एक जना पत्रकारको चीनमा रिपोर्टिंग गर्दाको भोगाई
काश्गार, चीन: चीनमा संवेदनशील विषयवस्तुमा रिपोर्टिङ गर्दा समस्या हुनसक्छ। हेक्का राख्नुपर्छ। तपाईंलाई पछ्याइरहेका मानिसहरू, बाटो छेक्ने गुण्डाहर....
काश्गार, चीन: चीनमा संवेदनशील विषयवस्तुमा रिपोर्टिङ गर्दा समस्या हुनसक्छ। हेक्का राख्नुपर्छ। तपाईंलाई पछ्याइरहेका मानिसहरू, बाटो छेक्ने गुण्डाहरू, कल्पनै नगरिएका स्थानमा अकस्मात आइपर्ने बाधा व्यवधानहरू सुरूमा आश्चर्य लाग्छ। तर विस्तारै बानी पर्दै जान्छ। यहाँ यस्तै हुन्छ।
केही महिनाअघि हामी सिन्च्याङ गएका थियौं। त्यहाँको अवस्था एकदमै भिन्न छ- अनौठो, भयावह र कहिलेकाहिँ हास्यास्पद पनि। सबै कुरा एकै स्थानमा मिसिएको छ। सिन्च्याङ उत्तरपश्चिम चीनको एउटा क्षेत्र हो। त्यहाँ उइगर र तुर्क भाषा बोल्ने अन्य मुस्लिम अल्पसंख्यक बस्छन्।
विशेषज्ञ र मानवअधिकारवादी संस्थाहरूका अनुसार थुप्रै वर्षयता धार्मिक अतिवादविरूद्ध सङ्घर्षको प्रयास बताउँदै सरकारले अनुमानित दश लाखलाई “रि एजुकेसन क्याम्प” मा कैद गरेको छ।
म चीन आएकी एक वर्ष नाघ्यो। यहाँ पत्रकार कसरी काम गर्छन्, बुझेको छु। सुरूमा अनौठो लाग्छ।
पहिलो कुरा, सूचना पाउन एकदमै कठिन छ। म अष्ट्रेलिया बस्छु। त्यहाँ जस्तो “कम्युनिकेसन्स म्यानेजर” यहाँ हुँदैनन्। नभए त सूचनाका लागि फोन गरे पुग्थ्यो।
यहाँ धेरै गहन अनुसन्धान गर्नुपर्छ। आफूलाई चाहिएको जानकारी पत्ता लगाउन सूचनाका थुप्रो केलाउनुपर्छ। कहाँ खोज्ने, त्यो पनि थाहा हुनुपर्छ। त्यसपछि पहुँचको कुरा। संवेदनशील विषयमा समाचार लेख्दा, बाधाव्यवधान आउनसक्छ भन्ने पूर्वानुमान गर्नुपर्छ।
उदाहरणका लागि, पोहोर “बक्सिङ डे”मा हामी एक जना मानवअधिकारवादी वकिलको सुनुवाइबारे समाचार बनाइरहेका थियौं। पहिले नै जानकार थियौं, त्यसैले पहुँचको प्रयासका लागि अदालत पुग्यौं जुन बेइजिङबाट डेढ घण्टा टाढा थियो। त्यसैले अदालत खुल्ने समयमा पुग्नलाई हामी सबेरै निस्कियौं।
उत्तिखेरै केही शंकास्पद व्यक्तिले हामीलाई घेरे। उनीहरू सादा पोशाक लगाएका प्रहरी हुन्। संवेदनशील समाचार सङ्कलनका क्रममा प्राय: जम्काभेट हुन्छ। तपाईंलाई समाचार सङ्कलन गर्न रोक्नु नै उनीहरूको मुख्य उद्देश्य हो। फोटो खिच्नै लागेको छु, अगाडि उभिन्छन्। कहिलेकाहिँ क्यामेराअघि उनीहरूको हात राखेर छेक्छन्।
यहाँ पनि त्यस्तै भयो। दिनभरि नै, यो क्रम बढिरह्यो। वकिलको समर्थकको भिडियो खिच्ने प्रयास गर्दा एक जना बदमासले मलाई छेकिरहे। मलाई धक्का दिइरहे। अन्तत: उनका केही साथीहरू आएर मलाई घेरेर गुप्ताङ्गमा लात हाने। मलाई त्यहाँबाट भाग्न बाध्य बनाए।
उनीहरूसँग कुरा गर्नु पनि बेकार छ भन्ने बुझेको छु। उनीहरू कुनै प्रतिक्रिया नै दिँदैनन्। “तिमी मसँग ठोक्कियौं” बढीमा उनीहरूले बोल्ने यत्ति हो। बर्दी लगाएका प्रहरीलाई सहयोग माग्नु बेकार छ किनभने उनीहरू केही गर्दैनन्। यस्तो लाग्छ कि सबै जना कुनै नाटकमा आ आफ्नो भूमिका निर्वाह गरिरहेका छन्। अन्तिममा तपाईंले पनि आफ्नो भूमिका पूरा गर्नुहुन्छ। आवाज उठाउनुको कुनै तुक छैन। जति विरोध गर्यो, समस्या त्यति नै बढ्छ। त्यसैले त्यहाँबाट भागिन्छ र अन्यत्रै आफ्नो “शट” लिने प्रयास गरिन्छ।
मैले यहाँ काम थाल्दा, एकदमै अनौठो थियो। केही त सुनेको हुन्छ तर आफैंले पहिलो पटक अनुभव गर्दा, भिन्न हुन्छ। अन्तत: यहाँ यस्तो हो भन्ने स्वीकार्नुहुन्छ। परिस्थिति गम्भीर नबनाइ आफ्नो लक्ष्य पूरा गर्ने बाटो खोज्न थाल्नुहुन्छ। यो ज्ञान र अनुभव बोकेर हामी मे महिनाको अन्त्यतिर सिन्च्याङ गयौं। हामीलाई त्यहाँको परिस्थितिबारे रिपोर्टिङ गर्नुथियो। हवाइ जहाजबाट गएकाले अधिकारीहरूलाई हामी आउँदैछौं भन्ने जानकारी भयो।
अवतरण गर्नासाथ हामीले त्यसको अनुभव गर्यौं। शंकास्पद व्यक्तिहरू हामीलाई बाहिर पर्खेर बसेका थिए। हामी आउनेवित्तिकै उनीहरूले भिडियो खिच्न थाले। जहाँ जान्थ्यौं, कारहरूको लस्कर पछि लाग्थ्यो। होटेलबाहिर पनि मानिसहरू थिए। एक पटक त पाँचोटा “एसयुभी”ले पछ्याइरहेको, मैले नै गने।
सुरक्षाकर्मीको बाक्लो उपस्थितिले यो यात्राभरि मेरो मनमा घर बनायो। पहिलो पटक यहाँ अवतरण गर्दा पनि विचार गरेको थिएँ। चीन वा विश्वमा अन्यत्र कतै पनि मैले यति धेरै प्रहरी र सेना खटाइएको देखेको थिइनँ। जताततै सुरक्षा जाँच गर्ने नाकाहरू छन्। ट्राफिक बत्ति भए पनि धेरैजसो चौबाटोमा प्रहरीले नै ट्राफिकलाई निर्देशन दिइरहेका थिए। चीनमा “सिभिलियन पुलिस स्टेसन” भनिने प्रहरी कार्यालय जताततै भेटिन्छ।
प्रत्येक सुरक्षा नाकामा हामी कारबाट ओर्लिनुपर्थ्यो। राहदानी परीक्षण गराउनुपर्थ्यो। एउटा “फेसियल रिकग्निसन सिस्टम” पनि पार गर्नुपर्थ्यो। हामी विदेशी भएकाले काम चाहिँ गर्दैन थियो, तर पनि गर्नुपर्थ्यो। शरीर र कार “स्क्यान” गर्ने उपकरण प्रशस्तै थिए। स्थानीय हानहरू सुरक्षा नाकाबाट चाँडै पार हुने गरेको तर विदेशी र उइगरले निकै प्रतिक्षा गर्नुपरेको मैले हेक्का राखेको छु।
पूरै क्षेत्र “प्रोपागान्डा पोस्टर”ले बेरिएजस्तो देखिन्थ्यो। जता हेरे पनि राष्ट्रिय झण्डा र तुल मात्रै देखिन्थे। “पार्टीलाई माया गरौं”, “सि जिन्पिङको विचार सिकौं”, “जातीय एकता महत्त्वपूर्ण छ”, “चीनका लागि प्रेमलाई बलियो बनाऔं”। चीनमा जता पनि यस्ता प्रोपागान्डा पोस्टर देखिन्छ, तर यहाँ अलि बढी नै छ।
कहिलेकाहिँ हामीलाई समाचार सङ्कलन गर्न नदिन सुरक्षा संयन्त्रले गरेका काम निकै हास्यास्पद छन्। उदाहरणका लागि नक्कली कार दुर्घटना।
एक दिन नजिकै एउटा “रि एजुकेसन क्याम्प” छ भन्ने सूचनाको सत्यता पत्ता लगाउन हामी निस्कियौं। हामी त्यसको “फुटेज” खिच्न चाहन्थ्यौं। त्यसैले चाँडै निस्केका थियौं। अलि चाँडै नै भएछ क्यारे, कार दुर्घटनाको अभ्यास गरिरहेका मानिसहरूलाई भेट्टायौं। उनीहरू सडक बन्द गर्न चाहन्थे।
एउटा नियमित “रोडब्लक” पार गरेपछि, केही मानिसहरू एउटा “टुक टुक”लाई सेन्टिमिटर सेन्टिमिटर गर्दै एउटा कालो “सेडान”नजिकै ल्याइरहेको देख्यौं। एक अर्कालाई छुन मात्रै बाँकी थियो। त्यसपछि उनीहरू फोन गरेझैं अभिनय गर्न थाले। उनीहरूले त्यसो गरिरहँदा, हामी नजिकबाट अघि बढ्यौं। अन्तत: एउटा “डेड एन्ड” पुग्यौं। त्यहाँबाट क्याम्प देखिन्थ्यो। केही मिनेट छायाङ्कन गर्यौंे र कारमा चढ्यौं। हामी भित्र जाने अर्को बाटो खोजिरहेका थियौं।
“दुर्घटनास्थल” मा दोस्रो पटक पुग्दा नियोजित प्रभाव परिसकेको थियो। दर्जनौं गाडी फसेका थिए। यो पटक हामी पनि अड्कियौं। गाडीबीच घस्रिँदै अगाडि बढ्दा, कुनै गाडी नकोरिएको हामीले देख्यौं। अन्तत: हामी त्यहाँबाट उम्कियौं र एउटा गाउँबाट क्याम्प नजिक पुग्ने बाटो पनि पत्ता लगायौं।
छायाङ्कन गर्दै थियौं, अकस्मात वाकी टकी बोकेको, कालो जिन्स र टि सर्ट लगाएका एक पुरूष देखापरे। हामीतिर दगुर्दै आए। “तपाईंहरूको सुरक्षाका लागि पनि यहाँबाट जानुहोस्”, उनले हतार हतार भने। “हामी किन जाने?“ हामीले सोध्यौं। “हामी कहाँ जाने, कहाँ नजाने, निर्देशन दिने अधिकार तपाईंसँग छैन।”
उनी भने एकोहोरो हामी त्यहाँबाट जानुपर्ने दोहोर्याँइरहे। क्याम्पको छायाँङ्कन गरेको स्थानबाट पछाडि हटाए। उनी मेरो क्यामेराअघि उभिए। तस्वीर खिच्न दिएनन्। उनले त्यसो गरिरहँदा मोटरसाइकलमा सवार अर्को व्यक्ति पनि आए। मैले छायाँङ्कन गर्न छोडिनँ। मैले यहाँ एउटा कुरा सिकेको छु। सबै कुरा समाचारको अंश हो। त्यसैले मैले क्यामेरा बन्द गरिनँ। खिचिरहें। उनीहरूले छेके पनि, त्यो समाचारको अंश नै हो।
केही मिनेटपछि हामी त्यहाँबाट फर्कियौं। यो हाम्रो यात्राको प्रारम्भ थियो। बाँकी यात्रालाई कठिनाइमा पार्न चाहँदैन थियौं। त्यसैले हामी फर्कियौं। उनी पनि हामी फर्किएको पक्का गर्न पछि पछि आए। ती सुरक्षाकर्मीले हामीलाई गाउँबाट बाहिर पुर्याउँदा हामीले अर्को अनौठो योजना पनि थाहा पायौं। हाम्रो जानकारी लिनलाई नक्कली पर्यटक तयार गरिएका रहेछन्।
नजिकैको शहरको चाँडै जाने योजना बनाएकोले हामीले त्यो नक्कली कार दुर्घटना देखेका थियौं। स्याटेलाइट तस्वीरमार्फत् त्यहाँ एउटा मस्जिद नष्ट भएको थाहा पाएका थियौं। हामी त्यहीँ हेर्न चाहन्थ्यौं। तर फर्किँदा हामीलाई रोकियो। “तपाईंहरू अगाडि जान सक्नुहुन्न। सडकमा प्रहरी ड्रिल हुनेछ,” एक प्रहरीले हामीलाई भने।
“कति समय लाग्छ?”
“मलाई थाहा छैन।”
त्यहीबेला एउटा बैजनी रंगको भ्यान आएर रोकियो। निकै फेशनेबल लुगा लगाएका दुई महिला बाहिर निस्किए। प्रहरीले पनि उनीहरूलाई त्यही प्रश्न सोध्यो। ती महिलाले आफूलाई शिक्षक बताए। विदा भएकाले शहर घुम्न निस्केको बयान दिए। हामीलाई उनीहरूको बयानमा कुनै शंका लागेन।
वास्ता गरेनौं। तर दोस्रो पटक पनि त्यो नक्कली कार दुर्घटना भएको स्थानबाट गाउँ पुगेपछि थाहा पायौं ती महिलाहरूले हामीलाई पछ्याएका रहेछन्।
“के गरेको”, हामीले उनीहरूलाई सोध्यौं।
“हामी हरायौं। त्यसैले तपाईंहरूलाई पछ्याएका हौं,” उनीहरूले भने।
“हेर्नुहोस्, हामी तपाईंहरूलाई सहयोग गर्न सक्दैनौं। हामी पत्रकार हौं। काम गरिरहेका छौं। हामीलाई पछ्याउनुभयो भने, हामीलाई जोखिम हुनसक्छ। अरूलाई पनि जोखिममा पार्नुहुनेछ।”
मलाई त्यतिबेला निकै रिस उठेको थियो।
हामी गाउँबाहिर पुग्दासम्म उनीहरू भ्यानमै थिए। तर सुरक्षाकर्मी हामीलाई मात्रै ध्यान दिइरहेका थिए। उनीहरूलाई फर्केर पनि हेरेनन्। बाहिर निस्केपछि, ती महिलाले हामीलाई पछ्याएनन्। यो अनौठो अनुभव थियो।
यस्तो अवस्थामा निरन्तर काम गर्दाको परिणाम गम्भीर हुनसक्छ। यसको सामना गर्न त सिक्नुहुन्छ तर मानसिक रूपमा निकै थकान हुन्छ। निरन्तर लडाइँ गर्नुपर्छ।
तर जीवनमा हास्यरस पनि आवश्यक हुन्छ। एक रात सिन्च्याङमा केही प्रोपागान्डा अधिकारीसँग हाम्रो जम्काभेट भयो। एक जनाले हाम्रो बसाइँबारे सोधपुछ गरिन्।
“राम्रै छ,” मैले उत्तर दिएँ, “म एकदमै सुरक्षित अनुभव गरिरहेको छु किनभने यति धेरै मानिसहरू हाम्रो पछि लागेका छन्।” उनलाई खासै आश्चर्य लागेन।