‘अहिलेको संक्रमण कम घातक भए पनि दीर्घकालीन असर डरलाग्दो हुन सक्छ’
एक सातामै कोरोना संक्रमितको संख्यामा झन्डै पाँचगुणा वृद्धि आउनु कोरोनाको तेस्रो लहरको संकेत भएको जनस्वास्थ्यविद् डा. लुना भट्ट शर्माले बताइन्।
काठमाडौं, माघ ४ : केही दिनयता कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेको छ। अघिल्लो साता (पुस २६) एकै दिन १ हजार ४४६ जनामा मात्रै कोरोना संक्रमण देखिएको थियो। तर, एक साताको अन्तरालमा अर्थात् सोमबार ६ हजार ७३४ जना कोराना संक्रमित थपिएका छन्।
एक सातामै कोरोना संक्रमितको संख्यामा झन्डै पाँचगुणा वृद्धि आउनु कोरोनाको तेस्रो लहरको संकेत भएको जनस्वास्थ्यविद् डा. लुना भट्ट शर्माले बताइन्। ‘एक सातामा पाँचगुणाले संक्रमितको संख्या वृद्धि भएको छ। यो कोरोनाको तेस्रो लहरको संकेत हो,’ उनले काठमाडौं प्रेससँग भनिन्, ‘अहिले कोरोनाको तेस्रो लहरको सुरुवात मात्र हो। अझै धेरै मानिसमा संक्रमण फैलने सम्भावना छ। यसरी नै संख्या बढ्दै जाने हो भने पहिलो र दोस्रो लहरमा भन्दा पनि बढी असर गर्ने सम्भावना छ।’
उनका अनुसार विगतमा अन्य समस्या देखिए पनि अहिले भने संक्रमितका घाँटी र मस्तिष्कमा बढी समस्या देखिएको छ। पहिलाजस्तो निमोनिया हुने, श्वासप्रश्वासमा समस्या हुने नदेखिएकाले पनि मानिसहरूले काेराेनाप्रति बेवास्ता गरिरहेको उनी बताउँछिन्।
कतिपय चिकित्सक तथा सम्बन्धित निकायले पहिलाको तुलनाको अहिले संक्रमण फैलिएपछि घातक नदेखिएको बताइरहेका छन्। यसकारण पनि मानिसहरूले वास्ता नगर्दा उनीहरूले यसबाट हुन सक्ने अन्य जोखिमलाई ध्यान नदिएको उनले बताइन्। ‘पहिलाभन्दा कम घातक देखिएका कारण दीर्घकालीन रूपमा यसले गर्ने असरहरूलाई खासै ध्यान दिइएको छैन। यसले गर्ने दीर्घकालीन असर डरलाग्दो हुन सक्छ,’ उनले भनिन्, ‘अब यसले कस्तो रूप लिन्छ भन्ने कुरा नै स्पष्ट नहुँदा मानिसहरू कोभिडको लक्षणहरूलाई सामान्य मानिरहेका छन्।’
सरकारले कोरोनाको पहिलो र दोस्रो लहरबाट केही कुरा नसिकेको डा. लुनाले आरोप लगाइन्। दोस्रो लहरमा नै बनाउन थालिएका होल्डिङ सेन्टरहरू अहिलेसम्म बनिसकेका छैनन्। सरकारले कोरोना नियन्त्रणका लागि विभिन्न आदेश जारी गरे पनि त्यो पर्याप्त नरहेको उनले बताइन्।
तर सम्बन्धित निकाय भने आफूहरूले तेस्रो लहरको नियन्त्रणका लागि सबै तयारी गरिसकेको दाबी गर्दै आएका छन्। कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता सुनिता नेपालका अनुसार नाकाहरूमा स्थापना गरिएका होल्डिङ सेन्टर सञ्चालनमा ल्याउन कार्यविधि बनाउने अन्तिम चरणमा रहेको, भिडभाड हुने स्थानमा कडाइ, खोपको व्यवस्थापन, अस्पतालहरूको व्यवस्थापनका लागि स्थानीय तहसँग समन्वयलगायत तयारीहरू भइसकेको उनको दाबी छ।
‘हामीले विभिन्न नाकामा स्थापना गरेका होल्डिङ सेन्टर सञ्चालनको तयारी पूरा भइसकेको छ,’ उनले काठमाडौं प्रेससँग भनिन्, ‘अस्पतालको व्यवस्थापन, अक्सिजन व्यवस्थापन, कोरोना परीक्षणलगायत सबै तयारीमा हामी लागेका छौं।’
सम्बन्धित निकायले आफूहरू कोरोना नियन्त्रणका लागि सबै तयारी भइसकेको भनिरहँदा डा. लुनाले भने सरकारले कोरोनाको पहिलो र दोस्रो लहरमा गरेको गल्ती पुनः दोहोर्याइरहेको बताइन्। ‘कोरोनाको पहिलो लहर पिसिआरको व्यवस्थापनमै बित्यो, दोस्रो लहर अक्सिजनको जोहोमै गयो। अब अहिले सामान्य लक्षण मात्र देखिएको छ भनेर सम्बन्धित निकायहरू ढुक्कले बसेका छन्,’ उनी भन्छिन्, ‘सरकारले पहिलो र दोस्रो लहरबाट सिक्नुपर्ने कुरा धेरै छन्। तर, जब भयो राति अनि बुढी ताती भनेझैँ भएको छ।’
उनका अनुसार सरकारले विगतको गल्तीलाई सच्याउँदै खोपको व्यवस्थित वितरण गर्नुपर्ने हो। तर, अहिले मानिसहरू खोपको लाइन बस्दा नै संक्रमित भएका केस धेरै छन्। कन्ट्याक्ट टे«सिङ र परीक्षणको दायरा बढाउने, जनतामा सामान्य लक्षण देखिए पनि सतर्क रहन सूचना पर्याप्त फैलाउनेलगायत बेसिक कुरामा मात्र सरकारले ध्यन दिने हो भने धेरै हदसम्म कोरोना नियन्त्रण हुन्छ।