‘परीक्षण कम भएकाले काेराेना संक्रमितकाे संख्या घटेको हो’
संक्रामक रोग विशेषज्ञ डा. ल्हामो याङ्चेन शेर्पा भने संक्रमितको संख्यामा कमी आए पनि जोखिम भने उत्तिकै रहेको बताउँछिन्।
काठमाडौं, माघ १६ : पाँच दिनयता कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या क्रमशः घट्दो छ।
गत मंगलबार (माघ ११ गते) देशभर १२ हजार ८ जनामा थप संक्रमण पुष्टि भएको थियो तर बुधबार सो संख्या घटेर ८ हजार ४५४ मा झर्यो। यस्तै बिहीबार ८ हजार १७, शुक्रबार ६ हजार ८२७ र शनिबार ४ हजार ९०४ गरी संक्रमितको संख्या क्रमशः घटिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ।
सामान्य रूपमा हेर्दा कोरोना संक्रमितको संख्या घट्दा कोरोना भाइरसको प्रभाव पनि बिस्तारै हटेको भान आम जनमानसमा परेको छ। तर, अहिले संक्रमितको संख्या घट्नु भाइरसको प्रभाव कम भएको नभई परीक्षण नै कम भएकाले घटेको जस्तो देखिएको मात्र भएको जानकारहरू बताउँछन्।
तथ्यांकअनुसार मंगलबार देशभर २५ हजार ९०९ जनामा कोरोना परीक्षण गरिएको थियो। तर बिस्तारै परीक्षण संख्या क्रमशः बुधबार २० हजार ३५९, बिहीबार २१ हजार ८०८, शुक्रबार १९ हजार ८६९ रहेको देखिन्छ। शनिबार त परीक्षण संख्या १४ हजार ५६२ मा झरेको तथ्यांकले देखाउँछ।
सोही तथ्यांकअनुसार पनि परीक्षणको संख्या घटेका कारण कोरोना संक्रमितको संख्या पनि घटेको हुन सक्ने संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्। ‘पहिलादेखि नै स्वास्थ्यमा बढी समस्या देखिएपछि मात्र कोरोना परीक्षण गर्न आउने देखिन्छ,’ उनले काठमाडौं प्रेससँग भने, ‘समस्या भए पनि परीक्षण गर्न नआउनेको संख्या धेरै छ। संक्रमणको लक्षण देखिँदा पनि जाँच नगराई घरमै स्वास्थ्यलाभ गरिरहेकाहरू पनि धेरै छन्। यसकारण पनि संक्रमितको संख्या घटेको हुन सक्छ।’
उनका अनुसार अहिले हरेक घरमा कोही न कोही संक्रमित छन्। हिजोआज परिवारमा एक व्यक्तिमा संक्रमिण पुष्टि भएपछि अर्को सदस्यले परीक्षण गराउन गएको पाइँदैन। विगतको तुलनामा अहिले मानिसहरू कोभिड–१९ प्रति धेरै सचेत भइसकेको हुनाले आफ्नै तरिकाले उपचार गरिरहेका वा नियन्त्रणका विभिन्न उपायहरू अपनाइरहेका छन्। यसकारण पनि कोरोनाको तेस्रो लहर धेरै लामो समयसम्म नलम्बिने अनुमान गरिएको छ।
यस्तै यसपालि विगतको तुलनामा भाइरसले मानिसको स्वास्थ्यमा कम असर पारेको अर्थात् जटिल अवस्था नल्याएको हुनाले पनि मानिसहरू परीक्षण नगराएको र परीक्षण पनि कम भएको हुन सक्ने डा. पुन बताउँछन्।
‘गत एक सातामा टेकु अस्पतालमा कोभिड–१९ परीक्षण गर्न आउनेको संख्या ह्वात्तै घटेको छ। धेरैलाई संक्रमण भएर निको हुने क्रममा रहेको हुँदा पनि परीक्षणका साथै संक्रमितको तथ्यांकमा पनि कमी आएको हो,’ डा. पुन भन्छन्, ‘डेल्टाको तुलनामा ओमिक्रोन भेरियन्टको प्रकृति छिटो फैलिने तर छोटो समय रहने देखिएको छ। लक्षण देखिने पनि अघिल्ला भेरियन्टहरूका तुलनामा छोटो समयका लागि रहने र निको हुने चाँडै हुने देखिएको छ।’
उदाहरणका लागि कुनै अफिसमा २० कर्मचारीलाई एकैपटक रुघाखोकी लाग्यो। केहीमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भयो। त्यसपछि सबैले परीक्षण नगरे पनि लगभग उस्तै अन्तरालमा सबै निको हुन थाल्छन्। अहिले नेपालको सन्दर्भमा पनि यस्तै देखिएको डा. पुनको भनाइ छ।
‘नेपालमा थेरै समयको अन्तरालमा नै संक्रमितको तथ्यांक माथि गएको थियो भने छिट्टै घटेको पनि देखियो। धेरै मानिसहरू संक्रमित भएर स्वास्थ्य लाभ गर्ने क्रममा छन्। त्यसकारण तत्कालका लागि संक्रमितको संख्या फेरि बढ्ने सम्भावना कम छ,’ उनले भने।
यद्यपि ज्येष्ठ नागरिक, खोप नलगाएका व्यक्तिहरू, खोप लगाएको धेरै समय बितिसकेकोलगायत केही समूहलाई स्वास्थ्य समस्या निम्तिन सक्छ। तर, दोस्रो लहरमा जस्तो लामो समयसम्म जटिल स्वास्थ्य समस्या आउने, धेरै मानिसलाई लामो समयसम्म अक्सिजनको आवश्यकता हुने, धेरै मानिसहरूको मृत्यु हुनेलगायत सम्भावना तुलनात्मक रूपमा कम हुन सक्ने डा. पुन बताउँछन्।
यस्तै, संक्रामक रोग विशेषज्ञ डा. ल्हामो याङ्चेन शेर्पा भने संक्रमितको संख्यामा कमी आए पनि जोखिम भने उत्तिकै रहेको बताउँछिन्। कोभिड–१९ को नयाँ भेरियन्टहरू थपिइरहेको हुँदा पूर्ण रूपमा ढुक्क हुने अवस्था नरहेको उनी बताउँछिन्। ‘कोभिड–१९ का नयाँ भेरियन्टहरू देखिइ नै रहेका छन्। कहिले, कुन ठाउँमा कस्तो भेरियन्ट देखापर्छ भनेर यकिनसाथ भन्ने अवस्था पनि छैन। जुनबेला पनि देखिन सक्छ,’ उनले भनिन्।
डा. शेर्पाका अनुसार कतिपयले हरेक वर्ष इन्फ्लुएन्जाविरुद्धको खोप लगाइरहेका हुन्छन्। हरेक वर्ष म्युटेट भएर आउने भएकै कारण यसको खोप पनि हरेक वर्ष लगाउने गरिन्छ। कोभिड-१९ पनि हरेक वर्ष यसरी नै फैलिँदै गयो भने वर्षैपिच्छे कस्तो भाइरस हो भनी परीक्षण गर्दै त्यसलाई प्रभावकारी खोप बनाएर बर्सेनि खोप लगाउनुपर्ने अवस्थासमेत आउन सक्छ।
त्यसकारण सावधानी अपनाउनु जरुरी छ। विभिन्न कम्पनीले ओमिक्रोन भेरियन्टलाई ८० प्रतिशतसम्म प्रभावकारी हुने गरी भ्याक्सिन बनाउने तयारीमा समेत रहेको उनी बताउँछिन्।
यस्तै, विश्वमा पूर्ण रूपमा भाइरस निर्मूल हुन नसक्ने तर हरेक वर्ष भेरियन्टको प्रकृति हेरेर त्यसका लागि प्रभावकारी भ्याक्सिन बनाउनुपर्ने हुने भनेर सम्बन्धित विज्ञहरूले पनि भनिसकेको डा. शेर्पाले जानकारी दिइन्।