Kathmandu Press

‘श्रीमानकाे साथले जनप्रतिनिधि भई जनसेवामा जुटेकी छु’ 

आफ्नो हिम्मत, पतिको साथ र मामाको प्रेरणाले नै आफू अहिलेको स्थानमा आइपुगेको रमिताको ठम्याइ छ।
‘श्रीमानकाे साथले जनप्रतिनिधि भई जनसेवामा जुटेकी छु’ 

काठमाडाैं, माघ १२ : नीतिहरूमा सर्वश्रेष्ठ नीति नै राजनीति हो। समुदायको उत्थान र सामाजिक रूपान्तरणका निमित्त राजनीतिको भूमिका अहं हुने गर्छ। समाजमा कुनै पनि क्षेत्र त्यस्तो छैन, जहाँ राजनीतिको प्रभाव नपरेको होस्। यस अर्थमा राजनीति सही ढंगले अगाडि बढ्यो भने व्यक्ति, समाज र राष्ट्रको उत्थान तथा विकासमा ठुलो टेवा पुग्छ।

यही कुरालाई राम्ररी बुझेकी रमिता राना सामाजिक रूपमा आफ्नो उपस्थितिलाई बलियो बनाउन र आफूजस्तै हकअधिकारबाट वञ्चित रहँदै आएकाहरूको पक्षमा आवाज बुलन्द गर्न राजनीतिमा होमिएकी हुन्। नेकपा एमालेमा आबद्ध ३५ वर्षीया उनी यतिखेर कञ्चनपुरको कृष्णपुर नगरपालिकाकी उपमेयर छिन्। राजनीतिमा लागेर नै समाज परिवर्तनमा योगदान दिन र आफ्नो बेग्लै पहिचान बनाउन सकेकोमा आफू निकै खुसी रहेको उनी बताउँछिन्।

वास्तवमा राजनीति त्यति सजिलो कर्म होइन। सत्तामा पुग्ने माध्यम राजनीति नै भएकाले सधैं आफू नै नेतृत्वमा रहिरहनुपर्छ र आफ्नो वर्चस्व कुनै हालतमा गुम्न दिनुहुँदैन, अन्यथा सत्तामा पुग्न सकिन्न भन्ने मानसिकता भएकाहरूको बिगबिगीका कारण नयाँ पुस्तालाई अगाडि बढ्न निकै गाह्रो छ। त्यसमाथि पुरुषप्रधान समाजमा महिलालाई राजनीतिक क्षेत्रमा स्थापित हुन झनै मुस्किल छ। वास्तवमा राजनीतिमा होमिएका महिलाहरूले अनेकन् नकारात्मक टीकाटिप्पणीको समेत सामना गर्नुपर्छ।

Hardik ivf

राजनीति त्यस्तो क्षेत्र पनि हो, जहाँ अनेक जालझेल र तिकडमबाजी हुनुलाई अस्वाभाविक मानिन्न। यस्ता अनेकौं प्रतिकूल परिस्थितिका बाबजुद राजनीतिमा आफूलाई खरो रूपमा उतार्दै र आफूविरुद्ध भएका अनेकन् षड्यन्त्रलाई निस्तेज पार्दै रमिता आज जनप्रतिनिधिका रूपमा उभिन र जनसेवामा समर्पित हुन सफल भएकी हुन्।

सायद उनका पति वीरबहादुर बडायतले साथ नदिएका भए रमिता यतिखेर राजनीतिबाट पलायन भइसकेकी हुन्थिन्। एकातिर आफूले पनि राजनीतिको कठिन बाटो हिँड्न गरेको आँट र पतिबाट पनि पाइएको अर्थपूर्ण साथले नै उनी राजनीतिमा टिकिरहन सकेकी हुन्।

‘श्रीमानकाे सपोर्टले गर्दा नै राजनीतिक रूपमा अघि बढ्न पाएँ, फलस्वरुप आज नगरपालिकाको उपमेयरजस्तो महत्वपूर्ण पद प्राप्त गर्न सफल भएकी छु,’ उनले भनिन्। त्यसो त राजनीतिमा प्रवेश गर्ने प्रेरणा उनले मामा बाबुराम रानाबाट पाएकी थिइन्। उनका मामा दिवंगत भइसकेका छन्। एमालेमा सक्रिय मामा वडाध्यक्ष पनि भइसकेको उनले बताइन् । मामाले विश्वास गरेर हौसला नदिएका भए उनले राजनीतिको विकल्पमा अर्कै बाटो रोजिसकेकी हुन्थिन्। आफ्नो हिम्मत, पतिको साथ र मामाको प्रेरणाले नै आफू अहिलेको स्थानमा आइपुगेको रमिताको ठम्याइ छ।

राजनीतिमा सहभागी भएर समाजसेवा गर्छु भन्दा विगतमा धेरैले आफूलाई गलत नजरले हेर्ने गरेको नमिठो अनुभव रमिताको छ। ‘उसै त रूढिवादी परम्परामा आधारित हाम्रो समाज, त्यसमाथि राना थारू समुदायमा महिलालाइ हेर्ने दृष्टिकोण नै फरक छ,’ उनले भनिन्, ‘राजनीतिमा लागेपछि बढीजसो समय घरबाहिरै व्यतीत गर्नुपर्छ। त्यसलाई सहज रूपमा लिने त भेटिँदै भेटिँदैनन् भन्दा पनि हुन्छ। जताततै कुरा काट्न अग्रसर हुनेहरू मात्र हुन्छन्।’

तर, समाजमा विद्यमान् ती सारा गलत मान्यताहरूलाई नजरअन्दाज गर्दै आफूले चालेका हरेक कदममा श्रीमान्ले उत्साह भर्ने काम गरेको, जसले गर्दा अविचलित भई हिँडरहने सासह मिलेको उनको भनाइ छ। ‘श्रीमतीलाई घरको चुलाचौकाबाट माथि उठाएर सामाजिक क्षेत्रमा अघि बढ्न सघाउनुपर्छ भन्ने मान्यता राख्नुहुने श्रीमानप्रति म सदैव आभारी छु,’ उनले भनिन्, ‘उहाँ धन्यवादका पात्र हुनुहुन्छ। उहाँले रोक्नुभएको भए म निश्चय नै अघि बढ्नै सक्दिनथें।’ परिस्थिति बुझ्ने खालका पति भएकैले आफूलाई राजनीति गर्ने ऊर्जा प्राप्त भएको उनले बताइन्। 

अरूको जग्गा ‘अधियाँ’ गरेर दिनरात नभनी काम गर्नुपर्ने परिवारमा उनी जन्मिएकी हुन्। २०४४ माघ ६ गते बेतकोट नगरपालिका–६ मा बुवा छोटु राना र आमा रुक्मा रानाको दोस्रो सन्तानका रूपमा उनको जन्म भएको हो। उनका एक दाजु, एक भाइ र पाँचजना बहिनी छन्। सामान्य किसान परिवार भएकाले बाल्यकाल अभावैअभावमा बितेको उनी सम्झिन्छिन्।

‘आमाबुवा अर्काको खेतमा दिनरात मेहनत गर्नुहुन्थ्यो। साहुलाई बाली बुझाएर बाँकी भएको अन्नले जेनतेन खान पुग्थ्यो। तर अरूले जस्तै मिठो खाने र राम्रो लाउने भन्ने अवस्था कहिल्यै आएन,’ उनले भनिन्। आमाबुवाको दुःख देखेर आफूले पनि सकीनसकी काममा सघाउने गरेको उनले बताइन्। यसरी आफ्नो बाल्यकाल संघर्षपूर्ण तरिकाले बितेको उनी सुनाउँछिन्। 

रमिताका आमाबुवाको काँधमा सातजना सन्तानलाई लेखपढ गराउनुपर्ने अभिभारा थियोे। त्यसो त उनी बाल्यावस्थामा हुँदा राना थारू समुदायमा सन्तानलाई लेखपढ गराउने चलनै थिएन। छोरोछोरीलाई सानैमा विवाह गरिदिने प्रथा कायम थियो। तर, आफ्ना बुवाआमाले त्यस्तो प्रथाको पर्वाह नगरी अभावकै बीच पनि सन्तानलाई लेखपढको वातावरण मिलाइदिएको उनी सुनाउँछिन्। ‘मलाई पढाइमा एकदमै रुचि थियो। अनेक दुखकष्ट झेलेर बुवाआमाले मलाई पढाइदिनुभयो,’ उनले भनिन्, ‘मैले कञ्चनपुरको घटाल माविबाट एसएलसी गरें र कक्षा १२ सम्मको पढाइ कञ्चनपुरकै बालजाग्री क्याम्पसबाट पूरा गरें। म बुवाआमाप्रति सधैं ऋणी रहनेछु।’

रमितालाई सानैदेखि राजनीतिमा रुचि थियो। चित्त नबुझेका विषयमा प्रतिवाद गरिहाल्ने, अन्यायमा परेकाहरूको पक्षमा वकालत गर्ने, समाज अनुकूल कुरालाई स्थापित गर्न अगुवाइ गरिहाल्ने सानैदेखिको स्वचभावले गर्दा ठुली भएपछि राजनीतिमा आफ्नो झुकाव बढेको हुन सक्ने उनी बताउँछिन्। २२ वर्षको हुँदा कृष्णपुर नगरपालिका गुलरियाका बडायतसँग रमिताको प्रेमविवाह भयो। हाल उनीहरूका दुई छोरी छन्। पेन्सन पकाएर नेपाली सेनाको जागिर छाडेका बडायतको हालको पेसा ड्राइभिङ हो। विवाह भएपछि नै उनले कृष्णपुरको भूगोलमा राजनीतिक यात्राको थालनी गरेकी हुन्। 

उनले वडा कमिटीमा रहेर विधिवत् रूपमा नेकपा एमालेको झन्डा बोक्न थालेकी हुन्। एमालेमा आबद्ध हुने बेला वडा कमिटी सदस्य रहेकी उनी नगर कमिटी, बुद्धिजीवी परिषद् सदस्य, क्षेत्रीय कमिटी सदस्य हुँदै हाल जिल्ला कमिटी सदस्य छिन्। पार्टी कमिटीमा समावेश नभएको अवस्थामा पनि उनी पीडितहरूको न्यायका लागि कुनै न कुनै तरिकाले सक्रिय थिइन्।

त्यस्तै ‘आदिवासी जनजाति महासंघ’सँग जोडिएर लामो समय काम गरेको अनुभव उनीसँग छ ।  ‘त्यतिबेला आदिवासी जनजाति समुदायका धेरै जनासँग मिलेर काम गरियो,’ उनले भनिन्, ‘त्यहीबेला सो समुदायको कथाव्यथा, पीडा, असन्तुष्टिबारे बुझ्ने अवसर पाइएको हो।’ उनमा भएको त्यो क्षमतालाई कदर गरेर नै एमालेले उनलाई २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कृष्णपुर नगरपालिकाको उपमेयर पदका लागि टिकट दिएको थियो। त्यतिबेला उनी नगरपालिकामा सर्वाधिक मत ल्याएर विजयी भएकी हुन्।

जीवन हाँक्ने क्रममा पाइलैपिच्छे गर्नुपरेका संर्घषहरूबाट पाठ सिक्दै आइपरेका चुनौतीहरूको सामना गर्न सक्ने क्षमताको विकास गरेकी रमितालाई मतदाताले विश्वास गरेर सर्वाधिक मतले उपमेयर जिताएका हुन्। मतदाताको विश्वासलाई मर्न नदिन, गाउँठाउँको विकास गर्न, महिलाको उत्थान गर्न आफू अहोरात्र जुटिरहेको उनले बताइन्। 

उपमेयर भएपछि पहिलो आर्थिक वर्षदेखि नै आफ्नो नगरपालिकाका महिलाहरूको उत्थान र विकासका लागि विभिन्न कार्यक्रम गर्दै आएको उनले जानकारी दिइन्। महिला साक्षरता, समावेशिता र समानतालाई मध्यनजर गरेर लैंगिक हिंसाविरुद्ध विभिन्न कार्यक्रम लागु गरिएको पनि उनले बताइन्। उनको बुझाइमा आर्थिक रूपमा कमजोर भएकै कारण महिलाहरू हिंसा खेप्न बाध्य छन्। महिलाहरूले रोजगार बनून् र उत्पादनमा जोडिएर आर्थिक उपार्जनमा सहभागी होऊन् भन्ने उद्देश्यले विभिन्न किसिमका सिलाइकटाइ तालिम, शृंगारसम्बन्धी तालिम, बौद्धिक विकासका तालिम प्रदान गर्दै आइएको उनले सुनाइन्। 

उनकै पहलमा नगरपालिकाका तर्फबाट थारू समुदायका महिलाकै लागि विशेष किसिमका कार्यक्रम लागु गरिएको छ। ‘थारू समुदायमा जति पनि कमलरी छन्, तिनका लागि विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रम लागु गरेका छौं,’ उनले भनिन्, ‘उनीहरूलाई विभिन्न किसिमका उन्मूलन तालिमसँगै बंगुर पालन, बाख्रा पालनमा आकर्षित गर्न छुट्टै शीर्षकमा अनुदान छुट्याइएको छ।’ 

स्थानीय तहमा उपमेयर/उपाध्यक्ष न्यायिक समितिको संयोजक रहने व्यवस्था छ। आफू उपमेयर भययता कृष्णपुर नगरपालिका न्यायिक समितिमा धेरै मुद्दा दर्ता भएको उनले जानकारी दिइन्। ‘अहिलेसम्म परेका मुद्दामध्ये ३ सयको हाराहारीमा समाधान गरिसकिएको छ। कतिपय मुद्दाहरू आफ्नो अधिकार क्षेत्रभित्र नपर्ने भएकाले जिल्लामा पठाइएको छ।’

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित हुनुअघि सामान्य मुद्दाका लागि पनि अदालत नै धाउनुपर्ने बाध्यता थियो, खर्च धेरै लाग्ने गर्थ्याे। तर अहिले नगरका सामान्य मुद्दाको छलफल गाउँपालिकामै हुने गरेको उनले बताइन्। नगरपालिकामा त्यस्तो मुद्दा निःशुल्क दर्ता गर्न सकिने हुँदा नगरवासीलाई धेरै राहत मिलेको उनको भनाइ छ।

महिला भएर राजनीति गर्न एकदमै चुनौतीपूर्ण रहेको उनी बताउँछिन्। मुक्त कमैयाको क्षेत्रबाट राजनीतिमा सक्रिय रहेकाले झनै अप्ठ्यारो हुने गरेको उनी सुनाउँछिन्। ‘जेजस्ता चुनौती आए पनि तिनलाइ सिकाइ र अवसर रूपमा लिएकी छु,’ उनले भनिन्।

प्रकाशित मिति: १८:३९ बजे, बुधबार, माघ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्