देखिनु भाइरल हुन सक्ने बताउँछन्। ‘कोरोना आफंैमा भाइरस हो। साथै अहिले मौसम परिवर्तन हुँदा खोकी थप बल्झिएको हुन सक्छ,’ उनले भने।
नेपालमा कोरोनाको तेस्रो लहर सुरु भएपछि संक्रमण दर बढेको भए पनि मृत्यु हुने वा सिकिस्त बिरामीको संख्या भने खासै बढेको देखिँदैन। संक्रमितमध्ये अधिकांशमा लामो समय खोकी रहिरहने समस्या देखिनु कुनै नौलो कुरा नभएको डा. पुन बताउँछन्।
उनका अनुसार पहिला पनि कोरोना संक्रमितमा खोकी देखिएको थियो। तर जिउ दुख्ने, श्वासप्रश्वासमा समस्या, निमोनियालगायत अन्य समस्याका कारण त्यसमा ध्यान नदिइएको हो। तर अहिले घाँटीमा मात्रै धेरै समस्या देखिएको हुनाले मानिसहरूले यसलाई बढी ध्यान दिएको उनको भनाइ छ।
तुलनात्मक रूपमा संक्रमणका कारण अहिलेको अवस्था त्यति गम्भीर देखिएको छैन। अहिले देखिएको कोभिड–१९ संक्रमणमा मानिसको घाँटी र मस्तिष्कमा भाइरस वृद्धि भएको अनुसन्धानहरूले देखाएका छन्। जनस्वास्थ्य विद् डा. लुना भट्ट शर्माका अनुसार अहिले सामान्य खोकी मात्र समस्याको रूपमा देखिए पनि दीर्घकालीन रूपमा यसले अन्य समस्या ल्याउन सक्ने बताउँछिन्।
‘पहिला कोरोना संक्रमितहरूमा फोक्सो र मुटुमा बढी समस्या देखिन्थ्यो भने अहिले अधिकांश संक्रमितमा घाँटी र मस्तिष्कमा भाइरस वृद्धि भएको देखिएको छ,’ उनी भन्छिन्, ‘कोरोना सक्रमणमुक्त भए पनि संक्रमित व्यक्तिको मस्तिष्क र स्नायु प्रणालीमा भाइरसले पारेको असर तत्काल ठिक नहुने भएका कारण यसपटकको लहरबाट दीर्घकालीन स्वास्थ्य समस्या निम्तिन सक्ने खतरा देखिएको छ।’
यस्तै अहिले देखिएको खोकीको समस्या पोस्ट कोभिड वा लङ कोभिड सिन्ड्रोमको लक्षणसमेत हुन सक्ने डा. पुनको भनाइ छ।
‘कोरोना संक्रमितमा लामो समयसम्म खोकी निको नहुनु पोस्ट कोभिड वा लङ कोभिड सिन्ड्रोमको लक्षण हो। तीनदेखि चार हफ्ताभन्दा लामो समयसम्म खोकी निको नहुनुलाई लङ कोभिड सिन्ड्रोम भन्न मिल्छ,’ उनी भन्छन्, ‘तर कोरोनाको तेस्रो लहर सुरु भएको धेरै समय भइनसकेको भएर अहिले नै यसलाई लङ कोभिड सिन्ड्रोम भन्न सकिँदैन। अबको केही समयपछि यो स्पष्ट हुन्छ।’
तत्कालका लागि भने विगतमा कोरोना संक्रमितले अपनाएका केही आधारभूत उपचारका विधिहरू अपनाउन जरुरी रहेको डा. पुन बताउँछन्। उनका अनुसार अहिले मौसम परिवर्तनसँगै कोभिड-१९ संक्रमण फैनले क्रम पनि तीव्र रहेको छ।
त्यसकारण संक्रमण भएका वा नभएका सबैले आफ्नो स्वास्थ्य अनुकूल खानपिनमा ध्यान दिनु जरुरी छ। जस्तै, चिसोमा धेरै नहिँड्ने, तातो र झोलिलो खानेकुरा खाने, न्यानो कपडा लगाउने, जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्ने, स्वास्थ्यमा आएको समस्याअनुसारको औषधि सेवन गर्नेलगायत सामान्य उपाय अपनाउन सकिने डा. पुन बताउँछन्।
यसले खोकी मात्र नभई अन्य स्वास्थ्य समस्याको उपचारका लागि पनि उपयोगी हुने उनी बताउँछन्।