सुदूरपश्चिममा यसरी मनाइन्छ माघेसंक्रान्ति
बिहान भएपछि नुहाइधुवाई गरि चोखो हुने र माइती आएका र घरमा भएका छोरीचेलीलाई राती पकाइएका खानेकुरा खानदिने र टिका लगाएर दक्षिणा दिने गरिन्छ। त्यसकारण यसलाई पुसको पाक्य माघमा खाक्य भन्ने गरिन्छ।काठमाडौं, माघ १ : नेपालमा मनाइने फरक–फरक चाडपर्वका आ–आफ्नै विशेषता छन्। भौगोलिक विविधताका कारण भूगोल अनुसार चाडवाड मनाउने तौरतरिका पनि भिन्न छन्।
सबैजसो चाडपर्वमा धार्मिक मान्यता जोडिएको हुन्छ। विज्ञान प्रविधि र पश्चिमा शैलीको प्रभावका कारण शहर बजार क्षेत्रमा चाडपर्वको मौलिक महत्व घट्दै गइरहेको छ। मनाउने तरिकामा पनि व्यापक परिवर्तन भइसकेको छ। २१ औं शताब्दिसम्म आइपुग्दा चाडपर्वहरु मौलिकतासँग कम आधुनिकतासँग बढी जोडिएका छन् ।
शहरबजारले चाडपर्वको मौलिकता खोसेपनि गाउँघर र विकट क्षेत्रमा भने मौलिकताको अवशेषहरु बाँकी नै छन्। ग्रामिण क्षेत्रमा पनि शहरको प्रभाव भने बढ्दै गएको छ। शहर बजारको प्रभाव परिनसकेका भौगोलिक हिसाबबाट दुर्गम वस्तीहरुले नै चाडपर्वको मौलिकता धानिरहेका छन्।
वर्षको करिब अन्त्य अन्त्यमा पर्ने चाड हो माघे संक्रान्ति। माघे संक्रान्ति पर्वलाई अझैपनि धुमधामसँग मनाउने प्रचलन गइसकेको छैन। मगर, थारु, किँरात समूदायको मुख्य पर्व मानिने मकर संक्रान्तिको पनि क्षेत्र र समूदाय अनुसार फरकफरक ढंगले मनाइन्छ।
सुदूरपश्चिम क्षेत्रमा माघे संक्रान्तिको महत्व छुट्टै छ। केही हदसम्म भिन्न तरिकाले मनाइन्छ पनि । माघे संक्रान्तिको विशेष खान्की कन्दमुल नै हो। त्यसबाहेक चाकु, सेलरोटीे अनिवार्य खाने प्रचलन छ। सुदूरपश्चिममा पनि माघीको खान्की यीनै हुन्।
सुदूरपश्चिममा माघ महिनाभर साकाहारी खानेकुरा मात्रै खाने परम्परा छ। अधिकांश युवाहरुले यो परम्परालाई पालना नगरेपनि पुराना पुस्ताले भने अझै पनि सहर्ष पालना गदै आइरहेका छन्।
पुसको पाक्य माघमा खाक्य
बिवाह गरेर गएका छोरीचेलीलाई संक्रान्तिको अघिल्लो दिन नै बोलाइन्छ। सोही राती सेलरोटी, निसासे रोटी, तरुल, चाकु लगायतका परिकारहरु बनाइन्छ।
माइती आएका छोरीचेलीलाई रातभरी अगेना वरपर राखेर आगो ताप्दै दुःख सुखका कुरा गर्ने, कथा, उखान टुक्का सुन्ने र सुनाउने प्रचलन सुदूरपश्चिममा अझै छ।
बिहान भएपछि नुहाइधुवाई गरि चोखो हुने र माइती आएका र घरमा भएका छोरीचेलीलाई राती पकाइएका खानेकुरा खानदिने र टिका लगाएर दक्षिणा दिने गरिन्छ। त्यसकारण यसलाई पुसको पाक्य माघमा खाक्य भन्ने गरिन्छ।
माइती आएका छोरीचेलीलाई घरसम्म पुर्याउने प्रचलन अझै पनि छ। छोरीचेलीलाई घर पठाउँदा साथमा सेलरोटी, चाकु, लगायतका परिकारहरु सगुनस्वरुप पठाइन्छ ।
बुहारीले माइतबाट फर्कँदा फलफुल, सेलरोटी लगायतका सगुन ल्याउनैपर्ने परम्परा छ। माइतबाट रित्तोहात फर्कँदा घरमा अपहेलित हुनुपर्ने बताउँछिन् कैलालीकी राधिका खड्का।
थारु समूदायको विशेष उत्सव
माघे संक्रान्ति थारु समूदायको उत्सव नै हो। माघको सुरुवातसँगै उनीहरुको नयाँ वर्ष सुरु हुने भएका कारण यसलाई थारु समूदायले नयाँ वर्षका रुपमा मनाउँछन् ।
सुदूरपश्चिममा थारु समूदायहरु माघे संक्रान्तिका दिन बिहानै नदि तथा खोलामा स्नान गर्न जान्छन् । स्नान गरिसकेपछि पाँच –पाँच मुठ्ठि चामल र दक्षिणाकोे ‘निस्रा’ छुट्याईन्छ र छोरी, बहिनीहरुमा बाढिन्छ।
संक्रान्तिका दिन चामल र चामलको पिठो बाट बनेको सेतो अक्षताले कुल देवताको पूजा गर्ने प्रचलन छ।
हरेक नया बर्षमा थारु समुदायमा गाउको ‘भल्मान्सा’ छनोट गरिन्छ । भल्मान्सा गाउमा जाने बुझेको व्यातिm हुनुपर्छ । गाउँमा हुने हरेक सामाजिक कार्यमा सहभागी हुने र समूदायको हितका लागि सहि निर्णय लिनु भल्मासाको जिम्मेवारी हो।
यस पर्वमा थारुहरुको विशेष परिकार ढिक्री, सुंगुरको मासु र जाँड हो। ढिक्री चामलको पिठोबाट बनाइने एक विशेष परिकार हो। त्यस्तै थारु समूदायको विशेष संस्कृती सकिया नाच हो। नयाँ वर्षको अवसरमा थारु समूदायका प्रत्येक व्यक्तिको घरघर गई सकिया नाच नाचिन्छ।
गोदावरीधाममा एकपटक स्नान गर्नैपर्ने मान्यता
माघे संक्रान्तिका दिन कैलालीको गोदावरीधाममा खुट्टा राख्ने ठाउँसम्म हुँदैन। माघे संक्रान्तिको दिन बिहानै कैलाली र कञ्चनपुरका मानिसहरु गोदावरीधाममा आएर स्नान र पुजापाठ गर्दछन्।
माघ महिनाभरि कम्तिमा एकपटक भएपनि गोदावरीधाममा आएर स्नान गर्नैपर्ने मान्यता छ। त्यसैले महिनाको पहिलो दिनमै मानिसहरु स्नान गर्न आउने हुँदा गोदावरीधाममा यस दिन व्यापक भीडभाड हुने गर्दछ। विगत दुई वर्षयताभने कोरोना महामारीका कारण तुलनात्मक रुपमा मानिसहरुको भीड कम देखिएको छ।
गोदावरीधाम सूदूरपश्चिम प्रदेशकै प्रमुख तीर्थस्थलका रुपमा परिचित छ। माघेसंक्रान्तिका दिन बुढापाका देखी युवा तन्नेरी तथा बालवालिका गोदावरीधाममा स्नान गर्न पुग्दछन्।