Kathmandu Press

कालिका गुफाको गुहालेख र गुहाचित्रको महत्व घटाउने गरी मूर्ति स्थापना

नेपालमा अहिलेसम्म फेला परेका गुफा अभिलेखमध्ये यो नै पहिलो हो । तर यसको ठीक सामुन्ने स्थापना गरिएको कालिकाको मूर्तिले गुफाको पुरातात्विक, ऐतिहासिक र सांस्कृतिक महत्वलाई घटाएको छ । गुफाको मूल महत्व मासिने गरी मूर्ति बनाउनुको कुनै औचित्य छैन ।
कालिका गुफाको गुहालेख र गुहाचित्रको महत्व घटाउने गरी मूर्ति स्थापना

काठमाडाैं, पुस १५ : भक्तपुर चाँगुनारायण मन्दिरको दक्षिण क्षेत्रमा रहेको छ, कालिका गुफा । चाँगुनारायण–४ स्थित यस गुफाको दायाँपट्टि ठूलो ढुंगाको शीर्षमा नेपालभाषामा अभिलेख कुदिएको छ– ‘श्रीश्रीप्रताप जय... ॐ संम्वत ७८८ श्रीमान चोङाया या’ । 

पुरातत्वविद् पुरुषोत्तमलोचन श्रेष्ठले आफ्नो पुस्तक ‘गुहा, गुहालेख, गुहाचित्र एवं अन्य सम्पदा’मा यसको अर्थ खुलाएका छन्– श्रीश्रीप्रताप जय । नेपाल संवत् ७८८ (वि.सं. १७२५) श्रीमानमा बस्नुभएको बेलामा भएको यात्रा । 

यसलाई नेपालमा फेला परेको पहिलो गुहालेखका रूपमा लिइएको पुरातत्त्वविद् श्रेष्ठ बताउँछन् । श्रेष्ठले पुस्तकमा लेखेका छन्, ‘धार्मिक–सांस्कृतिक दृष्टिले मात्र नभएर आर्थिक, राजनीतिक एवं सामरिक सुरक्षाका दृष्टिले समेत गुफाको महत्व रहने हुँदा तदनुरूप गुहालेख राख्ने गरेको दृष्टिगोचर हुन्छ । प्रताप मल्लको यो गुहालेख पनि सोही प्रकृतिको छ ।’ यस गुफाको गुफामुखभित्र एक जोडी (स्त्री पुरुष), हनुमान लगायतको गुहाचित्र पनि कुँदिएका छन् ।

Hardik ivf

यस पुरातात्विक र ऐतिहासिक दृष्टिकोणले ज्यादै महत्वपूर्ण ठाउँमा गुफा नै छेकिने गरी अहिलेको कालिकाको मूर्ति स्थापना गरिएको छ । मूर्तिले गुफाको महत्व घटाएको पुरातत्त्वविद् श्रेष्ठको भनाइ छ । उनी भन्छन्, ‘नेपालमा अहिलेसम्म फेला परेका गुफा अभिलेखमध्ये यो नै पहिलो हो । तर यसको ठीक सामुन्ने स्थापना गरिएको कालिकाको मूर्तिले गुफाको पुरातात्विक, ऐतिहासिक र सांस्कृतिक महत्वलाई घटाएको छ । गुफाको मूल महत्व मासिने गरी मूर्ति बनाउनुको कुनै औचित्य छैन । गुफालाई जोगाएर विकास गर्नुपर्ने हो । तर, स्थानीय तहबाटै यसको बेवास्ता भइरहेको छ ।’

वडाध्यक्ष बुद्धिलाल महर्जनका अनुसार, यहाँ कुल ६ लाख रुपैयाँ लागतमा कालिकाको मूर्ति स्थापना गरिएको हो । मूर्तिका लागि मात्रै दुई लाख रुपैयाँ र अन्यमा चार लाख खर्च गरिएको उनको भनाइ छ । ‘मूर्ति स्थापनाका लागि सबै रकम स्थानीयबाट चन्दा आएको हो,’ वडाध्यक्ष महर्जन भन्छन्, ‘गत कात्तिकमा स्थापना गरिएको उक्त मूर्ति पुरातात्विक मापदण्ड अनुसार नै बनेको छ ।

यसले कालिका गुफालाई केही असर पार्छ जस्तो मलाई लाग्दैन ।’

मूर्ति स्थापनाले गुफाको महत्व र अस्तित्वलाई असर गर्छ कि गर्दैन भन्ने प्रश्नमा भने उनी अकमकाए । ‘कालिका गुफा परिसरमा ढुंगा मात्र रहेको हुँदा स्थानीयले यसैसँग सम्बन्धित कालीको मूर्ति स्थापना गर्ने प्रस्ताव गरे । मैले अनुमति दिएँ,’ वडाध्यक्ष महर्जन भन्छन्, ‘सबै खर्च स्थानीयले नै गर्ने भएपछि पुरातत्व विभाग, विज्ञ, सम्बन्धित निकाय लगायत कसैसँग पनि मूर्ति स्थापनाका लागि छलफल गरेनौँ ।’ 

अहिले मूर्ति स्थापना गर्दा कालिका गुफाको अस्तित्व हराउने विषयमा विवाद हुन थालेपछि सम्बन्धित निकायसँग आवश्यक छलफल गरी उचित निर्णय लिने उनी बताउँछन् ।
 
कालिका गुफा 

पुरातत्त्वविद् श्रेष्ठलाई २०६९ असोज मा उनकी विद्यार्थी मञ्जु पौडेलले यस गुफा र गुहालेखका बारेमा जानकारी दिएकी थिइन् । त्यसपछि आफूले केही विद्यार्थी लिएर त्यस गुफातर्फ लागेको श्रेष्ठले पुस्तकमा उल्लेख गरेका छन् । 

पुस्तकमा श्रेष्ठले यस गुफासम्बन्धी जनश्रुति पनि समेटेका छन् । 

जनश्रुति भन्छ– उहिले सत्य युगमा भोजभतेरका लागि यस भेकका मानिसले यस गुफाको ढोका (गुफामुख)मा आएर चाहिने भाँडाकुडा गुफा देवतासित मागेर लाने गर्थे र भोज सकिएपछि फिर्ता गर्थे । गुफाको ढोकाबाट भित्र पसेर माथि चाँगुनारायण मन्दिरमा निस्कन सकिन्थ्यो । कलियुग लागेपछि, एक दिन एकजना मानिसले यहाँबाट लगेका भाँडाकुँडा फिर्ता नल्याएपछि भने सदाका लागि माथि मन्दिरमा समेत जान नमिल्ने गरी ढोका बन्द भयो ।
यस जनश्रुतिलाई आधार मान्दा यो गुफा पहिले ठूलो भएको प्रतीत हुने श्रेष्ठले पुस्तकमा उल्लेख गरेका छन् । 

पुरातत्वविद् श्रेष्ठका अनुसार, गुफामा उत्कीर्ण अभिलेख गुहालेख हो । लेखनको आरम्भ भएदेखि नै ढुंगा पनि एक लेखन सामग्रीका रूपमा रहिआएको विदित हुन्छ । नेपालमा शिलापत्र प्रस्तरस्तम्भ, प्रस्तरमूर्तिका पादपीठ, जलहरी, ढुंगेधारा लगायत ठूलो ढुंगामा कुदिएका अभिलेख पाइएका छन् ।  

प्रकाशित मिति: ११:१८ बजे, बिहीबार, पुस १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्