राजनीतिकर्मी खतिवडाको कृति ‘अभियन्ता’ लोकार्पित
काठमाडौं, पुस ८ : शिक्षक तथा वामपन्थी आन्दोलनबाट परिचित बद्रीप्रसाद खतिवडाद्वारा लिखित कृति ‘अभियन्ता’ आज यहाँ लोकार्पण गरिएको छ।घोष्ट राइटिङ नेपालबाट प्रकाशित कृतिमा...
काठमाडौं, पुस ८ : शिक्षक तथा वामपन्थी आन्दोलनबाट परिचित बद्रीप्रसाद खतिवडाद्वारा लिखित कृति ‘अभियन्ता’ आज लोकार्पण गरिएको छ।
घोष्ट राइटिङ नेपालबाट प्रकाशित कृतिमा लेखकका विद्यार्थी, शिक्षक, वामपन्थी तथा छयालीस सालको आन्दोलनमा संलग्न हुँदाका अनुभव, भ्रमण र केही नयाँ योजनाका विषय संलग्न छन्।
कुनै समय हरियाली नेपाल पार्टी पनि खोलेका खतिवडा हाल दलित मुक्ति तथा छुवाछूत विरोधी आन्दोलनमा संलग्न छन्। प्रजातन्त्र, मानवाधिकार र वातावरणसम्बन्धी क्षेत्रमा क्रियाशील लेखकको ८८औं जन्मोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले खतिवडा जस्ता व्यक्तित्वका कारण नेपालको वामपन्थी आन्दोलन यहाँसम्म आएको जनाउँदै अब क्रान्तिकारी वामपन्थी दलहरूको अगुवाइमा समाजवादको दिशामा लाग्नुपर्नेमा जोड दिए।
चेतनाका वाहक शिक्षकलाई आफ्नो शिक्षण क्रियाकलापमा बाधा नपुर्याई जुनसुकै विचारमा लाग्न स्वतन्त्रता हुनुपर्ने धारणा पनि उनले राखे। वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले न्यायालयको विकृति टुलुटुलु हेर्न नसकिने बताए।
नेपाल राष्ट्रिय शिक्षक संगठनका संस्थापक अध्यक्षसमेत रहेका खतिवडाले आफूहरूले २०३६ साल वैशाखमा हेटौंडामा शुरु गरेको शिक्षक तथा विद्यार्थी आन्दोलनले सोही साल जेठ १० गते जनमतसङ्ग्रहको घोषणा गराउन बाध्य पारिएको विचार राख्दै मिचिएको सीमा फिर्ता ल्याउन र दलितहरूलाई मुक्त गराउन वर्तमान सरकारलाई आग्रह गरे।
नेपाल जनप्रगतिशील पार्टीका संयोजक हृदयेश त्रिपाठीले वामपन्थी आन्दोलन अगाडि बढाउन खतिवडाहरूले गरेको अग्रपङ्क्तिको आन्दोलनले मुलुकमा वामपन्थी आन्दोलन अघि बढेको बताए।
सो अवसरमा वाग्मती प्रदेशसभाका सदस्य मुनु सिग्देल (लेखककी बुहारी), कृतिका सम्पादक टङ्क पन्त, घोष्ट राइटिङका अध्यक्ष कमल ढकाल, इञ्जिनियर नवराज खतिवडा, लेखककी नातिनी शृङ्खला खतिवडा, साहित्यकार मुकुन्द आचार्य र पाण्डवराज कार्कीले खतिवडा सबैका प्रेरणास्रोत भएको र कृतिमा नेपालको इतिहासका मुख्य खण्ड समाविष्ट भएको जनाए। कृतिमा महत्वपूर्ण रंगीन तस्बिर पनि समाविष्ट छन्।
समारोहमा लेखक खतिवडालाई स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा (लेखकका सुपुत्र) लगायत परिवार, सहभागी अतिथिलगायतले जन्मोत्सवको शुभकामना व्यक्त गरेका थिए।












