इभमा क्रिसमसमय मल
सुन्धारास्थित सिभिल मल र कमलपोखरीस्थित सिटी सेन्टरमा पनि त्यसरी रमाइरहेकाहरूको भिडले क्रिसमस डेको स्वागतका लागि उल्लासमय माहाेल बनाएकाे छ।काठमाडौं, पुस ९ : विश्वभरिका क्रिस्चियन धर्मावलम्बीले भोलि (शनिबार) क्रिसमस डे पर्व मनाउँदैछन्। नेपालका क्रिस्चियन धर्मावलम्बीले पनि हरेक वर्ष यो पर्व धुमधामले मनाउने गरेका छन्।
आजभोलि खासगरी सहरी क्षेत्रमा क्रिस्चियन धर्मावलम्बी मात्र नभएर अन्यले पनि क्रिसमस डेलाई निकै महत्व दिने गरेका छन्। क्रिसमस डेको साताअघिदेखि नै शुभकामना आदानप्रदान गर्ने चलन बढ्दै गएको छ।
क्रिसमस डेको अघिल्लो दिन काठमाडौंको ठमेल, बौद्ध, ललितपुर, भक्तपुर, पोखरालगायत स्थानमा विशेष रौनक हुन्छ। क्रिसमस ट्रीलगायतले बजार र ठूला व्यापारिकस्थल सजाइन्छन्।
क्रिसमस डेको पूर्वसन्ध्यामा काठमाडौंका विभिन्न स्थानमा विशेष गरी सपिङ मलहरुमा ‘सान्टा क्लस’को लुगा र टोपी लगाएर खुसी मनाइरहेकाहरू जताततै भेटिएका छन्। सुन्धारास्थित सिभिल मल र कमलपोखरीस्थित सिटी सेन्टरमा पनि त्यसरी रमाइरहेकाहरूको भिडले क्रिसमस डेको स्वागतका लागि उल्लासमय माहाेल बनाएकाे छ।
ती मलहरुमा सजाइएका क्रिसमस ट्रीमा फोटो खिचाउनेको भिड नै लागेको छ। त्यहाँका पसलहरुमा डमीलाई सान्टा क्लसको पहिरन लगाइएको दृश्यले सबैजना क्रिसमस डेको स्वागतका लागि आतुर रहेको आभास दिलाउँछ।
सान्टा क्लसको पहिरनको रङसँग मेल खाने किसिमले रातासेता बेलुनहरु सजाइँदा, तिहारमा जस्तै झिलिमिली बत्ती बालिँदा ती ठाउँका वातावरण नै क्रिसमसमय बनेको छ।
हरेक वर्ष डिसेम्बर २५ मा येशु ख्रिस्टको जन्मदिन भएकाले क्रिस्चियन धर्मालम्बीले क्रिसमस मनाउने गरेका छन्। २ हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ। जिसस क्राइस्ट पनि भनिने यशुले मानव समुदायका लागि दएिको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास पनि गरिन्छ।
क्रिसमसको अवसरमा सरकारले भोलि (पुस १० गते) सार्वजनिक बिदासमेत दिएको छ।