जहाँ एक वर्षमा २२ हजारले सुत्केरी सेवा लिए
२०१६ भदौ १० मा च्यारिटी अस्पतालको रूपमा ४० शैय्याबाट सुरु भएको यो अस्पतालले अहिले चार सय ८९ शैय्याबाट सेवा दिइरहेको छ। सुरुमा यसको नाम ‘परोपकार श्री ५ इन्द्रराज्यलक्ष्मीदेवी प्रसूति गृह तथा शिशु कल्याण केन्द्र’ थियो, ०६४ पछि नाम परिवर्तन गरी ‘परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल’ राखिएको हो।काठमाडौं, पुस २५ : प्रजनन स्वास्थ्य सेवा, अझ भनौँ सुत्केरी सेवाका लागि चर्चित अस्पताल हो– थापाथलीस्थित ‘परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल’। सर्वसाधारणले ‘प्रसूतिगृह’ भनेर चिन्ने यस अस्पतालमा दैनिक पाँच सयको हाराहारीमा महिलाले विभिन्न सेवा लिँदै आइरहेको अस्पताल बताउँछ।
अस्पतालका अनुसार, गत आर्थिक वर्ष (२०७७/०७८) मा कुल एक लाख ४३ हजार दुई सय २१ जनाले ओपिडी सेवा लिए। यीमध्ये २२ हजार १४ महिलाले सुत्केरी सेवा लिएका थिए।
६२ वर्षदेखि महिलामा समर्पित
२०१६ भदौ १० मा च्यारिटी अस्पतालको रूपमा ४० शैय्याबाट सुरु भएको यो अस्पतालले अहिले चार सय ८९ शैय्याबाट सेवा दिइरहेको छ।
सुरुमा यसको नाम ‘परोपकार श्री ५ इन्द्रराज्यलक्ष्मीदेवी प्रसूति गृह तथा शिशु कल्याण केन्द्र’ थियो, ०६४ पछि नाम परिवर्तन गरी ‘परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल’ राखिएको हो।
अस्पतालका निर्देशक प्रा.डा. अमिरबाबु श्रेष्ठका अनुसार, सुरुमा विभिन्न संघसंस्थाका साथै तत्कालीन राजपरिवारको सहयोगमा यो अस्पताल स्थापना गरिएको थियो। अस्पतालको भवन निर्माणका लागि केशरशमशेर राणाले जग्गा उपलब्ध गराएका थिए।
सरकारी मातहतमा रहेको यस अस्पतालमा अहिले कुल ७ सय २२ कर्मचारी कार्यरत छन्। हाल स्वीकृत शैय्या चार सय १५ भए पनि सेवाग्राहीको चापलाई व्यवस्थापन गर्न चार सय ८९ शैय्याबाट सेवा प्रदान गरिरहेको निर्देशक श्रेष्ठ बताउँछन्। ‘हामीले यहाँ आउने कुनै पनि बिरामीलाई बिनाउपचार नफर्काउने नीति लिएका छौँ,’ उनले भने, ‘त्यसैले तोकिएभन्दा बढी शैय्याबाट सेवा दिइरहेका छौँ।’
यस अस्पतालमा आमा तथा शिशुका लागि विभिन्न कार्यक्रम सञ्चालित छन्। निर्देशक श्रेष्ठका अनुसार, अस्पतालले अहिले आमा सुरक्षा तथा नवजात शिशु निःशुल्क उपचार कार्यक्रम, राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रम, प्रोल्याप्स, परिवार नियोजन तथा सुरक्षित गर्भपतन लगायत सेवा तथा कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आएको छ।
‘आमा सुरक्षा तथा नवजात शिशु निःशुल्क उपचार कार्यक्रम’अन्तर्गत यस अस्पतालमा आउने शतप्रतिशतले निःशुल्क औषधोपचार पाउने निर्देशक श्रेष्ठ बताउँछन्। सरकारले २०६२ सालमा ‘आमा सुरक्षा कार्यक्रम’ लागू गरेदेखि यो सुविधा दिइएको हो। यस्तै, पाठेघर खस्ने बिरामीलाई पनि निःशुल्क औषधोपचार र शल्यक्रिया गरिनुका साथै नवजात शिशुको पनि निःशुल्क उपचार भइरहेको निर्देशक श्रेष्ठ बताउँछन्।
उनका अनुसार, प्राइभेट बेडको प्रयोग नगर्ने सबैलाई औषधि, उपचार र डेलिभरी निःशुल्क दिनुका साथै आवश्यकता अनुसार गाडी भाडा स्वरूप एक हजार पाँच सय रुपैयाँसम्म प्रदान गरिएको छ।
२२,०१४ ले लिए सुत्केरी सेवा
गत आर्थिक वर्ष कुल एक लाख ४३ हजार दुई सय २१ जनाले यस अस्पतालमा ओपिडी सेवा लिए। यीमध्ये २२ हजार १४ महिलाले सुत्केरी सेवा लिएका हुन्। अस्पतालको तथ्यांक अनुसार, सोही वर्ष १० हजार नौ सय ६१ महिलाको विभिन्न शल्यक्रिया गरिएको थियो भने आठ हजार एक सय आठ जनाले सिजरिङ सेक्सनबाट बच्चा जन्माएका थिए।
यस्तै, सोही वर्ष एक हजार नौ सय ४१ जना एनआइसियु (नियोनटल इन्टेन्सिभ केयर युनिट)मा भर्ना भएका थिए। नौ सय १६ जनाले सुरक्षित गर्भपतन सेवा र तीन हजार एक सय ४२ जनाले परिवार नियोजन सेवा लिएका थिए।
गत वर्ष पुरुषको जन्मदर ५३ प्रतिशत हुँदा महिलाको ४७ प्रतिशत थियो। यस्तै, गत आर्थिक वर्षमा कुल डेलिभरीमध्ये जम्मा ८ आमाको मृत्यु भएको थियो।
यस आर्थिक वर्ष (साउनदेखि कात्तिकसम्म) मा मात्रै १० हजार ६ सय ९९ जना भर्ना भएका छन्। जसमध्ये प्रसूति (ओब्स्टेट्रिक्स) का नौ हजार २५० र स्त्री रोग उपचार (गाइनेकोलोजी)का लागि एक हजार चार सय ४९ जनाले सेवा लिइसकेका छन्।
अहिले यस अस्पतालमा एमआइसियु (मेडिकल इन्टेन्सिभ केयर युनिट), एससिबियु (स्पेसियल केयर बेबी युनिट), केएमसी (कंगारु मदर केयर) र एनेस्थेसिया डिपार्टमेन्ट अन्तर्गतका सबै सेवा सञ्चालनमा रहेको अस्पतालले जनाएको छ।
आधुनिक सेवा
निर्देशक श्रेष्ठका अनुसार, यस अस्पतालमा अहिले डायग्नोस्टिक युनिट आफैँमा सक्षम भई सेवा प्रवाह गरिरहेको छ। अस्पतालको रेडियोलोजी विभागले स्तरीय युएसजी सेवासँगै एक्स–रे, मेमोग्राम र सिटी स्क्यान सञ्चालन गरेको छ। प्रयोगशाला विभागले नियमित टेस्टबाहेक अन्तर्राष्ट्रिय स्तरको एनालाइजर मेसिनबाट गरिने हार्मोन टेस्ट, क्यान्सर रोगको निदान तथा रोकथामका लागि एलबिसी (लिक्विड बेस्ड साइटोलोजी), एचपिभी स्क्रिनिङ र बायोप्सी टेस्ट सेवा समेत उपलब्ध गराएको छ।
‘हामीले पाठेघरसम्बन्धी, जस्तै : मासु पलाएको, क्यान्सर, सिस्ट आदि रोगको उपचार गर्छौं,’ निर्देशक श्रेष्ठ भन्छन्, ‘यहाँ नवजात शिशु (२८ दिनसम्म) को समेत उपचार हुन्छ ।’
अस्पतालको आफ्नै फार्मेसी (औषधि पसल) भएकाले सबै औषधि उपलब्ध हुने र अन्य ठाउँको तुलनामा निकै सस्तो भएको उनको भनाइ छ।
आइभिएफ सेवा सुरु
अस्पतालको ल्याबमै शुक्राणु र अण्डालाई समिश्रण गरेर पछि महिलाको पाठेघरमा राख्ने प्रविधिलाई आइभिएफ (इनभट्रो फर्टिलाइजेसन) भनिन्छ। यस अस्पतालले २०६९ सालदेखि आइभिएफ सेवा सुरु गरेको थियो तर २०७२ सालको भूकम्पका कारण केही समय रोकिएको थियो। तर, अहिले यस सेवालाई पुनः सुरु गरेको निर्देशक श्रेष्ठ बताउँछन्।
‘हाम्रो अस्पतालमा आइभिएफ सेवा लिनेमध्ये एभरेज सक्सेस रेट ३० प्रतिशत छ, जुन राम्रै हो,’ उनले भने।
सामाजिक सुरक्षा एकाइ
विपन्न वर्गका नागरिकलाई लक्षित गरी अस्पतालले सामाजिक सुरक्षा एकाइ (एसएसयु) ल्याइएको हो। यस अन्तर्गत अस्पतालमा कुनै पनि सेवाको शुल्क लिइँदैन। गत आर्थिक वर्षमा कुल ८ सय ४० जनाले यो सेवा लिएको अस्पतालको तथ्यांक छ।
निर्देशक श्रेष्ठका अनुसार, यस अस्पतालमा सुत्केरी सेवा तथा स्त्रीरोग उपचार र परामर्शका लागि देशभरबाट आउने गर्छन्। काठमाडौंकै भने कम आउँछन्। काठमाडौं उपत्यकाबाट भक्तपुरका बढी आउँछन्।
कतिपय अवस्थामा देशका विभिन्न क्षेत्रबाट हेलिकप्टरबाट उद्धार गरेर समेत यहाँ सुत्केरी ल्याउने गरिन्छ। यस्तो सेवा ‘राष्ट्रपति महिला उत्थान कोष सेवा’ले प्रदान गरेको उनले जानकारी दिए।
यो अस्पताल सरकारको मातहत भए पनि विकास समिति ऐन अन्तर्गत सञ्चालित छ।