‘कवि घर’मा लोकसंस्कृति र लोकजीवनबारे बहस हुने
कास्की, पुस ८ : नेपाली साहित्य र संस्कृतिका धरोहर जनकविकेशरी धर्मराज थापाको ‘कविघर’मा लोकसंस्कृति र लोक जीवन विषयक विचार गोष्ठी हुने भएको छ।नेपाल प्रज्ञा...
कास्की, पुस ८ : नेपाली साहित्य र संस्कृतिका धरोहर जनकविकेशरी धर्मराज थापाको ‘कविघर’मा लोकसंस्कृति र लोक जीवन विषयक विचार गोष्ठी हुने भएको छ।
नेपाल प्रज्ञा प्रतिष्ठान र जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानको आयोजनामा यही पुस ९ र १० गते पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित थापाको घरमा गण्डकी प्रदेशको लोक, संस्कृति र जीवनका बारेमा विभिन्न स्रष्टाबीच विचार गोष्ठी गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष एवं जनकविका ज्येष्ठ सुपुत्र मदनराज थापाले जानकारी दिए। लोक गीत, भजन, सङ्गीत र साहित्यिक वातावरणबीच लोक, संस्कृति र साहित्यका विविध विषयमा कार्यक्रम गर्न लागिएको उनले बताए।
नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ कार्यक्रमको प्रमुख वक्ता रहनेछन्। उनले अहिलेको समाजमा संस्कृतिका माध्यमबाट समाजमा के कस्तो रुपान्तरण गर्न सकिन्छ भनेर विचार राख्नेछन्।
प्रा.डा. गुरुङले कुलमण्डन शाहदेखि, पोखरा, लामाचौर, बाटुलेचौर तथा गण्डकी प्रदेशको इतिहास खोतल्नेछन्। प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, प्राज्ञ डा. देवी नेपाल, वरिष्ठ गायिका ज्ञानु राणाको सो कार्यक्रममा सहभागिता रहने प्रतिष्ठानका अध्यक्ष थापाले जानकारी दिए। पुस ९ गते साँझ स्रष्टाले कविता, गजल, हाइकु र मुक्तक वाचन गर्नेछन्।
पुस १० गते गन्धर्वको मांगलिक धुनबाट सुरु हुने कार्यक्रममा गण्डकी प्रदेशका स्रष्टा, संस्कृतिकर्मी तथा साहित्यकार गरी झन्डै २०० जना सहभागी हुने थापाले बताए। उनले भने, ‘लोक, संस्कृतिमा ह्रास हुँदै गएको छ। संस्कृतिका माध्यमबाट समाज रुपान्तरणमा योगदान गर्ने उद्देश्यले कार्यक्रम गर्न लागेका हौं।’
साहित्यकार जगन्नाथ रेग्मीले साहित्यको तीर्थस्थलका रुपमा रहेको कविघरमा अन्तरक्रिया र इतिहास खोतल्ने प्रयास गरिने बताए। उनले भने, ‘धर्मराज थापाले लोक साहित्य र सांस्कृतिक सहिष्णुताका पक्षमा गरेको काम देशव्यापी रूपमा लैजानु आवश्यक छ, गण्डकी प्रदेशको लोकसंस्कृतिका विविध पक्षबारे समेत बहस हुनेछ।’
जनकविकेशरी थापाले ‘हरियो डाँडामाथि हलो जोत्ने साथी, हह माले हह’, ‘आज मादल बजेको किन, गाउँबेंसी दुनियाँ ब्युँझाउन’, ‘धुरुधुरु नरोउ आमा, तिम्रो आँसु पुछेरै छाडौंला’, ‘घर सम्झी रोएको होला डाँडा काटी गएको नेपाली’, ‘हाम्रो तेञ्जिङ शेर्पाले, चढ्यो हिमाल चुचुरो’ लगायतका थुप्रै गाउँबेंसीका धुन र भाकालाई राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याएको थियो। उनको २०७१ असोज १८ गते निधन भएको थियो।
नेपाली लोक सङ्गीत तथा साहित्यमा निरन्तर क्रियाशील रहेबापत २०१३ सालमा तत्कालीन राजा महेन्द्र शाहले थापालाई जनकविकेशरीको उपाधि दिएको थियो।












