Kathmandu Press

दुवै मिर्गौला फेल भएका धादिङका नवीन शाहको याचना : सहयोग पाए बाँच्ने थिएँ

देशका पूर्वप्रधानमन्त्री तथा एक प्रमुख दलका अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म दुईपटक मिर्गौला प्रत्यारोपण गरिसकेका छन् । उनको उपचारका लागि राज्यकोषबाटै खर्च गरिएको राजनीतिक वृत्तमा चर्चा भइरहन्छ । तर, यता एक सामान्य नागरिक नवीन सहयोग याचना गरिरहेका छन्। 
दुवै मिर्गौला फेल भएका धादिङका नवीन शाहको याचना : सहयोग पाए बाँच्ने थिएँ
Hardik ivfHardik ivf

काठमाडौं, पुस १८ : एक सचेत युवाको सपना हुन्छ– ठूलो मान्छे बन्ने, प्रतिष्ठित कर्म गर्ने र समाजबाट वाहवाही कमाउने । यतिसम्म नभए पनि कम्तीमा कुनै पेसा वा रोजगारी गरी सम्मानजनक जीवन बाँच्ने धेरैको चाहना हुन्छ। 

त्रिपुरासुन्दरी गाउँपालिका– ६ धादिङका २७ वर्षीय नवीन शाह पनि सम्मानजनक जीवनका लागि संघर्षरत थिए । विविध समस्याका कारण स्नातक तहको अध्ययन छाडेर उनी रोजगारीका लागि विदेश जाने कोसिस गरे। विदेश जाने अवसर नमिलेपछि किस्तामा मालवाहक गाडी किनेर चलाउन थाले । आफ्नो पाखुराको कमाइबाट उनी सन्तुष्ट नै थिए । अकस्मात् उनको जीवनको गतिमा ब्रेक लाग्यो। 

गत साउनमा उनी बिरामी परे । खान मन नलाग्ने, हातखुट्टाका नसा बटारिएजस्तो हुने, शरीर झमझमाउने, बान्ता हुनेजस्ता लक्षण देखिए। बानेश्वरस्थित सिभिल हस्पिटलमा जचाउँदा थाहा भयो– दुवै मिर्गौला फेल भएका रहेछन् । सानैमा बाबुआमा गुमाएका नवीन हजुरबुबा र हजुरआमाको मायाममतामा हुर्केका हुन् । आज आफ्नै शरीरको महत्वपूर्ण अंगले साथ दिन छाड्यो। 

देशका पूर्वप्रधानमन्त्री तथा एक प्रमुख दलका अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म दुईपटक मिर्गौला प्रत्यारोपण गरिसकेका छन् । उनको उपचारका लागि राज्यकोषबाटै खर्च गरिएको राजनीतिक वृत्तमा चर्चा भइरहन्छ । तर, यता एक सामान्य नागरिक नवीन सहयोग याचना गरिरहेका छन्। 

उपचारका क्रममा आफूले गरिखाने भाँडो (गाडी बेचिसकेका छन् । ‘आधाभन्दा बढी किस्ता तिर्न बाँकी रहेको गाडी बेच्दा के नै पैसा हुन्छ र ?’ हस्पिटलमा उपचारत नवीनले भने, ‘दुवै मिर्गौला फेल भएपछि सातामा दुईपटक डायलासिस गर्नुपर्ने । काम गर्न केही नसकिने । अब मिर्गौला प्रत्यारोपण नगरी सुखै छैन । हस्पिटलले प्रत्यारोपणका लागि १५–१६ लाख रुपैयाँ जुटाउन भनेको छ।’

०००

सिभिलमा डायलासिस नहुने भएकाले उनलाई काठमाडौं मेडिकल कलेजमा रिफर गरियो । कलंकीमा आफन्तको घरमा बस्दै आएका उनी अस्पताल आउन–जान सहज हुन्छ भनेर वनस्थलीस्थित ‘राष्ट्रिय मिर्गौला केन्द्र’मा डायलासिस गर्ने गरी रिफर भए। 

मिर्गौला केन्द्रमा पहिलोपटक डायलासिस गरेको शुल्क पाँच हजार पाँच सय  रुपैयाँ लिइयो । अस्पतालले उनलाई हप्ताको दुईपटक डायलासिस गर्नुपर्ने बतायो । त्यसपछि प्रत्येक पटक डायलासिस गर्दा तीन हजार पाँच सय तिर्नुपर्ने भयो, औषधिको छुट्टै लाग्थ्यो। सरकारले डायलासिस निःशुल्क गर्छ भन्ने थाहा पाएपछि अहिले उनी वीर अस्पतालमा उपचाररत छन्। 

डायलासिस चलिरहँदै उनले ऋण र सहयोग जुटाउनुपरेको थियो । अहिले उनी प्रत्यारोपणका लागि सहयोगी मनबाट पैसा जुट्छ कि भन्ने आशामा छन् । 

‘मामाले मलाई मिर्गौला दिन तयार हुनुभएको छ,’ नवीन भन्छन्, ‘तर निःशुल्क पाएको चिज आफूले लिन पनि पैसा लाग्दो रैछ ।’ प्रत्यारोपणका लागि चर्कै रकम आवश्यक हुने भएपछि नवीनका साथीभाइले यतिखेर सामाजिक सञ्जालमार्फत सहयोग अभियान चलाएका छन् । ‘सहयोगी मनहरूले माया गरिदिनुभयो भने बाँच्छु कि भन्ने लागेको छ,’ नवीनले भने ।  

चाहेर पनि सहयोग गर्ने अवस्था छैन : वडाध्यक्ष

स्थानीय सरकारबाट केही सहयोग हुन्छ कि भनेर नवीन वडा कार्यालय र गाउँपालिका पनि पुगे । तर मिर्गौला प्रत्यारोपणपश्चात मात्र पालिकाबाट सहयोग हुने आश्वासन पाए । वडा कार्यालयले भने डायलासिस र औषधि खर्च भनेर १० हजार रुपैयाँ दिएको नवीन बताउँछन् । 

त्रिपुरासुन्दरी गाउँपालिका– ६ का वडाध्यक्ष लेखबहादुर अधिकारी  भन्छन्, ‘उनको आर्थिक अवस्था निकै कमजोर छ, उनलाई बचाउन हामी पनि लागेका छौं ।’  स्थानीय सरकार केन्द्रीय सरकारको नीति र नियमानुसार चल्नुपर्ने भएका कारण इच्छा र चाहना हुँदाहुँदै पनि सहयोग गर्न नसकिएको वडाध्यक्ष अधिकारीको भनाइ छ । 

नवीनलाई आर्थिक सहयोग गर्न चाहनेले प्रभु बैंकको खाता नम्बर १९४०१६४३३४७०००११ मा रकम जम्मा गर्न सक्नुहुन्छ । व्यक्तिगत रूपमा सम्पर्क गरी सहयोग गर्न चाहनेले ९८६०२२४३७३ र ९८४९६१९३१० मा फोन गर्न सक्नुहुन्छ । 


 

प्रकाशित मिति: १६:५० बजे, आइतबार, पुस १८, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्