Kathmandu Press

डेंगूको प्रकोप : यस्तो छ मन्त्री, नेता र स्वास्थ्यकर्मीको अवस्था

काठमाडौं, भदौ २४ : दुई महिनाअघि धरानबाट सुरू भएको डेंगू देशभर फैलिएको छ। डेंगूबाट ६ जनाको मृत्यु भइसकेको छ भने सर्वसाधारणदेखि मन्त्रीसम्मलाई डेंग....

डेंगूको प्रकोप : यस्तो छ मन्त्री, नेता र स्वास्थ्यकर्मीको अवस्था

काठमाडौं, भदौ २४ : दुई महिनाअघि धरानबाट सुरू भएको डेंगू देशभर फैलिएको छ। डेंगूबाट ६ जनाको मृत्यु भइसकेको छ भने सर्वसाधारणदेखि मन्त्रीसम्मलाई डेंगूको संक्रमण देखिएको छ।

डेंगू संक्रणमणले गत बुधबार अस्पताल भर्ना भएका कृषि तथा पशुपंक्षी विकासमन्त्री चत्रपाणि खनाल उपचारपछि घर फर्किएका छन्। चिकित्सकले केही दिन आराम गर्न सल्लाह दिएअनुसार, मन्त्री खनाल घरमै आराम गरिरहेका छन्। ‘मन्त्रीज्यूलाई सन्चो त भयो। तर, केही दिन घरमा आराम गर्नु हुनेछ,’ प्रेस सल्लाहकार बोमलाल गिरीले भने।

गृहजिल्ला कपिलवस्तुबाट फर्केपछि टाउँको दुख्ने, हातखुट्टा दुख्ने गर्न थालेपछि टेकु अस्पतालमा परीक्षण गरिएको थियो। उनको रगतमा डेंगूको संक्रमण भएको देखिएपछि ग्रान्डी अस्पतालमा उपचार भएको थियो।

Hardik ivf

त्यस्तै, वरिष्ठ नेत्ररोग विशेषज्ञ डा.सन्दुक रुइत पनि डेंगू संक्रमणले बिरामी परेका छन्। डा.रुइत र उनका दुवै छोरीमा डेंगू देखिएको जनाएको छ। उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ।

दिनभर बिरामीको उपचारमा खटिएका डा.रुइतलाई भदौ २१ गते साँझ एक्कासी ज्वरो आएको थियो। हात, खुट्टा दुख्ने, टाउको दुख्नेलगायत समस्या देखिएपछि नर्भिक अस्पतालमा भर्ना भएका हुन्।

डा.रुइतलाई सन्चो भएको र आजै डिस्चार्ज गर्न लागिएको अस्पतालले जनाएको छ। ‘डाक्टरलाई निको भइसकेको छ। केही आराम गर्नुपर्ने भएकाले अब घरमै आराम गर्ने गरी आजै नै डिस्चार्ज गरिन लागेको छ,’ नर्भिक अस्पतालका डा.केदार आचार्यले भने।

यस्तै, नेकपा उपाध्यक्ष वामदेव गौतम पनि अस्पताल भर्ना भएका छन्। उनलाई पनि डेंगूको संक्रमण भएको आशंका गरिएको छ।

शनिबारदेखि ज्वरो आएपछि नेता गौतम सोमबार टेकु अस्पताल पुगेका थिए। डेंगूको आशंका लागेपछि रगत परीक्षण गराएका छन्। केही समय अघि सिंगापुर पुगेका गौतमलाई त्यही डेंगूको संक्रमण भएको हुनसक्ने चिकित्सकहरुले आशंका गरेका छन्।

अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डा.अनुप बास्तोलाले भने, ‘नेता गौतम सिंगापुरबाट आए लगत्तै बिरामी परेकाले कतै डेंगू भएको हो कि भन्ने शंका गरेपनि रिपोर्ट भने आइसकेको छैन।’

नेता गौतमका स्वकीय सचिव दीपक टमाटाले उनी अहिले घरमै आराम गरिरहेका छन्। ‘रुघाखोकी लागेको छ। डाक्टरले घरमै बसेर आराम गर्नुस् भनेपछि घरमै आराम गरिरहनु भएको छ,’ टमाटाले भने।

डेंगूको उपचारमा संलग्न शुक्रराज ट्रपिकल अस्पतालका चिकित्सक पनि संक्रमणमा परेका छन्। उपचारमा संलग्न अस्पतालका चिकित्सक डा.असिम कँडेल, लालबहादुर बैबा, शारदा दाहाल, रवीन्द्र अर्यालमा संक्रमण देखिएको छ। त्यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका लक्ष्मी अधिकारी, सिताराम भण्डारी, फिरोज महर्जनलाई डेंगूको संक्रमण देखिएको डा. बास्तोलाले बताए। केहीको उपचार भइरहेको छ भने केही उपचार गरेर घर फर्किएका छन्।

अहिले डेंगू ६१ जिल्लामा देखिएको छ। टेकु अस्पतालमा मात्रै दिनहुँ एक हजारभन्दा बढी बिरामी परीक्षणका लागि आउने गरेको अस्पतालले जनाएको छ। अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

सरकारले डेंगू नियन्त्रणका लागि नौ करोड ६४ लाख विनियोजन गरेको छ। तर, संक्रमण दिन प्रतिदिन बढ्दै गएको छ। रोग लाग्नु अगावै र धरानमा संक्रमण देखिएपछि नियन्त्रणका लागि प्रयास नगर्दा देशभर फैलिएको स्वास्थ्यकर्मीले बताएका छन्।

प्रकाशित मिति: १५:४७ बजे, मंगलबार, भदौ २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्