Kathmandu Press

तिलोत्तमामा एक लाखले लगाए कोरोनाविरुद्धको खोप

रूपन्देही, पुस २८ : रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एक लाखभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन्। हालसम्म ८७ हजार ४६३ ले खोपको पूरा मात्रा लगाइसकेको...
तिलोत्तमामा एक लाखले लगाए कोरोनाविरुद्धको खोप

रूपन्देही, पुस २८ : रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एक लाखभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन्। हालसम्म ८७ हजार ४६३ ले खोपको पूरा मात्रा लगाइसकेको र बाँकीले खोपको पहिलो मात्रा लगाएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। तिलोत्तमामा १८ वर्षमाथिको लक्षित जनसङ्ख्या ८० हजार रहेको अनुमान गरिएकामा पूरा डोज खोप लगाएको जनसङ्ख्या ८७ हजारभन्दा बढी पुगेको छ।

बसाइँसराइ गरी आएका नयाँ बासिन्दा र अध्ययन, रोजगारीलगायतका विभिन्न अवसरका लागि अस्थायीरूपमा बस्ने बासिन्दाका कारण लक्षितभन्दा बढीले खोप लगाएको जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले बताए। नगरपालिकाले गरेको घरधुरी सर्वेक्षणअनुसार नगरको जनसङ्ख्या एक लाख २३ हजार ८३६ छ। यहाँ १२ वर्षभन्दा माथिको जनसङ्ख्या झण्डै ९९ हजार रहेको अनुमान छ।

Hardik ivf

स्वास्थ्य शाखाका अनुसार कोभिशिल्ड/एस्ट्राजेनिका खोपको दुवै मात्रा आठ हजार ९६०, जोनसन खोप सात हजार ६१० ले लगाएका छन्। यस्तै भेरोसेलको दुवै डोज लगाउने सङ्ख्या ७० हजार ८९३ रहेको छ। बाह्र वर्षमाथि १८ वर्षसम्मका विद्यार्थीलाई लगाइएको मोडर्ना खोपको पहिलो मात्रा झण्डै १० हजारले लगाएका छन् भने यो खोप लगाउने क्रम जारी छ। रोजगारी वा अध्ययनका लागि तेस्रो मुलुक जानेको लागि वडा नं ५ को सहरी स्वास्थ्य केन्द्रमा हरेक हप्ताको सोमबार कोरोनाविरुद्धको जोनसन खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य शाखाले जानकारी दिएको छ।

नगरपालिकाले खोप लगाउन छुटेका लक्षित समूहका नगरवासीलाई मणिग्रामस्थित वडा नं ५ को सहरी स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न अनुरोध गरेको छ। अहिले कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको सङ्क्रमण समुदायस्तरमा फैलिएको र यो विगतका भेरियन्टभन्दा बढी सङ्क्रामक भएको विज्ञले बताएका छन्। कोरोना भाइरसले खोप लगाएकाभन्दा नलगाएका व्यक्तिलाई बढी प्रभावित बनाउने भएकाले खोपलाई विशेष महत्व दिने गरिएको छ।

नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण रोक्न पूर्वतयारी थालेको तिलोत्तमाले जनस्वास्थ्यका मापदण्ड अपनाउन, घरबाहिर निस्कँदा अनिवार्यरूपमा मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, भीडभाड नगर्न सम्पूर्ण नगरवासीमा अनुरोध गरेको छ। तिलोत्तमा नगरस्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले कोरोनाको जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पूर्णरूपमा कार्यान्वयन गर्ने/गराउने निर्णय गरेको थियो। बैठकको निर्णयअनुसार केउलानीमा रहेको अस्थायी कोरोना अस्पताललाई थप स्तरोन्नति गरी स्वास्थ्यकर्मीलगायत आवश्यक उपकरण, स्रोत–साधन र जनशक्तिको पूर्वव्यवस्थापन गरिएको छ।

प्रकाशित मिति: १९:२५ बजे, बुधबार, पुस २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्