भारतबाट कञ्चनपुर फर्कनेको लर्को, कोरोना फैलिन नदिन के गर्दैछ प्रशासन?
एकसाता यता कञ्चनपुरमा दैनिक संक्रमितको संख्या बढेको देखिन्छ । बिहीबार मात्रै १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। तीमध्य १०५ जना भारतबाट फर्किएका नागरिकहरु रहेका छन्।काठमाडौं, पुस ३० : कञ्चनपुरमा कोरोना संक्रमणदर दैनिक बढ्दो छ। छिमेकी मुलुक भारतबाट दिनहुँ स्वदेश फर्किनेको लर्को लागेपछि जिल्लामा कोरोना महामारीको खतरा बढेको हो।
भारतमा दिनहुँ लाखौंको संख्यामा कोरोना संक्रमित थपिइरहेका छन् । भारतसँग सीमा जोडिएकाले कञ्चनपुरमा पनि त्यसको प्रभाव परेकाे छ। फलस्वरुप कञ्चनपुरमा पछिल्लो एक सातायता दैनिक सयभन्दा बढी संक्रमित थपिएका छन्।
भारतमा कोरोना बढेपछि कामको सिलसिलामा त्यहाँ पुगेका कञ्चनपुरबासी गौरिफन्टा र गड्डाचौकी नाका हुँदै दैनिक सैयौंको संख्यामा जिल्ला फर्कने क्रम सुरु भएको छ। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेका अनुसार भारतबाट कञ्चनपुर फर्कनेको संख्या दैनिक १५ सयभन्दा बढी छ।
पुस १९ गतेबाट जिल्लामा कोरोना संक्रमणदर बढ्न थालेको जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरका सुपरभाइजर जनक कुवँरले काठमाडौं प्रेसलाई जानकारी दिए। त्यसमध्ये अधिकांश संक्रमित भारतबाट फर्किनेहरु नै रहेको उनले बताए।
दैनिक सयभन्दा बढी संक्रमित
एकसाता यता कञ्चनपुरमा दैनिक संक्रमितको संख्या बढेको देखिन्छ । बिहीबार मात्रै १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। तीमध्य १०५ जना भारतबाट फर्किएका छन्।
प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार भारतबाट दैनिक फर्किनेमध्ये कम्तिमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लामा अहिले ७ सय बढी सक्रिय संक्रमित रहेको उनले जानकारी दिए।
नाकामा हेल्थे डेस्क
भारतबाट फर्किनेहरूमा कोरोना परीक्षण गर्न गड्डाचौकी र गौरीफन्टा नाकामा हेल्थे डेस्क सञ्चालनमा छन्। नाका हुँदै घर फर्कनेहरू एन्टिजेन परीक्षणपश्चात मात्र जिल्ला प्रवेश गर्न पाउने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए।
‘नाकामा नै उनीहरूको कोरोना परीक्षण हुन्छ,’ उनले भने, ‘पोजेटिभ देखिए आइसोलेसन सेन्टरमा पठाइन्छ, नेगेटिभ देखिएमात्रै घर पठाइन्छ।’
कोरोना नेगेटिभ देखिए पनि स्थानीय सरकार र प्रशासनले रेखदेख र निगरानी गर्ने सर्तमा घर पठाइने पाण्डे बताउँछन्। ‘नेगेटिभ देखिएकाहरूलाई केही दिन घरबाट बाहिर ननिस्कन र निस्कनै परे स्वास्थ्य मापदण्ड पालना गर्ने सर्तमा घर पठाइएको छ,’ उनले भने।
कोरोना परीक्षण मात्र नभई नाकामा खोप अभियान पनि सञ्चालनमा रहेको प्रमुख जिल्ला अधिकारी पाण्डे बताउँछन्। ‘भारतबाट फर्केकाहररूशले कोरोनाविरुद्धको खोप लगाएका छैनन् भने नाकामा नै खोप लगाउने व्यवस्था गरिएको छ,’ उनले भने।
आइसोलेसन र क्वारेन्टिनको व्यवस्था
नाकाबाट स्वदेश फर्कनेलाई कोरोना पुष्टी भएमा आइसोलेसन र क्वारेन्टिनमा राख्ने व्यवस्था गरिएको छ। जिल्लाभित्रका नगरपालिका र गाउँपालिकाले निर्माण गरेको आइसोलेसन र क्वारेन्टिनमा संक्रमितलाई राख्ने व्यवस्था गरिएको प्रजिअ पाण्डेले जानकारी दिए।
संक्रमित बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्लाभित्रका अस्पतालमा आइसोलेसन सेन्टर स्थापना भएका र ती सबै आइसोलेसन सेन्टरलाई तयारी अवस्थामा राखिएको उनले बताए।
स्थानीय तहमा आइसोलेसन र क्वारेन्टिन बनाउने काम धमाधम सुरु भएको र संक्रमण फैलन नदिन स्थानीयस्तरबाट पनि प्रयास भइरहेको उनले बताए।
होल्डिङ सेन्टर प्रयोगमा ल्याउन पहल
तत्काल कोरोना संक्रमण नदेखिएका व्यक्तिलाई पनि सिधै घर जान निदइ होल्डिङ सेन्टरमा राख्ने व्यवस्था गरिन लागिएको प्रजिअ पाण्डे बताउँछन्। यसअघि पनि भारतबाट फर्केकाहरूमा तत्काल कोरोना नदेखिने तर केही दिनपछिको परीक्षणमा भने कोरोना पोजेटिभ देखिएको थियो। यसबाट समूदायस्तरमा कोरोना फैलने जोखिम उच्च हुन्छ।
त्यसलाई रोक्नका लागि होल्डिङ सेन्टरको व्यवस्था गर्ने र भारतबाट फर्कनेहरूलाई केही दिन होल्डिङ सेन्टरमा राख्ने तयारी भइरहेको उनले बताए। नेपाली सेनाले तीन सय बेड क्षमताको होल्डिङ सेन्टर निर्माण गरिसकेको र सञ्चालनका लागि केन्द्रीय सरकारसँग समन्वय भइरहेको पाण्डेले बताए।
खुला सिमानामा सुरक्षाकर्मी तैनाथ
खुला सिमाना भएका कारण नाकाबाहेक अन्य क्षेत्रबाट पनि लुकिछिपी प्रवेशमा रोक लगाउन सुरक्षाकर्मी तैनाथ गरिएका छन् । खुला सिमाना भएका स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी निर्वाध रुपमा प्रवेशमा रोक लगाइएको पाण्डेले जानकारी दिएका छन्।
खुला सिमानामा थप सुरक्षाकर्मी खटाउने सम्बन्धमा पनि छलफल चलिरहेको उनले बताए। यसो गर्नाले भारतबाट निर्वाध रुपमा मानिसहरु भित्रन नसक्ने र कोरोना फैलने खतरा पनि केही हदसम्म कम हुने उनको दाबी छ।
अस्पतालहरू तयारी अवस्थामा
कोरोनाको पहिलो र दोस्रो लहरको सामना गर्न कञ्चनपुर केही कमजोर साबित भएको थियो । महाकाली प्रादेशिक अस्पतालमा अक्सिजनको चरम अभाव हुँदा संक्रमितको मृत्यु भएको थियो।
यसपटक भने महाकाली प्रादेशिक अस्पताललगायत जिल्लामा रहेको अस्पतालहरुलाई तयारी अवस्थामा राखिएको सिडिओ पाण्डे बताउँछन् । अहिले महाकाली प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन गरिएको र कोरोना संक्रमितको उपचारका लागि अस्पताल तयारी अवस्थामा रहेको बताए।
अस्पतालमा जनशक्ति अभाव नहुनेगरी व्यवस्थापन गरिएको पनि उनले बताए। औषधोपचार, जनशक्ति आदि हिसाबले यसअघिको जस्तो अवस्था आउन नदिन सबै क्षेत्रलाई तयारी अवस्थामा राखिएको जानकारी दिए।
घरघरमा खोप र जनचेतना अभियान
जिल्लामा कोरोना फैलिन नदिनका लागि स्थानीय सरकारसँगको पहलमा जनचेतना अभियानलाई पनि तीव्रता दिइएको उनले प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए। मास्क र स्यानिटाइजरको प्रयोग, साबुनपानीले हात धुने, भीडभाड नगर्ने लगायतका सन्देश स्थानीय स्तरसम्म पुर्याइएको र यसबाट आम जनसमुदाय पनि केही हदसम्म सचेत भएको उनले बताए।
त्यस्तै खोप अभियानलाई पनि प्राथमिकताका साथ सञ्चालन गरिएको उनले बताए। ‘खोप नलगाएका व्यक्तिहरुलाई घरघर पुगेर खोप लगाउने व्यवस्था गरिएको छ,’ उनले भने।उनले कोरोनालाई सामान्य रुपमा नलिई सचेत रहन सम्पूर्ण जिल्लाबासीलाई अनुरोध गरे।